ग्रामीण विकासका कुरा
जेठ ५, २०८०, शुक्रबार | दिउँसो ०२:५२ बजे | 25
जीवनाथ अधिकारी अध्यक्ष, अनुशीलन नेपाल
जब नोकरीबाट अवकाशित भइयो, त्यसपछि एक प्रकारले ढाक्रे भइयो भन्दा पनि हुन्छ । ढाक्रेको अभिधार्थ ढाकर बोक्ने वा ढाकरका माध्यमबाट जीविकोपार्जन गर्ने भन्ने देखिन्छ । यसले भरियाको अर्थसमेत वहन गर्छ । यहाँ ढाक्रे भइयो भन्नाले जागिर नभएको वा काम नपाएको भन्ने बुझाउन खोजिएको हो । जब कामका खोजीमा सहर वा राजधानी प्रवेश गरियो, त्यसपछि एक किसिमले ग्रामीण परिवेशसित बिस्तारै दूरी बढ्दै गयो र जसोतसो सहरिया भइयो । सहरिया भइयो पनि के भन्नु, भिरको चिन्डोझैँ एक किसिमले अलन्तारमा फसियो भनौँ । सहरको मोहनीमा फसेपछि कसो कसो गाउँ बिरानो हुँदो रहेछ र त्यत्तिकै यतै रल्लिँदो रहेछ मान्छे । लुटी ल्यायो भुटी खायो भन्ने उक्तिलाई आदर्श मान्न विवश भइँदो रहेछ । सानो हैसियतका मानिसलाई अग्ला पर्खालले घेरेका कम्पाउन्डभित्रका रङ्गीन रमझमले तान्न त खोज्छ तर त्यो केवल सपना मात्र लाग्छ । मानिस न हो, सपनाका प्राप्तिले मात्र सन्तोष मान्दैन अनि वैध्यावैध्य कृत्यतिर लाग्छ मान्छे । यस प्रक्रियामा धेरै मानिस घस्रिएका देखिन्छन् । अब म आफू निवृत्त भएपछि कहाँ के गर्ने भन्ने विचारमा त अलि अलि अल्मलिए पनि यसै गर्ने भन्ने कुनै निर्क्यौल गर्न नसक्ता राजधानीतिरै दिन कटिरहेका छन् ।
मानिस स्वभावैले सुविधा खोज्छ नै । सुविधा र सुखको सीमा नहोला यद्यपि सामान्य जीवन जिउन आवश्यक साधनको अपेक्षा भने जो कोहीमा रहन्छ नै । मभित्र यो अपेक्षा नरहनु अस्वाभाविक नै हुन्छ । कारण उक्त गुण मानवीय नैसर्गिक विशेषता देखिन्छ ।
राजधानी वा सहरमा निवृत्त भएर त्यहीँ बसिरहने मजस्ता सहस्र छन् । सहर वा राजधानीमा बस्ने व्यक्तिहरू, जो देशका विविध भागबाट आएका हुन्छन्, प्रायशस् गाउँमा धेरथोर जग्गाजमिन र घर भएकै हुन्छन् । तर उनीहरूलाई सहर र यसका सुविधाले यसरी आकर्षण गरिसकेको हुन्छ, जसलाई चाहेर पनि उसले छोड्न सक्तै सक्तैन । कारण के छ त त्यस्तो रु यो कुरा प्रस्टै छ । गाउँमा कुनै किसिमको सुविधा प्राप्त गर्न सकिँदैन । के त्यस्ता सुविधा चाहियो भन्ने सवाल उठ्न सक्छ । यो एक्काइसौँ शताब्दीमा जुनसुकै तहका मानिस पनि केही आधारभूत सुविधाबाट आफू बञ्चित हुन चाहँदैनन् । ग्रामीण परिवेशमा ती कुराहरू उपलब्ध गराउन सके विकासको गति पनि फरक शैलीमा अगाडि बढ्थ्यो ।
यतिबेला नेपालको राज्यसङ्गठन सङ्घीय संरचनामा धर्खराउँदै छ । सङ्घअन्तर्गतका प्रदेशहरूका माध्यमबाट दूरदराजका ग्रामीण परिवेशमा पनि विकासका पूर्वाधार पुग्न सक्छन् र जनताले त्यसको सहज उपभोग गर्न पाउँछन् भन्ने मान्यताले सङ्घीयता आरम्भ गरिएको देखिन्छ । तर त्यतापट्टि भने सायद कसैले सोचेको छैन होला ।
गाउँको परिवेश स्
अहिले नेपालका गाउँहरू प्रायस् युवाशून्य छन् । वैदेशिक रोजगारीले सबल युवाजति विदेश पलायन भएपछि उस्तै ठाउँमा त मलामी जाने युवासमेतको खाँचो परिरहेका समाचार आइरहेकै छन् । कम चेतना भएका तथा विदेश गएर काम पाउन सम्भव नभएका, अशक्त, वृद्धवृद्धाबाहेक गाउँमा बस्ने कोही रहेनन् । नयाँ उर्जा भएका नवयुवा सके युरोप, अमेरिका वा अस्ट्रेलिया हान्निन लालायित हुने मात्र होइन, नेपाल उनीहरूका लागि बस्ने ठाउँ नै हैन भनेझैँ गर्छन् र उतै जाने योजना र सपना तुनिरहेका हुन्छन् । त्यसबाहेक पनि खाडी मुलुक वा कोरिया, मलेसिया वा अन्य कुनै पनि मुलुकमा जान तम्तयार भएर लाइन लागिरहेका पाइन्छन् । गाउँबाट सहर पसेर जागिर खाई अवकाशितहरू गाउँ फर्किएर जोकर हुन चाहँदैनन् । यस्तो छ अहिले हाम्रो देशका गाउँको अवस्था ।
हुनुपर्छ के स्
नव युवाहरू आफ्नो उर्जा र दक्षतालाई अझ फराकिलो पार्न चाहन्छन् । उनीहरूको प्रगतिको चाहनालाई निरुत्साहित गर्नु पनि अन्याय हुन जान्छ । सके त उनीहरूको सिपलाई यहीँ खपत गर्नतिर लाग्नु उत्तम विकल्प हो । कमसेकम अवकाशितहरूलाई गाउँमा गएर बस्न सक्ने वातावरण सिर्जना गर्न सके गाउँ पनि प्राकृतिक सहरमा रूपान्तण हुन सक्थ्यो । ती अवकाशितहरू लामो अनुभव सँगालेका, देशविदेश देखेका, पढेलेखेका, चेतनास्तर उच्च भएका व्यक्तिहरू हुन् । उनीहरू प्रौढ अवस्थाबाट पनि उँभो लाग्दै गरेका हुन्छन् । प्रायस् उनीहरू जीवनको उत्तरार्ध शान्तिपूर्वक व्यतीत गर्न चाहन्छन् । उनीहरूका आधारभूत आवश्यकता गाउँका सामान्य मानिसका भन्दा अलि बढी र उन्नत हुन्छन् नै । यदि उनीहरूका ती आवश्यकता सरकारले पूरा गरिदिने हो भने धेरैजसो गाउँमा गएर शान्तिपूर्वक बस्न नै रुचाउँछन् । त्यसका लागि सामान्यतया यस्ता सुविधाको विकास गरिनु आवश्यक छ स्
यातायातको सुविधा स् हाम्रा ग्रामीण क्षेत्रमा बाटाघाटाको सुविधा छैन । हिमाली वा पहाडी क्षेत्रको त के कुरा, तराईका सुगम भेकमा पनि बाटो सहज पाइँदैन । हिउँदमा धुलो भरिने बाटाहरू पनि बर्खा भएपछि पैदलसमेतै हिँडिसङ्क्नु हुँदैनन् । यातायातका साधन राम्ररी चल्दैनन् । यदि राम्ररी बाटाघाटाको सुविधा भए त्यस्ता बुद्धजीवीहरू उतै गाउँमा बस्न रुचाउँथे । यसबाट ग्रामीण क्षेत्रको रौनक नै अर्कै हुने थियो ।
स्वास्थ्यसुविधा स् ग्रामीण क्षेत्रमा अस्पत्ताल त छँदै छैनन् । स्वास्थ्य चौकी भनिएकाहरूमा सामान्य सिटामोल पनि पाइँदैन भने नजिकै ठुला अस्पत्ताल नहुनु र सहरी अस्पत्तालमा पुग्न कठिनाइ पर्नाले बिरामी हुँदा उपचार दुरुह नै हुन जान्छ । स्वास्थ्यसुविधा उपब्ध गराउन सके उनीहरू निश्चिन्ततापूर्वक आफ्नै गाउँठाउँमा बस्न रुचाउँथे ।
बिजुली तथा टेलिफोनको सुविधा स् अझै पनि मुलुकका सर्वत्र भागमा बिजुलीको सुलभता छैन । धेरै ठाउँमा बिजुली पुगेकै छैन भने पुगेका ठाउँमा पनि बिजुलीको स्थायित्व छँदै छैन । यता टेलिफोन वा मोबाइल सबैतिर चल्दैन । अहिलेको समयमा यी साधनबिना जीवन असम्भवजस्तै छ । सहज रूपमा यिनको उपभोग गर्न पाए सहरमा कष्टकर जीवन बिताइरहेको एउटा तप्का गाउँको अफ्नै बासस्थान फर्कन राजी हुने थियो ।
इन्टरनेटको सुविधा स् इन्टरनेट हाम्रो जीवनको अभिन्न हिस्सा भइसकेको छ । इन्टरनेटबिनाको जीवन कल्पनाबाहिर भएको छ । हालमा अवकाशित जीवन बिताइरहेकाहरू इन्टरनेटको प्रयोग नगरी बस्न नसक्ने हुन्छन् । उनीहरूमा देशविदेशको नवीनतम जानकारीको आवश्यकता बोध भइरहने हुनाले त्यसमा आफूलाई अपडेट राखिरहनुपर्दछ । ग्रामीण क्षेत्रमा यस्तो सुविधा हुने हो भने शान्त वातावरणमा बस्न को नरुचाउलान् १
लेखन–पठन तथा पुस्तकालयको व्यवस्था स् शिक्षित व्यक्तिहरूको मुख्य खुराक बौद्धिक खुराक हो । उनीहरू लेखपढ अत्यधिक रुचाउँछन् । पत्रपत्रिका, पुस्तक पढ्नु उनीहरूको दैनिकी बन्छ । यदि गाउँमा यी कुराको व्यवस्था गरेर शिक्षित व्यक्तिहरूलाई त्यता आकर्षण गर्न सके उनीहरू त्यहाँ रमाउन र आफ्नो प्रतिभालाई सिर्जनशील बनाइरहन पाउँछन् । यो अत्यावश्यक कार्य अत्यन्त जरुरी देखिन्छ ।
पार्क, बगैँचा, धार्मिक केन्द्र तथा मनोरञ्जनको व्यवस्था स् पाको उमेरका व्यक्तिका लागि मनोरञ्जन, शान्ति र धार्मिक वातावरणको आवश्यकता बढी नै बोध हुन्छ । समान उमेरका मानिसहरू जम्मा भएर आपसी भावना साट्ने, विरह पोख्ने, नयाँ पुस्तालाई सल्लाह प्रदान गर्ने तथा मनोरञ्जन लिने गर्नका लागि तदनुसारको वातावरण आवश्यक पर्दछ ।
कसले गर्ने स्
माथि उल्लेख गरिएअनुसारका समेत अन्य कार्यलाई व्यवस्थित गरेका खण्डमा ग्रामीण क्षेत्रको विकास त सुनिश्चित हुन्छ नै, गाउँबाट पलायन हुने अवस्थामा पनि कमी आउनेछ । यस लेखको खास उद्देश्यचाहिँ गाउँबाट सहर पसेर जागिर खाएका र अवकाशपछि उतै बस्नेहरूका लागि कसरी आफ्नै थातथलामा फर्काउने भन्ने बारेमा केही दृष्टन्तसहितका सुझाव प्रस्तुत गर्नु हो । यस्ता कार्यको दीर्घकालीन योजना र नीति सङ्घीय सरकारले तय गर्नुपर्ने देखिन्छ । तिनको कार्यान्वयन भने स्थानीय गाउँ वा नगरपालिकाले गर्दा आफ्ना क्षेत्रको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, स्थानीय आवश्यकता र अनुकूलताका आधारमा गर्नपर्ने देखिन्छ । जसरी भए पनि बौद्धक र अनुभवी व्यक्तिलाई आकर्षपण गरी आफ्नो सम्पत्तिका रूपमा ग्रहण गर्ने हो भने निश्चय नै दुवै पक्षका तर्फबाट ग्रामीण क्षेत्रलाई प्राकृतिक अवस्थामै विकसित सहरी सुविधा दिई सौन्दर्य बढाउन सकिनेमा दुईमत नरहला । अस्तु १
२०८० जेठ ५ सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर