भान्सामा पाकेका कविता


असार ५, २०८०, मङ्गलबार | विहान ०७:५२ बजे | 45


भान्सामा पाकेका कविता

मुना राई 

मेरा कविताहरु खाना पकाउँदै भान्सामा पाकेका छन् 
खाना पकाउँदै लेख्दै गर्दा मेरा हातहरु थाकेका छन् ।
 
कुनै कविताहरु पाकेका छन् भातका सितासितामा 
कविता रच्नको लागि हेर्छु भान्साको भित्ता भित्तामा ।

मेरा कविताहरु सिठ्ठी लागेर पाकेका छन् दालजस्तै 
सिठ्ठी लागेको गन्दै कविता लेख्ने गर्छु भान्सामा बस्दै 

मनमनै रचना गर्ने गर्छु चामल धुँदै तरकारी केलाउँदै 
कहिले लेख्ने गर्छु चियाको समयमा चिया सेलाउँदै ।

बिहान अनि बेलुका भान्सामा खानेकुराहरु पकाउँदै 
कविता मिलाउनलाई गुनगुनाउँछु मनलाई बहलाउँदै ।

मानिसको जीवनमा फुर्सद नहुने रहेछ 
कहिले उठेदेखि हतारै हतार भइरहन्छ जहिले ।

बसेर कविता लेख्छु भन्यो भने फुर्सद नै नपाउने 
जतिबेला पायो त्यतिबेला लेख्नलाई केही नआउने ।
 
प्रायजसो भान्सामा आलु, गोलभेडा, प्याज काट्दै 
आफूले अनुभव गरेका कुराहरुलाई मनसँग साट्दै ।
चुलामा भात र तरकारी पकाउँदै एकैछिन बिसाएर 
कविताका पङ्क्तिहरु रच्ने गर्छु शब्द शब्द मिसाएर ।

भान्सामा आफू एक्लै काम धन्दाहरु गर्दै
मनमनै आफैँसँग के के कुराहरु गर्छु दंग पर्दै ।

जब मैले जागिरबाट अवकाश लिएर आएँ
ठूलो जिम्मेवारी भएको भान्सामा नियुक्ति पाएँ ।

भान्सामा म एकान्तपन र आफूसँगै रमाउन पाउँछु 
आफैँले आफैँलाई सुनाएर भावनाका गीतहरु गाउँछु ।

त्यसैले त मलाई भान्सा धेरै प्यारो लागेको छ 
भान्सामा पाकेका मिठा परिकारसँगै कविता पाकेको छ ।

मेरा कविताहरु पाकेका छन् ढिंडो र गुन्द्रुकसँगै 
मेरा कविताहरु रोएका छन् दुःख– सुखका आँसुसँगै ।

मेरो बानी नै भइसक्यो कविता लेख्दै पकाएर खुवाउन 
बरु म आफैँ रुन्छु, चाहन्न म अरूलाई रुवाउन ।

सबैले फुर्सदको समयलाई सदुपयोग गर्ने गरौँ बानी 
समय खेर फाल्नभन्दा केही सिक्ने गरौँ जानी नजानी ।
                            ८८८८                                                                   

फाेटाेमा हेर्नुहाेस्...

भान्सामा पाकेका कविता

Comments