नखोज्नू अन्त कतै मलाई


साउन १०, २०८०, बुधबार | दिउँसो ०३:१४ बजे | 25


नखोज्नू अन्त कतै मलाई

कञ्चन जिआर

नखोज्नू अन्त कतै मलाई

हराएको हुनसक्छु 
– तिम्रो धड्कनको तेजमा
– तिम्रो दिलको सरगममा 

नखोज्नू
सजिलै खोज्न सकिने पार्क र मेलापर्वमा
साँच्चै  
म हराएँ भने 
नखोज्नू 
– फूल फुल्ने बगैँचामा 
– बजारका रमझममा 

मलाई लत लागिसकेको छ 
– तिम्रो आँखामा डुल्ने
– तिम्रो मुटुमा लुकामारी खेल्ने 
 – तिम्रो परेलीमा मस्त भुल्ने

दायाँ बायाँ कतै नहेर्नू 
खोज्नै परे आफैँभित्रै खोज्नू मलाई 

साच्चै म हराए भने ।

कहिलेकाहिँ  
गाड्याङगुडुङ गर्दै 
आकाशले तर्साएको हुन सक्छ मलाई 
त्यस्तो वेला 
आफ्नै अङ्गालोमा खोज्नू
कहिलेकाहिँ 
ढक्कमक्क फुलेर 
रङ्गीचङ्गी फूलले लोभ्याएको हुन सक्छ मलाई
त्यस्तो वेला
आफ्नै ओठको रङमा खोज्नू

अन्त कतै नखोज्नू मलाई 
तिम्रो प्रेममा जे मज्जा छ त्यो अन्त कहाँ
तिम्रो ओठमा जस्तो नशा छ त्यो अरूमा कहाँ
तिम्रो हेराइमा जस्तो मोहनी त्यो अरूमा कहाँ

खोज्न परे 
आफ्नै प्रेममा खोज्नू
आफ्नै बेहोसीमा खोज्नू

तिम्रो प्रेमको छालमा 
बग्ने बानी परिसक्यो मलाई 
तिम्रो हिम्मतको नदीले भिज्ने लत परिसक्यो

नखोज्नू अन्त कतै मलाई
म नशामा बगेको हुन्छु
मुटुमा धड्केको हुन्छु
तिम्रो आँखामा लुकेको हुन्छु।

फाेटाेमा हेर्नुहाेस्...

नखोज्नू अन्त कतै मलाई

Comments