ख्वपका पत्रकारिताका विद्यार्थी सञ्चारग्राममा


चैत ६, २०७९, सोमबार | विहान ११:५५ बजे | 25


ख्वपका पत्रकारिताका विद्यार्थी सञ्चारग्राममा

काठमाडौं । ख्वप मावि देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले सोमबार काठमाडौंस्थित सञ्चारग्रामको अवलोकन भ्रमण गरेका छन् । एयरपोर्ट नजिक रहेको सञ्चारग्राममा रहेका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा कक्षा १२ का दुर्जन विद्यार्थी सहभागी थिए । 
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिए । त्यसैका लागि काउन्सिलले आचारसंहिता बनाउनेदेखि त्यो आचारसंहिता कार्यान्वयन भएको छ कि छैन भनी अनुगमन गर्ने काम निरन्तर गरिरहेको उनले बताए । आचारसंहिताको पालना नगर्ने सञ्चारमाध्यम पत्रकारलाई सचेत पार्ने काम पनि गर्दै गरेको उनले बताए । 
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलको इतिहासवारे चर्चा गर्दै उसले गर्दै आएका काम, कर्तव्य अनि अधिकारबारे विद्यार्थीलाई जानकारी गराए । त्यस अवसरमा उनले पत्रकार मर्यादित भए पत्रकारिता मर्यादित हुने बताए । 
यसैगरी नेपाल पत्रकार महासंघको भ्रमणमा महासंघका सचिव अमृता अर्यालले पत्रकारिताको भविप्य सुनौलो रहेको बताइन् । मिहेनत गर्नेहरुका लागि पत्रकारिता एउटा उचित पेशा भएको भन्दै पत्रकारले इमान्दारितापूर्वक काम गर्नुपर्ने खाँंचो औल्याइन् । कार्यक्रममा पत्रकारिता शिक्षक कृष्ण किसीले पत्रकारलाई व्यवहारिक ज्ञान दिन नियमित भ्रमण गराउने कार्यक्रम अन्तर्गत सञ्चारग्रामको भ्रमण गराएको बताए । अवलोकन भ्रमणको क्रममा विद्यार्थी दुवै कार्यालयका विभिन्न कामहरुकोबारेमा अवलोकन गरेका थिए । 

Comments