भान्सामा पाकेका कविता
असार ५, २०८०, मङ्गलबार | विहान ०७:५२ बजे | 45
मुना राई
मेरा कविताहरु खाना पकाउँदै भान्सामा पाकेका छन्
खाना पकाउँदै लेख्दै गर्दा मेरा हातहरु थाकेका छन् ।
कुनै कविताहरु पाकेका छन् भातका सितासितामा
कविता रच्नको लागि हेर्छु भान्साको भित्ता भित्तामा ।
मेरा कविताहरु सिठ्ठी लागेर पाकेका छन् दालजस्तै
सिठ्ठी लागेको गन्दै कविता लेख्ने गर्छु भान्सामा बस्दै
मनमनै रचना गर्ने गर्छु चामल धुँदै तरकारी केलाउँदै
कहिले लेख्ने गर्छु चियाको समयमा चिया सेलाउँदै ।
बिहान अनि बेलुका भान्सामा खानेकुराहरु पकाउँदै
कविता मिलाउनलाई गुनगुनाउँछु मनलाई बहलाउँदै ।
मानिसको जीवनमा फुर्सद नहुने रहेछ
कहिले उठेदेखि हतारै हतार भइरहन्छ जहिले ।
बसेर कविता लेख्छु भन्यो भने फुर्सद नै नपाउने
जतिबेला पायो त्यतिबेला लेख्नलाई केही नआउने ।
प्रायजसो भान्सामा आलु, गोलभेडा, प्याज काट्दै
आफूले अनुभव गरेका कुराहरुलाई मनसँग साट्दै ।
चुलामा भात र तरकारी पकाउँदै एकैछिन बिसाएर
कविताका पङ्क्तिहरु रच्ने गर्छु शब्द शब्द मिसाएर ।
भान्सामा आफू एक्लै काम धन्दाहरु गर्दै
मनमनै आफैँसँग के के कुराहरु गर्छु दंग पर्दै ।
जब मैले जागिरबाट अवकाश लिएर आएँ
ठूलो जिम्मेवारी भएको भान्सामा नियुक्ति पाएँ ।
भान्सामा म एकान्तपन र आफूसँगै रमाउन पाउँछु
आफैँले आफैँलाई सुनाएर भावनाका गीतहरु गाउँछु ।
त्यसैले त मलाई भान्सा धेरै प्यारो लागेको छ
भान्सामा पाकेका मिठा परिकारसँगै कविता पाकेको छ ।
मेरा कविताहरु पाकेका छन् ढिंडो र गुन्द्रुकसँगै
मेरा कविताहरु रोएका छन् दुःख– सुखका आँसुसँगै ।
मेरो बानी नै भइसक्यो कविता लेख्दै पकाएर खुवाउन
बरु म आफैँ रुन्छु, चाहन्न म अरूलाई रुवाउन ।
सबैले फुर्सदको समयलाई सदुपयोग गर्ने गरौँ बानी
समय खेर फाल्नभन्दा केही सिक्ने गरौँ जानी नजानी ।
८८८८
फाेटाेमा हेर्नुहाेस्...