धुमधामसँग भित्र्याइएको रेल त्रिपालले छोपेर थन्काइयो


असोज ६, २०७७, मङ्गलबार | दिउँसो ०१:३२ बजे | 75


धुमधामसँग भित्र्याइएको रेल त्रिपालले छोपेर थन्काइयो
जनकपुर । नेपाली झन्डाको रंग पोतिएको रेल हेर्न गत शुक्रबार ‘जनकपुर रेल्वे’ स्टेसनमा हजारौंको भीड लागेको थियो । यो करिब १ अर्ब रुपैयाँमा नेपालले भारतको कोन्कन रेल्वेसँग खरिद गरेको हो।
भारतबाट जनकपुरसम्म आइपुग्दा हरेक रेल्वे स्टेसनमा स्थानीयले स्वागत गरेका थिए। यहाँका स्थानीयमात्रै होइन, ‘रेल’ अहिले देशकै लागि चासो हो।
तर, जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर चल्ने भनिएको रेल अहिले थन्काइएको छ।
सुरुमा सीमावर्ती क्षेत्र जयनगर स्टेशनमा राखिने भनिएपनि अहिले धनुषाको इनर्वा स्टेशनमा रेल राखिएको छ । इनर्वा स्टेशनमा पाँचवटा लिक रहेकोले दुई सेट रेललाई छुट्टाछुट्टै लिकमा राखिएको छ । पहेँलो रङको त्रिपाल ओढाएर राखिएको रेललाई सुरक्षा गर्न इनर्वा स्टेशनमा सशस्त्र प्रहरीलाई खटाइएको छ ।
रेललाई अहिले ५० जना सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्।रेलको रङरोगन बिग्रन नदिन त्रिपालले छोपिएको नेपाल रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेलको एउटा पूरा यार्ड नै सशस्त्र प्रहरीलाई उपलब्ध गराएर सुरक्षाको जिम्मेवारी दिइएको उनले बताए । साइट इन्जिनियर विनोद ओझाले भारतीय प्राविधिकहरुलाई चेकजाँच गर्न सहज हुने भएकोले इनर्वा उपयुक्त देखिएको बताए । सीमावर्ती जयनगरमा राख्ने भनिएपनि मानिसको बढी आवतजावत हुने भएकोले त्यहाँ नराखिएको उनले बताए।
‘जयनगर पनि सुरक्षाको दृष्टिकोणले उपयुक्त देखिएन्, अन्य ठाउँ भन्दा इनर्वा उपयुक्त देखियो,’ उनले भने, ‘अब सञ्चालन नहुन्जेल रेल त्यहीँ रहन्छ।’ रेल आउँदा उत्साहित देखिएका धनुषावासी तत्काल सञ्चालन नहुने भएपछि उनीहरुको मन ओइलाएको छ, अहिले । ब्रोडगेज निर्माण सुरु हुनुअघि बन्द भएको रेल सञ्चालन हुँदा व्यापार व्यवसाय फस्टाउने आश तत्कालका लागि सेलाएको छ।
‘रेल सन्चालन भएपछि भारतबाट मालसमान ढुवानीमा सहज हुने थियो। अनि पर्यटक आउँदा व्यापार पनि बढ्ने हुन्छ’ जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले भने।
सरकारले सकभर चाँडै रेल सन्चालन गर्ने वातावरण मिलाइदिए आठ वर्षदेखि खस्किैँदै गएको व्यवसायले फड्को मार्नसक्ने उनको बुझाइ छ।
तर, नवनिर्मित ब्रोडगेजमा रेल सञ्चालन हुन अझै दुई÷तीन महिना कुर्नुपर्ने देखिन्छ ।
रेल सञ्चालन गर्न विभागले कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । प्राविधिक र प्रशासनिकसहित विभागले ६ महिनाको लागि करारमा १२९ कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । प्रशासनिक तथा प्राविधिकहरुलाई करारमा भर्ना गरिएपनि रेल चलाउने चालक तत्कालका लागि भारतबाट ल्याइने बताइएको छ । रेल कम्पनीका महाप्रबन्धक भट्टराईले दुई÷तीन महिनाभित्र रेल सन्चालन गर्नेगरी काम थालिएको बताए।
‘कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ, भारतबाट बनेर आएको रेलको परीक्षण पनि भइसकेको छ,’ उनले भने, ‘कर्मचारी भर्ना प्रक्रिया सकिएलगत्तै रेल सञ्चालनमा आउँछ। महत्वपूर्ण कामजति करिब करिब सकिइसकेको छ।’ यात्रु ओसार–पोसार गर्न उपयुक्त देखिए पनि मालसमान ढुवानी गर्न भने नयाँ रेलमा समस्या देखिएको छ।
मालसमान ढुवानी गर्न न्यारो गेजमा यसअघि छुट्टै मालगाडी सञ्चालन हुने गरेको थियो। नवनिर्मत ब्रोडगेजमा सञ्चालन गर्न नेपाल रेल्वेसँग छुट्टै मालगाडी छैन।  छुट्टै मालगाडी नहुँदा मालसमान कसरी ढुवानी गर्नेबारे अहिले अलमल भएको छ।  अहिले सरकारले खरिद गरेको दुई सेट रेलमा मालडिब्बा जोड्ने विषयमा टुंगो लागिसकेको छैन। कोन्कनसँग रेल निर्माणको सम्झौता गर्दा नेपाली अधिकारीहरुले मालसमान ढुवानीका लागि पनि डिब्बा चाहिनेमा ध्यान दिएनन्।
रेल निर्माता कम्पनीले सच्यायो गल्ती
रेल जनकपुर आइपुगेकै दिन भारत सरकारका रेलमन्त्री पियुष गोयलले ट्वीट गरे। गोयलको ट्वीटको आशय थियो, भारतले नेपाललाई दुई सेट रेल ‘उपहार’ दिएको छ।
तर, रेल निर्माता कम्पनी कोन्कनले मन्त्री गोयलले अभिव्यक्त गरेको ट्वीटको आशयलाई खण्डन गर्दैै ‘नेपालको रेल विभागले अर्डर गरेअनुसार निर्माण गरिएका दुई सेट रेल नेपाललाई सफलातापूर्वक हस्तान्तरण गरिएको’ उल्लेख छ।
ट्वीटमा नेपालले खरिद गरेको दुई सेट रेलको मूल्यसमेत उल्लेख छ। ‘रेलको मूल्य ५२.४६ करोड भारु पर्दछ। यो अवसर दिएकोमा कोन्कन रेल्वे नेपाल सरकारप्रति आभार व्यक्त गर्दछ।’ (आयोमेल डटकम)

Comments