भक्तपुरमा नापतौल डोर कार्यक्रम सुरु (फोटो फिचर)
भदौ २१, २०८०, बिहीबार | दिउँसो ०३:३० बजे | 50
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु गरिएको छ ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट खटिएको कर्मचारीहरुको टोलीले नापतौल डोर सञ्चालन गरेको हो । पहिलो दिन भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा १०६ जना व्यवसायी, व्यापारीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघले जनाएको छ । भक्तपुर नगरभित्र डोर टोली बसे पनि जिल्लाका अन्य नगरपालिकाका व्यवसायी, व्यापारीहरु सेवा लिन आएका थिए ।
आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका सचिव एवं संघअन्तर्गत प्रकाशन, प्रचारप्रसार तथा बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजू पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ । भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुको सहजतालाई मध्यनजर गरी विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गरेको र आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले बताइन् ।
संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन २२ गते शुक्रबार कमलविनायक चोकमा डोर कार्यालय राखेर टोलीले सेवा दिने भएको छ । यसैगरी, तेस्रो दिन २४ गते आइतबार सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा, चौंथो दिन २५ गते सोमबार नयाँथिमीस्थित शंखधर पार्टी प्यालेसमा, पाँचौं दिन २६ गते मंगलबार पुरानोथिमीस्थित मध्यपुर बैंक्वेटमा डोर कार्यालय रहने छ । त्यसैगरी, छैठौं दिन २७ गते बुधबार काशैलटार चोकमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ ।
व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, बालाजूले जनाएको छ । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको कार्यालयको भनाइ छ
फाेटाेमा हेर्नुहाेस्...