शिक्षा क्षेत्रमा सूर्यविनायक नगरपालिकाको उदाहरणीय कार्य


बैशाख १०, २०८०, आइतबार | विहान ०४:२८ बजे | 5


शिक्षा क्षेत्रमा सूर्यविनायक नगरपालिकाको उदाहरणीय कार्य

अधिकांश सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने गर्छ । तर, भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा यो अभ्यास सम्भवतः पहिलो हो । 

विज्ञहरूको मूल्यांकनका आधारमा २९ सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको योग्यताक्रम सूची सिफारिस भएको शिक्षा शाखा प्रमुख रत्न कटुवालले बताए । ‘कार्यविधिका आधारमा निवेदन दिने शिक्षकहरूबीच प्रतिस्पर्धा गराएर मेरिट सूची सिफारिस भएको छ,’ उनले भने, ‘कार्यपालिकाले विद्यालय तोकेर नियुक्ति दिन्छ ।’ छनोट र नियुक्तिका लागि नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि २०७९ स्वीकृत गरेको थियो । ‘नगरपालिकाको संलग्नताबिनै मूल्यांकन समितिले प्रअ बन्न चाहने शिक्षकको अवस्था अध्ययन गर्‍यो,’ उनले भने, ‘सय पूर्णांकमा मूल्यांकन गरी मेरिट सूची आएको छ, त्यहींबाट नियुक्ति गरिनेछ ।’
२९ प्रधानाध्यापकका लागि आधारभूत तहमा २२ र माध्यमिकमा १४ गरी ३६ जना योग्यता सूचीमा समावेश भएका छन् । शिक्षकहरूले एक सय पूर्णांकमा ७२ देखि ४९ सम्म अंक प्राप्त गरेका छन् । नगरपालिकाले नियुक्तिका लागि गत फागुन २६ मा विज्ञापन गरेको थियो ।

नगरप्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको गुणस्तर सुधारर्न योग्यता, क्षमता भएका व्यक्तिलाई निष्पक्ष ढंगले जिम्मेवारी दिन लागिएको बताए । ‘प्राविको शिक्षक, माविको प्रअ हुने अवस्था थियो । त्यसलाई रोक्न पनि ५ वर्षे विद्यालय सुधार योजना मूल्यांकन गरेर विद्यालयको जिम्मा दिन लागेका हौं,’ उनले भने, ‘नियुक्ति भएकाको कार्यकाल ५ वर्षको हुनेछ ।’ नियुक्त प्रअलाई संघीय सरकारले उपलब्ध गराएको बाहेक नगरपालिकाले दिँदै आएको भत्तालाई दोब्बर गरिने कार्यविधिमा उल्लेख छ ।

सूर्यविनायक नगरपालिकाले प्रतिस्पर्धीसँग विद्यालय विकास प्रस्ताव, शिक्षण गर्ने विषयको तीन वर्षको नतिजा विवरण, विद्यालय नेतृत्वसम्बन्धी अनुभव माग गरेको थियो । शैक्षिक योग्यता, तालिम, अध्यापन नतिजालाई ३० पूर्णांक तोकिएको थियो । विद्यालय विकास प्रस्तावका लागि ३०, प्रस्तुतीकरण र छलफलमा २० र अन्तर्वार्तामा २० गरी एक सय पूर्णांक कायम गरिएको थियो । प्रस्तावको मूल्यांकन गर्ने विज्ञ टोलीमा शिक्षाविद्हरू मनप्रसाद वाग्ले, विनय कुसियत, विष्णु कार्की, सुशासन आचार्य र प्रमिला राजभण्डारी सदस्य थिए ।

Comments