दीर्घ सेवा गर्ने शिक्षकहरूको सम्मान


फाल्गुन १७, २०७९, बुधबार | विहान ०७:४० बजे | 25


दीर्घ सेवा गर्ने शिक्षकहरूको सम्मान

भक्तपुर। आदर्श आजाद मा. वि. को ६३ औँ र आदर्श आजाद कलेजको १४ औँ वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा स्थानीय भेलुखेलमा सम्पन्न भयो ।
उक्त समारोहमा प्रमुख अतिथि बिजुक्छेँले भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावक र विद्यार्थीको आकर्षण बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भवनअनुसार विद्यार्थी र विद्यार्थीअनुसार शिक्षकको सङ्ख्या हुनुपर्ने बताउँदै सरसफाइको संस्कार विद्यार्थीकालमा नै बसाल्नुपर्ने हुँदा कक्षाकोठाको सफाइ विद्यार्थीहरूलाई गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षामा प्रगतिको निम्ति निरन्तरको चिन्तन आवश्यक छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले देशको शिक्षा श्रमसित नजोडिँदा शैक्षिक योग्यता बढेसँगै समाजमा शैक्षिक बेरोजगार बढ्दै गएको र वैदेशिक रोजगारले युवा जनशक्ति विदेशतिर मासिँदा देश युवाविहीन स्थितिमा पुगेको छ भन्नुभयो ।
उहाँले शासक दलहरूको फोहोर राजनीतिको दुष्प्रभाव शिक्षामा पनि परेको चर्चा गर्दै नेपालका विश्वविद्यालयहरू बन्द हडताल भइरहने र विदेशी विश्वविद्यालयको सम्बन्धन खुलेका कलेजहरू नियमित सञ्चालन हुनु शिक्षामा नवउदारवादको ज्वलन्त उदाहरण हो भन्नुभयो ।
नवउदारवादी शैक्षिक माफियाहरूकै कारणले ख्वप विश्वविद्यालय सञ्चालन गर्न नदिएको उल्लेख गर्दै उहाँले संविधानअनुसार कक्षा १२ सम्म सरकारले शिक्षा निःशुल्क गर्नैपर्छ भन्नुभयो ।
समारोहका सभापति एवम् भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरका सामुदायिक स्कूलहरूमा विद्यार्थीको सङ्ख्या बढ्दो हुँदा अब शिक्षक दरबन्दी थप्नुपर्ने, अनुगमन र निरीक्षणको व्यवस्था आगामी दिनमा गरिने बताउनुभयो । प्रविधिमा आउने परिवर्तनले समाजका हरेक क्षेत्रमा प्रभाव पार्ने भएकोले अहिले गुगलदेखि च्याटजीपीटीसम्म आइपुग्दा यसले हाम्रो शिक्षण सिकाइमा नयाँ बहसलाई जन्माएको पनि उहाँले बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन एकाइको विपद् उत्थानशील विद्यालय परियोजनाको तर्फबाट नवनिर्मित भवन स्कूललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ं २ स्तरीय संयुक्त परीक्षा समितिका प्रतिनिधि एवम् बासु मा. वि. का प्राचार्य अम्बिका न्याइच्याई, आदर्श आजाद स्कूलका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
परियोजनाका वरिष्ठ इन्जिनियर उद्धव नेपालले भवनको साँचो प्रमुख अतिथि बिजुक्छेँमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र प्रअ श्रीकृष्ण किसीलाई हस्तान्तरण गर्नुभएको थियो । साँचो हस्तान्तरणपश्चात् प्रमुख अतिथि बिजुक्छेँले नवनिर्मित भवन रिवन काटेर उद्घाटन गर्नुभयो ।
समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण, दीर्घ सेवा गर्ने शिक्षकहरूको सम्मान र गरीब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

Comments