नैतिक शिक्षाका आधार
साउन ७, २०८०, आइतबार | दिउँसो ०१:४१ बजे | 70
सागर गुरागाईं
कतिपय धार्मिक परम्पराले मानिसलाई अनुशासित जीवन व्यतित गर्न अभिप्रेरित गरिरहेको हुन्छ । महिनावारीकै विषयलाई लिएर हेर्दा पनि महिनाको चारदेखि सात दिनसम्म महिलालाई जेजति काम गर्नबाट बन्देज लगाइन्छ, त्यसबाट महिलाले शारीरिक रुपमा आराम पाउँछिन् । यसै पनि महिनावारीको अवस्थामा महिलाले शारीरिक र मानसिक रुपमा पनि निकै असहज महसुस गरिरहेकी हुन्छिन् । उनको शरीरबाट विकारयुक्त रगत बाहिरिन्छ । यसरी विकारयुक्त रगत बगिरहेको अवस्थामा जथाभावी हिँडडुल गर्दा र विभिन्न सामान र वस्तुहरु छँुदा, खाँदा त्यसबाट निस्किने नकारात्मक ऊर्जाको दुष्प्रभाव फैलिन्छ भनेर कहीँ कतै छुन हुँदैन भनेर अलग्गै बस्नुपर्छ भनिएको होला । यतिबेला सरसफाइमा ध्यान दिन सकिएन भने त्यसले अरु वस्तुलाई पनि विकारयुक्त नै बनाउँछ भन्ने मान्यता छ ।
यस्तो अवस्थामा अपहेलना नै गरेर महिलाले छाउगोठ जस्ता सकसपूर्ण स्थानमा होइन कि राम्रो, उज्यालो ठाउँमा आराम गर्न र परिवारबाट उचित खानपान तथा विशेष हेरचाह नपाएमा यसलाई विभेद भनेर मान्न सकिन्छ । यस्तो अवस्थामा शारीरिक सम्पर्क गरेमा विगतमा पापकै डरले भए पनि समाजमा बलात्कार, व्यभिचार, परस्त्रीगमन जस्ता विषयबाट मानिसहरु टाढा रहन्थे । समाजमा यस्ता घटनाको बारेमा धेरै कम मात्र सुनिन्थ्यो । अहिले धार्मिक आस्थामा विग्रह आउँदा समाजमा यौन दुराचार बढिरहेको छ । अहिले भ्रुण हत्यालाई अधिकारको विषय बनाइएको छ । बलात्कार, व्यभिचार, परस्त्रीगमन वा परपुरुषगमन, बालिका, महिलामाथिको कुदृष्टि र हिंसा जस्ता घटनाले समाजमा विकृति फैलिँदो छ । पछिल्लो समयमा कडा कानुन बनाएर दण्डित त गरिएको छ तर यस्ता घटनामा कुनै कमी आउन सकेको छैन । त्यसैले हिन्दु धर्मशास्त्रमा के कति विज्ञानसम्मत विषय छन्, त्यसको गहिरो अध्ययन र अनुसन्धान हुनुपर्छ । भित्री विषयवस्तुको ज्ञान नभई सतही कुरा गरेर विरोधमात्र गर्दा पनि राम्रा र मौलिक कुरा हराउन सक्छन् ।