नापतौल डोरमा दोस्रो दिन ११५ व्यवसायीले लिए सेवा (फोटो फिचर)


भदौ २२, २०८०, शुक्रबार | दिउँसो १२:१५ बजे | 25


नापतौल डोरमा दोस्रो दिन ११५ व्यवसायीले लिए सेवा (फोटो फिचर)

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन शुक्रबार ११५ जना सेवाग्राही लाभान्वित भएका छन् । 
गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि खटिएको टोलीले शुक्रबार भक्तपुर नगरपालिकास्थित कमलविनायक चोकमा कार्यालय राखेर सेवा दिएको हो । कमलविनायक चोकबाट पहिलो दिनभन्दा ९ जना बढीले सेवा लिएको भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ । पहिलो दिन टौमढीस्थित बुल्चापाटीबाट १०६ जना व्यवसायी, व्यापारीहरुले नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराई सेवा लिएका थिए । भक्तपुर नगरपालिकाको कमलविनायकमा डोर टोली बसे पनि जिल्लाका अन्य नगरपालिकाका व्यवसायी, व्यापारीहरु सेवा लिन आएका थिए । 
संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत तेस्रो दिन २४ गते आइतबार सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा, चौंथो दिन २५ गते सोमबार नयाँथिमीस्थित शंखधर पार्टी प्यालेसमा, पाँचौं दिन २६ गते मंगलबार पुरानोथिमीस्थित मध्यपुर बैंक्वेटमा डोर कार्यालय रहने छ । यसैगरी, छैठौं दिन २७ गते बुधबार काशैलटार चोकमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ । 
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्योगी, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय, बालाजूलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताए । ‘उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने नापतौलका सामग्रीहरुको दर्ता र नवीकरण समयमै गर्नुपर्छ र ती सामग्रीहरु ठीक छ कि छैन भनेर नियमानुसार जाँच गराउनुपर्छ’, उनले भने, ‘समयमै दर्ता तथा नवीकरण नगरेमा जरिवाना तिर्नुपर्ने भएकोले सम्पूर्ण व्यवसायी, व्यापारीहरुलाई आफ्नै घरदैलोमा सेवा दिन भक्तपुर उद्योग वाणिज्य संघले डोर कार्यक्रम सञ्चालनको लागि पहल गरेको हो ।’ 
आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका सचिव एवं संघअन्तर्गत प्रकाशन, प्रचारप्रसार तथा बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजू पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ । भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गरेको र आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले बताइन् ।
व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, बालाजूका निरीक्षक गोविन्द पहाडीले जानकारी दिए । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको उनको भनाइ छ । 

फाेटाेमा हेर्नुहाेस्...

नापतौल डोरमा दोस्रो दिन ११५ व्यवसायीले लिए सेवा (फोटो फिचर)
नापतौल डोरमा दोस्रो दिन ११५ व्यवसायीले लिए सेवा (फोटो फिचर)

Comments