शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ? (विज्ञप्तिसहित)
बैशाख ३, २०८०, आइतबार | दिउँसो ०१:५९ बजे | 25
भक्तपुर, वैशाख ३ । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गर्दै एक विज्ञप्ति प्रकाशित गरेको छ । समाजका अध्यक्ष अम्बिकामान मानन्धरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– “सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्दछ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो । विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले उक्त निवृत्तिभरण निकासा नगर्दा निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएका छन् । सेवा निवृत्त शिक्षक समाज यस विषयमा सरकारको ध्यानाकर्षण गर्दै शिघ्रातिशीघ्र शिक्षकहरूको निवृत्तिभरण निकासाको लागि सरकारस“ग हार्दिक अपिल गर्दछ ।”
विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाट पल्टेकै हो भन्ने प्रश्न गर्दै अगाडि भनिएको छ– ‘यदि टाट पल्टेकै भए शिक्षकहरूको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? के शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ?’
सरकारबाट शिक्षकहरूलाई विभेदपूर्ण व्यवहार नगरियोस् र निवृत्तिभरण यथाशीघ्र निकासा गरियोस् भन्दै विज्ञप्तिमा समाजको यो आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न कुनै पनि स्थितिको जवाफदेही सरकार स्वयम् हुने चेतावनी पनि दिइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...