सबै झार हुन्
जेठ ३२, २०८०, बिहीबार | दिउँसो १२:१९ बजे | 40
जीवनाथ अधिकारी
बाली अन्न टनाटनी घरघरै फल्थे र फुल्थे कति
चल्थ्यो वासन धानको मगमगी फुल्थे र झुल्थे कति ।
माग्ने भो किन देश आज यसरी शून्यान्त भो जाँगर
मेटायौ सब प्रेम भित्र दिलको आनन्दको सागर ॥१॥
पानी कल्कल बग्दथ्यो चपलता माटो कति खुल्दथ्यो
फुल्थ्यो लालगुराँस भिन्न रङमा माला बनी झुल्दथ्यो ।
सारा सुन्दरता बिथोलिन गयो खोक्रो भयो देश यो
खायौ भित्र गुदी र आज यसरी बोक्रो भयो भेष यो ॥२॥
बेच्थ्यौँ धान र अन्न दाल, पसिना बग्थे स्वयम् गेहमा
रोपेका पिउरी बुनेर कपडा भिर्थ्यौँ स्वयम् देहमा ।
भोग्दै छौँ अनिकाल कष्ट अहिले ती पौरखी हात खै
रुन्चे आज बनाइयौँ टुटफुटे, त्यो दर्बिलो साथ खै ॥३॥
बान्थे बाँध युवा बुढा सब मिली चल्थे कुला जोडले
घुम्थे घट्ट उछालिँदा जल अहो पिन्थे सबै तोडले ।
गावैँ शून्य भयो विदेसिन पुगे मोटा थिए पाखुरा
तिम्रै कर्तुतले उँधो शिर भए हेमाद्रिका टाकुरा ॥४॥
ठाडो माथ सदैव उच्च नगझैँ आकाशमा झुल्दथ्यो
स्वार्थी ताप थिएन भित्र दिलमा श्रीखण्डझैँ खुल्दथ्यो ।
आफ्नो मस्तक झार्दथे तलतलै निर्विघ्न वैरी झुके
मार्यौ आत्म र खुर्कियौ मृदुलता स्वामित्व सारा सुके॥५॥
आफ्नै देश सजाउने सरलता उद्योग जाग्दै थिए
सप्पै सज्जन ज्ञानका नजिकमा विज्ञान लाग्दै थिए ।
विज्ञानीसँग ज्ञानका मुटुहरू सङ्गीतका सार हुन्
वैलाएर उजाड भो कपटले, ल्यायौ सबै झार हुन् ॥६॥
२०८० जेठ ३२ सिर्जनाकुञ्ज, बालकोट,