इन्जिनियरिङ उज्ज्वल भविष्य, नाम, दाम र प्रतिष्ठा सबै भएको पेशा


भदौ ५, २०८०, मङ्गलबार | विहान ०७:३१ बजे | 10


इन्जिनियरिङ उज्ज्वल भविष्य, नाम, दाम र प्रतिष्ठा सबै भएको पेशा

ई. यमकृष्ण पौडेलः

नेपाल इन्जिनियरिङ एशोसियसन गण्डकी प्रदेश सदस्य तथा नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरका इलेक्ट्रिकल इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख र शैक्षिक क्षेत्रसँग सम्बन्धित एक अभियन्ता समेत हुन्।

नेपालको इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीबारे उनै पौडेलसँग गरिएको कुराकानीको सारः

१.

इन्जिनियरिङ शिक्षा किन पढ्ने?

इन्जिनियरिङ पेशा एक उत्कृष्ट प्राविधिक पेशा हो जसले वैज्ञानिक सिद्धान्तहरूलाई व्यवहारिक रूपमा जोडेर आम मानिस र समाजको सहजताको लागि काम गर्छ। नयाँ ज्ञान र सिर्जनाहरूको मिश्रण पनि हुनाले राज्यको भौतिक विकासको मेरुदण्ड पनि हो। उज्ज्वल भविष्य, नाम, दाम र प्रतिष्ठा सबै भएको हुँदा पेशा पनि हो।

२.

नेपालमा इन्जिनियरिङ शिक्षा कस्तो छ?

नेपालको इन्जिनियरिङ शिक्षा समग्रमा राम्रो छ। यहाँ उत्पादित इन्जिनियरहरू विश्वबजारमा अब्बल साबित भएको छन्। नेपालबाट स्नातक गरेर गएका हाम्रा विद्यार्थीहरूले विश्वका प्रतिष्ठित विश्वविद्यालय हार्वड, अक्सफोर्ड, क्याम्ब्रिज, स्टानफोर्ड जस्ता विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान लगायतका विश्वविद्यालयहरूमा उत्कृष्ट नतिजा ल्याई कलेज टप गरिरहेका धेरै उदाहरणहरू छन्।

३.

धेरै नेपाली इन्जिनियरहरू विदेश पलायन भएको देखिन्छ। नेपालमा इन्जिनियर उत्पादन धेरै भएको हो?

होइन। नेपाल जत्तिकै क्षेत्रफल र जनसंख्या भएका देशहरूमा हेर्नुभयो भने हाम्रोमा इन्जिनियरहरू उत्पादन गर्न नसकेको देखिन्छ। दक्षिण कोरीयामा झण्डै एक लाख पचास हजार इन्जिनियरहरू उत्पादन हुँदा नेपालमा वर्षेणी ५-६ हजार पनि नयाँ इन्जिनियर उत्पादन हुन सकिरहेका छैन।देश विकासको मेरूदण्ड भौतिक विकासमा धेरै इन्जिनियरहरू चाहिन्छन्। नेपालमा सडक, खानेपानी, विजुलीको क्षेत्रमा काम सुरु भएको छ। अलि राम्रो र दूरदर्शी नेतृत्व भएर विकासको परियोजना सुरुवात हुँदा नेपालमै इन्जिनियरहरूको उत्पादन र खपत दुबै हेर्दा यो संख्या कम हुने देखिन्छ।

४.

कुन इन्जिनियरिङ पढ्ने भनेर द्वविधामा रहेका विद्यार्थीहरूलाई के सुझाव दिनुहुन्छ?

गणितमा राम्रो आधार भएका र सृजनशील विद्यार्थीलाई इन्जिनियरिङ उत्कृष्ट रोजाई हुनसक्छ। कुन इन्जिनियरिङ पढ्ने भन्ने विषय मूलतः विद्यार्थीको आफ्नो चाहनासँगै जोडिनु पर्दछ। जुनसुकै इन्जिनियरिङ पढेपनि उत्तिकै राम्रो गर्न सकिन्छ।

५.

इन्जिनियरिङ कलेज/ विश्वविद्यालय छान्दा कुन कुन कुरामा ध्यान दिने?

विश्वविद्यालय छान्दै गर्दा विश्वविद्यालयको पाठ्यक्रम कतिको अपडेटेड छ, बुझ्नुपर्छ। नेपालमा इन्जिनियरिङ कलेजहरूको नियमन गर्ने निकाय नेपाल इन्जिनियरिङ काउन्सिल हो। जसले दुई किसिमको (अस्थाई र स्थाई) स्वीकृती प्रदान गर्दछ। सामान्यतया स्थायी स्वीकृती प्राप्त कलेजहरू राम्रा छन् भन्ने बुझ्नुपर्छ। कलेजमा विद्यार्थीहरूलाई सपोर्ट कस्तो छ, त्यस कलेजको ल्याब, भौतिक पूर्वाधार, पूर्णकालिन शिक्षक र योग्यता, अनुभव जस्ता कुराहरू महत्वपूर्ण हुन्। इन्जिनियरिङ शिक्षा खोज र अनुसन्धानसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा अनुसन्धानमा अघि रहेका राम्रो र धेरै रिसर्च पेपर प्रकाशित गरेका कलेज छान्दा राम्रो हुन्छ।

बजारको आवश्यकतालाई हेरेर पाठ्यक्रम भन्दा बाहिर पनि सफ्ट र हार्ड स्कीलहरूलाई नन् क्रेडिटको रूपमा पढाउने कलेजहरू बढी लाभदायक हुन सक्छन्।

Comments