निशानदेवी मिडियाद्धारा ७५ जनासञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान


भदौ २२, २०७७, सोमबार | दिउँसो ०१:३० बजे | 30


काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयमा अग्रपंक्तिमा रहेर समाचार संकलनमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान गरिएको छ ।
निशानदेवी मिडिया प्रालिले सोमबार ‘सुरक्षा सामग्री वितरण’ कार्यक्रमको आयोजना गरी कोरोना भाइरसबाट सुरक्षित हुँदै समाचार संकलन गर्न विभिन्न सञ्चार माध्यममा आबद्ध ७५ जना सञ्चारकर्मीलाई प्रेस ज्याकेट, मास्क, ग्लोब्स र भाइजर (फेस सिल्ड) प्रदान गरेको हो ।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्वअध्यक्ष छिरिङ राप्के लामाको पहलमा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, महासचिव छोन्जोम लामा, ढोक्प्य किदुग अमेरिकाका सदस्य दावा शेर्पा, सञ्चारकर्मी मुकुन्द सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कांग्रेसका युवा नेताहरु ज्ञालन थापा, शिव ढकाल, टकबहादुर रुवाली र एनआरएनए अमेरिकाका युवा संयोजक विनोद रुवालीले अमेरिकाबाट व्यक्तिगत रुपमा आर्थिक सहयोग पठाएको रकमबाट किनिएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव विष्टले व्यक्तिगत सुरक्षा अपनाउँदै आफ्नो दायित्व पूरा गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारको पेशागत सुरक्षाको माग गरे ।
सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरुलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखेका छन् । राज्यले सञ्चारकर्मीहरुलाई सञ्चारकर्मीजस्तो व्यवहार नगरेको बताउँदै राज्यले वास्ता नगरेपनि आफैं सुरक्षित हुँदै जनताको लागि सही सूचना सम्प्रेषण गर्ने दायित्वमा सम्झिएर उत्रिन देशभरिका पत्रकारहरुलाई आग्रह गरे ।
उनले आजसम्म झण्डै १ सय जनाभन्दा बढि सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भैसकेको उल्लेख गर्दै यस्तो बेलामा जोगिएर काम गर्नुपर्ने धारणा राखे । उनले कोरोना सुरु भएयता करिव २ हजार पत्रकार वेरोजगार हुनुपरेको जानकारी दिए ।
‘कोभिड–१९ सँगै सञ्चार क्षेत्रमा लगानी र रोजगारीको हिसावले चुनौती थपिएको छ, पत्रकार तथा सञ्चारकर्मीहरु पेशागत र आर्थिक रुपमा र कोभिड–१९ बाट पनि सुरक्षित छैनन’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले सञ्चार क्षेत्रलाई विशेष संरक्षणको नीति ल्याउनुपर्ने आवश्यकता छ ।’
उनले कोभिड–१९ सँगै मिडिया सञ्चालक र त्यहाँ कार्यरत पत्रकार तथा सञ्चारकर्मी बीच पेशागत सुरक्षा लगायतका विषयमा विवाद देखिएको भन्दै समाधानका लागि सरकारको महत्वपूर्ण भुमिका हुने बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिकाप्रति सरकारले वेवास्ता गरेको गुनासो गर्दै सञ्चार क्षेत्रको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने महासचिव विष्टको भनाइ छ ।
‘कोभिड–१९ को समयमा कसरी सुरक्षित साथ रिपोटिङ गर्ने भन्ने विषयमा महासङ्घको समन्वयमा डब्लुएचओले भर्चुअल तालिम सञ्चालन गर्ने भएको छ, त्यसमा सहभागिताको लागि सबैलाई अपिल गर्दछु’ उनले भने ।
रिपोर्टर्स क्लब नेपालका सभापति अध्यक्ष ऋषि धमलाले सञ्चारकर्मीहरु कसैको लहैलहैमा नलगाी सही सुचना प्रवाह गर्ने काममा खटिनुपर्ने बताए । उनले रिपोर्टर्स क्लब सबै सञ्चारकर्मीहरुको पक्षमा रहेको र सधैं पत्रकारहरुको हित चाहेको विश्वास दिलाए । उनले निशान मिडिया प्रालिका अध्यक्ष बराइलीले राम्रो काम गरेको भन्दै हृदयदेखि नै धन्यवाद व्यक्त गरे ।


निशान न्यूज डटकमका प्रदान सम्पादक तथा नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले कोभिड–१९ को समयमा पनि अग्रपंक्तिमा रहेका जनतालाई सूचना दिने पत्रकारको सुरक्षाको लागि सुरक्षा सामग्री प्रदान गरिएको जानकारी दिए ।
उनले देशभरिका पत्रकारहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जनतालाई सुसुचित गर्ने काममा आफूलाई सक्रिय राख्न आग्रह गरे । विदेशमा रहेर पनि नेपाली सञ्चारकर्मीहरुको समस्या बुझेर सुरक्षा सामाग्री वितरणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले कोरोना संक्रमणबाट बढि प्रभावित जिल्लाहरुमा पनि यी स्वास्थ्य–सुरक्षा सामग्री प्रदान ग्िने बताए ।
सो पत्रकार सम्मेलनको सञ्चालन निशान न्यूज डटकमकी उप–सम्पादक शोभा अर्यालले गरेकी थिइन् भने स्वागत मन्तव्य सुरज गौतमले राखेका थिए ।

Comments