योगका विविध आयाम


जेठ ३२, २०८०, बिहीबार | विहान १०:३८ बजे | 30


योगका विविध आयाम

डा इन्दुल केसी
पृष्ठभूमि
अन्तर्राष्ट्रिय योग दिवस २०८० को सन्दर्भमा यो मेरो लेख पाठक समक्ष प्रस्तुत गर्दछु ।
योग तथा प्राकृतिक उपचार सम्पूर्ण मानव जातिहरूलाई स्वास्थ एवं सुखी जीवनयापनको माध्यम हो । योग शास्त्रको ग्रन्थ शिवसंहितामा सम्पूर्ण प्राणी मात्रको हितको लागि भगवान शीवजीले माता पार्वतीको जिज्ञासालाई मेटाउन ब्रम्हज्ञान र हठयोग साथै राजयोगका क्रियाहरूको चर्चा गर्नुभयो । यस संहिताको अध्ययन तथा मनन् गरी संसार सागरको दुःखबाट छुटकारा पाउने रहस्य यसमा पाईन्छ। यसै संहितामा योग साधना एवं अभ्यासगर्दा आईपर्ने अनेक विघ्नबाधाहरूलाई कसरी हटाउने र मोक्ष प्राप्त गर्न भोग नै एउटा प्रमुख बन्धन हो भन्ने कुराको सन्देश यस सहिताले दिएको पाइन्छ । उचित आसनमा बसेर अन्तरशुद्धिको लागि धौली क्रिया गर्नु, नाडी सञ्चालनको ज्ञान प्राप्त गर्नु, वायु प्रत्याहारको निरोध गर्नु, कुण्डलिनी ज्ञान प्राप्त गर्नु, आहारको आचार, बिचारका नियम पालन गर्नुपर्ने कुराको मार्गनिर्देशन यसै संहिताले दिएको छ । मन्त्रयोग, हठयोग, लययोग र राजयोगहरू एउटा योग्य गुरूद्वारा यसको सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्नु योगाभ्यासीहरूका लागि अति आवश्यक मानिन्छ ।
योगको सन्दर्भमा स्वामी विशुद्धदेवज्यूले रच्तु भएको चरित्र विज्ञान ग्रन्थमा योगको शास्त्रीय दर्शन र आधुनिक विज्ञानलाई समन्वय गरी ‘मष्टिस्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमान्दरी’ भन्ने मूल नाराका साथ सम्पूर्ण मानवलाई चरित्रवान बनाउन चरित्र निर्माण संघ नै स्थापना गरी नेपालमा आन भन्दा झण्डै ३० वर्ष अगाडीदेखि योगाभ्यासको प्रचारप्रसार गर्नुभएको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।
अष्टाङ्ग योगः तत्वज्ञान प्राप्त नभएसम्म मानिसहरूमा रहेको चित्तको विकारहरू समाप्त हुँदैन। यसैले योग दर्शनमा चित्तलाई स्थिर राख्न जोड दिएको पाईन्छ । ‘योगस्थित चित्तवृत्ति निरोध’ को व्याख्या महर्षि पतंजलिले गर्नुभएको छ । वास्तवमा चित्तवृति निरोध भनेकै योग हो । योग मार्गका ८ वटा खुड्किलाहरू एउटा शुत्रबद्ध रूपमा निम्न अनुसार प्रस्तुत गरेको पाइन्छ ।
यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यिनै आठवटा योगका अंगहरूलाई अष्टाङ्ग योग भनिन्छ । योग दर्शनलाई विभिन्न नामहरूले विषद् रूपमा चर्चा गरेको कुरा हाम्रा संस्कृत वाङमय वेद, उपवेद, उपनिषद्हरू पुराणहरू, गीता आदिमा योगकै बारेमा चर्चा गरिएको पाईन्छ । यसै क्रममा खप्तड स्वामीले धर्म विज्ञान नामक पुस्तकमा, ओशो रजनीशका अनेकौं प्रवचनहरूमा, बुद्धले दिनुभएको उपदेश ग्रन्थ त्रिपिटकमा इसामसिहले दिनुभएको शिक्षा, इसाई धर्मग्रन्थ बाईबलमा, प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विद्यालयबाट प्रकाशित विभिन्न पुस्तकहरूमा, स्वामी रामदेवले योग बारेमा लेखेका अनेकौं पुस्तकहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा योग विज्ञानको प्रकाश भएको पाईन्छ ।
जुलिय फ्रेडि बर्गरले आफ्नो पुस्तक अफिस योगमा लेख्नुहुन्छ– “तनावलाई नियन्त्रण गर्ने एउटा सामान्य तरिका – तपाई आफ्नो अफिसमै गर्नसक्नु हुन्छ ”। अर्थात अति व्यस्त जीवनयापन गरिहेका व्यक्तिहरू आफ्नो कार्यालयको कुर्सीमा बसी केही छिन आफ्नो शरीरका अंगहरूलाई तन्काएर पनि शारिरीक तनाव कम गर्न सकिन्छ ।
वैज्ञानिक योग
जीवन सकारात्मक पक्षमा बदलन चाहनेहरूका लागि वैज्ञानिक योग नामक पुस्तकका लेखक डा. चेतनाथ अधिकारीले भोजन, सूक्ष्म व्यायाम, सूर्य नमस्कार, विभिन्न आसनहरू, षत्कर्म प्राणायमबारे चर्चा गरी वैज्ञानिक योगको नाम दिएका छन् ।
योग गीता
श्रीकृष्ण र अर्जुनको बीच कुरूक्षेत्रको रणभूमिमा भएको सम्वादमा ७०० वटा श्लोकहरू छन् । यी श्लोकहरूलाई १८ अध्यायहरूमा विभिन्न नामले विभक्त गरिएका छन् । जस्तै विषाद्योग, साङ्ख्य योग, कर्मयोग, ज्ञानयोग, कर्मसन्यास, योग, आत्मसंयम योग, ज्ञान–विज्ञान योग, अक्षर ब्रम्हयोग, राजविद्या राजयोग, गुह्य योग, विभूति योग, विश्व योग, गुणतन्त्र विभाग योग, पुरूषोत्तम योग, दैवासुर सम्पत विभाग योग, श्रद्धात्राय विभाग योग र मोक्ष सन्यास योग दिइएको छ । यसरी गीतामा विभिन्न नाम दिएर चर्चा गरिएका १८ वटै अध्यायहरूको महत्व वर्णतित छन् । विशेषगरी कर्म योग, ज्ञानयोग, भक्तियोग, मोक्ष सन्यास योग, योगाभ्यासीहरूले अध्ययन गर्नु उपयुक्त देखिन्छ ।
कुचो योग
माथि उल्लेखित विभिन्न नामका योगहरूको साथै दैनिक जीवनमा हामी सबैले नगरी नहुने योगको नाम हो कुचोयोग । कुचो योग भन्नु यहाँ कुचो प्रतिकात्मक रूपमा प्रयोग गरिएको हो । कुचो एउटा साधन हो जसले धुलो कसिङ्गर बढारिन्छ । नेपालीहरूको घरघरमा संस्कारगत गर्नुपर्ने दैनिक कार्य भनेको बढारकुँढार गर्नु हो । आफ्नो घर, चोक, आँगन सफा गर्नु हाम्रो परम्परागत प्रचलन हो । यसले घरमा वरिपरि रहेको धुलोमूलो फोहर बढारिन्छ । फालिन्छ । सन्दर्भ योगको हो । हात र कुचोको जोड हो । यो मिलनले यसको प्रयोगले सरसफाइ निरोगको लागि गर्नैपर्ने प्रथम कार्य हो । के महिला के पुरूष सबैले सरसफाईमा जुट्नु पर्छ । चाहे दाँत माझ्न प्रयो गर्ने टुथब्रस होस् वा जुत्ता टल्काउने ब्रस होस, कुचो च्वाफी अथवा आधुनिक भ्याकुम क्लिनर नै किन नहोस्, यी वस्तुहरूको समूचित प्रयोग गरौं र निरोगको मार्गमा अगाडी बढौं । यही नै कुचो योगको मर्म हो । यस लेखका बारे पाठकहरुको प्रतिकृया अपेक्षा गर्दछु ।
 
साभार ः स्मारिका प्रथम योग जिल्ला घोषणा, भक्तपुर     

                                                        

फाेटाेमा हेर्नुहाेस्...

योगका विविध आयाम

Comments