मेरो आवाज सुन, मलाई पनि केही भन्नु छ !
असार ५, २०८०, मङ्गलबार | विहान ०१:२२ बजे | 65
प्राडा पुरुषोतमलोचन श्रेष्ठ
कुराले कुरालाई डाक्छ, सम्झनाले सम्झनालाई र त्यसैगरी इतिहासले इतिहासलाई डाक्छ । भारतबासीले गौरव गर्दै आएकी आदर्श नारी, आदर्श आमा, आदर्श पत्नी नेपालको पवित्र माटोमा जन्मी हुर्की बढेकी नेपालकी छोरी सीता । संस्कार र संस्कृतिले रामलाई म¥यादापुरुषोत्तम श्रीराम बनाउने, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश नेपालकी छोरी उनै नेपालमाताकी आदि आदर्श छोरी सीता । सारा भारतीय नारीलाई समेत आदर्श नारी, आदर्श आमा, आदर्श पुत्रीको पाठ पढाउने नेपालकी छोरी सीता । संसारकै अग्ला आठ हिमचुलीले उठ्दै आजको भारतकै भौगोलिक नक्सादेखि उहिलेदेखिको सांस्कृतिक भूगोलको समेत शीर्षमा रहिआएको प्रथम पवित्र पुण्यभूमि आदि देश नेपाल । हाम्रा ती अति अग्ला हिमचुलीका जल निसृत हुँदै भारतवर्षमा सभ्यताको उषाकाल ल्याउने बृहत्तर, आदि देश नेपाल । आदि बुद्धहरू लगायत ऐतिहासिक बुद्धको एक मात्र अतुल्य आदि देश नेपाल । संसारका सारा बौद्ध जनको प्रथम पवित्र आदि धाम नेपाल । उता धेरै शिवहरू भए तापनि संसारकै सारा हिन्दुहरूको हृदयमाझ ढुकढुकी चल्ने, भारतवर्षको शीर्षस्थानमा प्रतिष्ठापित नेपालका एकमात्र शिवलिङ्ग ः भगवान् श्री पशुपतिनाथ । शरीर भारतमा, शिर नेपालमा भएको श्रीभैरवनाथको एकमात्र आदि देश नेपाल । चौँसठ्ठी हजार भन्दा बढी भैरवहरू भएको एकमात्र देश नेपाल । भारतको श्रीजगन्नाथपुरीमा, श्रीजगन्नाथको स्थापनाकालदेखि नै, भारतकै राष्ट्रप्रमुख, प्रधानमन्त्रीलाई नभएर नेपालका राजाले मात्र रत्नवेदीमा प्रवेश गरी, सिंहासनमा बसी, मुदगलस्तोत्र स्वागत मन्त्रले स्वागत सम्मान ग्रहण गर्दै दर्शनपुजनको अति नै विशेषाधिकार प्राप्त हुँदै आएको एकमात्र अतुल्य देश नेपाल । भारतका सारा हिन्दू जनले नेपालका राजालाई भगवान् श्रीजगन्नाथ÷भगवान् विष्णुको अवतार, नेपालका हिन्दुजनका मात्र नभएर सारा हिन्दुस्तानकै एकमात्र हिन्दु सम्राट् मान्दै आएको एकमात्र अतुल्य सांस्कृतिक देश नेपाल । ईशापूर्वका कालदेखि नै कहिले युनानी त कहिले अंग्रेजहरूको साम्राज्यवादी पाइलामा कुल्चँदै, दासता र गुलामीको तलुवा चाट्दै, साम्राज्यवादको सुस्केराबाट १९४७ मा बल्लतल्ल गुलामीबाट स्वतन्त्र भएको आजको नयाँ राजनैतिक भारत । अनि हरेक वर्ष उही गुलामीको इतिहासलाई झल्झली संझदै स्वतन्त्रतादिवस मनाउँदै आएको भारत । एसिया, यूरोप र अमेरिकी महादेशमा उपनिवेश कायम गर्दै सूर्य कहिल्यै नअस्ताउने देश भनी गौरव गर्ने उही शक्तिशाली बेलायतसित युद्धको चुनौतिलाई स्वीकार गर्दै युद्ध गर्ने र युद्धमा हारेर आफ्नो दोब्बर भूमि गुमाउनुपरेता पनि सम्प्रभुतालाई अक्षुण्ण राख्दै बेलायतकै समकक्षमा रहिआएको, विश्वकै पहिलो देश नेपाल । आधुनिक राजनैतिक भारत नजन्मदै, भारतबासीहरू गुलामीको तलुवा चाट्दै गरिरहेकै बेला २१ डिसेम्बर १९२३ मा समानस्तरमा उही शक्तिशाली देश बेलायतसित ‘नेपाल–ग्रेटब्रिटेन फ्रेण्डशिप ट्रेटी’ गर्ने शक्तिशाली देश नेपाल । विश्वमा स्वतन्त्रतादिवस नमनाउने एकमात्र अतुल्य देश नेपाल । यसैले, हेर है इतिहास संस्कृति नबुझेका ‘मुन्तिर’ ! तिमी तथाकथित आदिपुरुषको कुरा गर्छौ, हामी अनन्तकालदेखिको ऐतिहासिक आदिदेशको कुरा गर्छौँ । तिमी हावादारी कुरा धेरै गरेर हल्ला गर्छौ, हामी थोरै तर सत्यकुरा गरेर पनि आज पनि तिम्रो शिरमै छौँ । भूगोलको नक्सा हेर न ! त्यहाँ पनि तिम्रो भारतको शिरमा हाम्रो विशाल देश नेपाल छ । यो कुरा हो कि होइन, तिमीहरूले नै मान्दै आएको हाम्रै सीता, बुद्ध र पशुपतिनाथलाई मात्र शपथ लिएर, वा भनौँ छातीमा हात राखेर भन त ! त्यहाँ तिमी अखण्ड भारत होइन, अखण्ड अतुल्य नेपाल पाउने छौ, त्यहाँ तिमी आदिपुरुष होइन, तिम्रै रामलाई सभ्य र सुसंस्कृत तुल्याउने बृहत्तर, भारतवर्षको सांस्कृतिक–शीरस्थस्थानमा अनन्तकालदेखिको आदिदेश नेपाल मात्र देख्ने छौ । इतिहासको कालप्रवाहमा, तिम्रो देशमा विदेशी शत्रुहरूले पटक पटक हमला गर्दा सनातन धर्म संस्कृतिको रक्षार्थ हाम्रो देशका देशबासीले शरणार्थी तिम्रा पूर्वजहरूलाई आपतविपत पर्दामा हृदय खोलेर देशको सीमाढोका खोली शरण दिएको एकमात्र असल देश नेपाललाई किन बिर्सन्छौ ! साम्राज्यवादमा पिल्सिएर गुज्रेको गुलामी–संस्कृतिमा हुर्केको गुलामी–संस्कारमा बढेका सन्तन्तीले आफूलाई मात्र होइन, सबैलाई त्यस्तै देख्नु कुन ठूलो कुरा भयो र ! सत्ता ढले पनि त्यो युगमा विकसित गुलामी संस्कृति भने मर्दो रहेनछ । ‘मोदी’ लगायतका ‘मुन्तिर’ सोचले यही कुराको अनुभूत गराएको छ ।
नेपालमा आएर बुद्धको जन्मभूमि नेपाल नै हो भनेर घुँडा टेक्ने र जापानमा गएर उफ्री–उफ्री अर्कै कुरा गर्ने मोदी र उसैगरी इतिहास नै नबुझी हावादारी कुरा गरेर आदिकालदेखि दुई देशको सम्बन्ध बिगार्न आतुर ‘मुन्तिर’ सोचहरूले नेपाल र नेपालीको भावनाविरूद्ध बोलेका कुरामा माफी माग्नु पर्छ । स्मरण रहोस् ! नेपाल र भारत दुई भिन्न देश हुन् । नेपाल भारतको असल र अनन्य मित्र र छिमेकी देश हो । त्यही व्यवहार वर्तमान भारतले गरोस् । नमिठा कुरा हामी पनि बिर्सन्छौ । अतीतको अपरिहार्य उपज वर्तमान हो । वर्तमानमा पनि सार्वभौमसत्तासम्पन्न उही आदि देश नेपाल छ, आजको स्वतन्त्र भारत पनि छ । देश भिन्न, संस्कृति अभिन्न छ भन्ने कुरालाई दुबैले नबिर्सौँ । आकार प्रकार आदि गौण कुरा हो, दुबै सार्वभौमसत्तासम्पन्न, समान र छिमेकी देश हुन् । सत्य कुरा यही हो । धन्यवाद ।