ईशावास्योपनिषद् – एक परिचर्चा


पुष २६, २०७९, मङ्गलबार | विहान ११:१४ बजे | 40


ईशावास्योपनिषद् – एक परिचर्चा

डा इन्दुल केसी
प्रारम्भ
शुक्ल यजुर्वेद संहिताको चालिसौँ अध्यायको नाम ईशावास्योपनिषद् हो । वेद र उपवेदहरुपछि वेदकै अंशको रुपमा उपनिषद्लाई मानिन्छ । उपनिषद्को बारे धेरै विद्वान् लेखकहरुले यसको व्याख्या र विवेचना गरी लेखिएका संस्कृत भाषा, हिन्दी भाषा, नेपाली भाषा, अङ्ग्रेजी भाषालगायताका अनेकौँ पुस्तकहरु पाइन्छन् । यसको शाब्दिक अर्थ हो उप+नि+षद्=उपनिषद्् हो । उपनिको अर्थ निष्ठापूर्वक वा दृढतापूर्वक अध्ययन गर्नु र षद् भनेको परमात्मालाई प्राप्ति गर्नु हो भनिन्छ । शाब्दिक अर्थ गुरूद्वारा शिष्यलाई सँगै बसेर बताउने रहस्य हो । यसले अद्वैतको उपदेश र आत्मविद्याका तङ्खवहरुको उपदेश दिन्छ ।
विशुद्ध तङ्खवज्ञानको निरूपण गर्ने वेदको ज्ञानकाण्डलाई उपनिषद्् भनिन्छ । वेदको निष्कर्षलाई बताउने हुनाले यसलाई वेदान्त पनि भनिन्छ । जीव र ब्रह्मको एकता नै उपनिषद्को विषय हो । दुःखको सम्पूर्णतया निवृत्ति र परम आनन्दको प्राप्ति नै उपनिषद््को प्रयोजन हो । त्यसैले ब्रह्मलाई बुझ्न चाहनेहरुले उपनिषद्को अध्ययन गर्नुपर्छ । उपनिषद्हरु सनातन धर्मका मूल आधार हुन् । सम्पूर्ण ज्ञानका स्रोत निराकार अज्ञेय ईश्वर नै यसका प्रणेता मानिन्छ । ईश्वरको अनुग्रह र प्रेरणाले ऋषिमुनिहरुका माध्यमबाट प्रकट भए । तिनीहरु धर्मका प्रवक्ता मानिन्छन् । सुरूमा उपनिषद्हरुको सङ्ख्या ११८० रहेको मानिन्छ । तर कालान्तरमा मानिसहरुको स्मृतिबाट हराउँदै गए । वर्तमान समयमा १०८ ओटा उपनिषद्हरु मात्र भेटिन्छन् । त्यसमा पनि विषय वस्तुको गहनता र महत्वको आधारमा हिजो आज १० ओटा उपनिषद्हरु मात्र चलनचल्तीमा रहिआएको देखिन्छ ।

उपनिषद्् र यो टिप्पणीकारको सन्दर्भ
म (यस लेखका टिप्पणीकार) सन् १९७५ मा इङ्लान्ड (बेलायत) को बर्कसायर रेडिङ विश्वविद्यालयमा पोष्ट ग्य्राज्युएट डिग्रीको लागि अध्ययनरत विद्यार्थी थिए । त्यस विश्वविद्यालयको मूल प्रवेशद्वारमा एक अङ्ग्रेज पहरेदार (पाले) ले म नेपालबाट आएको विद्यार्थी भन्ने चिनेर उहाँले मलाई अङ्ग्रेजी भाषामा लेखिएको एउटा किताब उपहार दिनुभयो । त्यो किताब भक्ति वेदान्त स्वामी प्रभुपादज्यूले लेख्नुभएको १२९ पृष्ठ रहेको ईशावास्योपनिषद् थियो । मैले त्यो किताब त्यसै बेला पढेको थिए । तर त्यसलाई मैले राम्ररी बुझ्न सकिँन । म नेपालमा फर्किसकेपछि उपनिषद््को बारेमा लेखिएका विभिन्न किताबहरु पढ्न थालेँ र आज यो लेख तिनै किताबहरुको आधारमा तयार गरेको छु । उपनिषद्् विषयका विभिन्न ऋषिमुनि, दार्शनिक, लेखकहरुको नाम चर्चा गर्दा सर्वप्रथम जगतगुरू श्रीशङ्कराचार्यको नाम लिन चाहन्छु । उहाँले खासगरी १० ओटा उपनिषद््हरु १) ईश २) केन ३) कठ ४) प्रश्न ५) मुण्डक ६) माण्डुक्य ७) तैत्तरीय ८) ऐतरेय ९) छान्दोग्य १०) वृहदारण्यक रहेका छन् । यो लेखमा म पहिलो एउटा ईशावास्योपनिषद्मा मात्र सङ्क्षिप्त रुपमा चर्चा गर्न लागेको छु ।

मन्त्र
मन्त्रको सम्बन्धमा वैज्ञानिकहरुको विचार यहाँ सान्दर्भिक लागेर एउटा किताबबाटा उद्धृत गरी यहाँ जोड्न खोजेँ । विज्ञान न्यूरो साइन्ससँग सम्बन्धित छ । स्नायु विज्ञानले दिमागको व्यवहार र कार्यसँग केकस्तो सम्बन्ध छ ? भनी खोजी गर्छ । मन्त्रको प्रयोगले दिमागको गतिमा स्वाभाविकता ल्याउँछ । व्यक्तिको शारीरिक, मानसिक तथा आत्मिक अवस्थाअनुसार मिल्दो मन्त्र जुल्दो जप गर्नुपर्छ । विभिन्न विषयका अलग–अलग मन्त्रहरु छन् । जस्तै गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्र, धन, स्वास्थ्य, सफलता, रोगमुक्ति, दीर्घायुको लागि तान्त्रिक मन्त्र हुन्छन् । पौराणिक मन्त्रहरु जोसुकैले पनि जपे हुन्छ । मन्त्र तरङ्ग ९ध्बखभ० सँग सम्बन्धित हुन्छ अर्थात् कम्पनसँग सम्बन्धित हुन्छ । तान्त्रिक मन्त्र, वैदिक, सनातनी परम्पराका तन्त्रहरु हुन्छन् । विज्ञानी शब्दमा तरङ्ग अध्यात्म विज्ञान ९ख्ष्दचबलत क्उष्चष्तगब िक्अष्भलअभ० हो । यसले शरीरको तान ९ीययmरँष्दचभ० लाई क्रियाशील बनाउँछ । तन्त्र साधना गर्दाको ध्यानले रक्तचाप, कोलोस्टेरोल, तनाव, डिप्रेसनजस्ता कुराहरु हराउँछ । दिमागलाई क्रियाशिल बनाउँछ ।
मन्त्र उद्धृत ः “पुख्र्यौली विज्ञान” – प्रा. डा. विद्यानाथ कोइराला, महेश–संस्कत–गुरूकुलम्–रामानन्द अनुसन्धान केन्द्र 

शान्तिपाठ
कुनै पनि काम गर्नुअघि सर्वप्रथम शान्ति प्रार्थना गर्ने प्रचलन छ । यसअनुरुप यो पाठ यहाँ समावेश भएको पाइन्छ । 
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। 
ॐ शान्तिः शान्तिः शान्तिः ।
ॐ त्यो परब्रह्म पूर्ण छ र यो कार्यबह्म पनि पूर्ण छ; किनभने पूर्णबाट पूर्ण नै उत्पत्ति हुन्छ । तथा प्रलयकालमा पूर्ण (कार्यब्रह्म)को पूर्णत्व लिएर (आपूmमा लीन गरी) पूर्ण (परब्रह्म) नै बाँकी रहन्छ । यो त्रिविध तापको शान्ति हो ।
प्रथम मन्त्र
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृथः कस्य स्विद्धनम् ।।१।।
मानिसले कुनै कुराको लोभ नगरी त्यागको भावनाद्वारा नै आफूलाई संसारको आशक्तिबाट जोगाउनुपर्दछ । यो सम्पूर्ण संसार परमात्माकै हो भन्ने विचार गरी लोभलाई नष्ट गर्नुपर्छ । यो मन्त्रले निवृत्ति मार्गका अनुयायीहरुको लागि मार्ग निर्देशन गर्दछ ।
दोस्रो मन्त्र
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः ।
एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।२।।
सम्पूर्ण संसारमा त्यागपूर्वक हामीले आत्मदृष्टि लगाउनुपर्दछ । त्यसो गर्न नसक्नेले निष्काम कर्मको अनुष्ठान गर्नुबाहेक संसारमा कल्याणको अर्को कुनै तेस्रो बाटो छैन । यस मन्त्रले सकाम र निष्काम दुवै थरी प्रवृत्ति धर्मको निरूपण गरिएको छ ।
तेस्रो मन्त्र
असुर्या नाम ते लोका अन्धेन तमसाऽऽवृताः ।
तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ।।३।।
अज्ञानी व्यक्ति जन्मिने, मर्ने यो भौतिक शरीरलाई नै आफू भन्ने ठान्दछ । जन्म र मृत्युसँग म पनि जन्मेँ र मरेँ भन्दछ । यो मन्त्रले त्यस्ता आत्मघाती पापीहरुको लागि अज्ञानमय सुँगुर, कुकुर आदि योनिमा जन्म लिने बताइएको छ र अज्ञानीहरु बारम्बार संसार चक्रमा पिल्सिरहन्छन् ।
चौथो मन्त्र
अनेजदेकं मनसो जवीयो नैनद्देवा आप्नुवन् पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्वा दधाति ।।४।।
आत्मालाई इन्द्रियहरुले भेट्टाउन नसक्ने र त्यसकै आधारमा जगत्को व्यवस्था चल्ने कुरा यहाँ बताइएको छ । आत्माकै सत्ता एवम् चैतन्यलाई पाएर सम्पूर्ण सूक्ष्म शरीरका अभिमानी ती हिरण्यगर्भले सम्पूर्ण ब्रह्माण्डभरि आफ्नो शासन चलाउँछन् भनी आत्मतङ्खवको बारे वर्णन गरिएको छ । 
पाँचौँ मन्त्र
तदेजति तन्नैजति तद् दूरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः ।।५।।
आत्मतङ्खव वास्तविक रुपमा अचल भए पनि विभिन्न प्राणीहरुको रुपमा त्यही चल्दछ । प्राणीहरुको इन्द्रियले भेट्न नसक्ने भएकोले त्यो टाढाभन्दा टाढा छ, तर हृदयभित्रै साक्षीरुपले रहेकाले त्यो अत्यन्त नजिक पनि छ । सम्पूर्ण प्राणीहरुको भित्र त्यही छ र विश्व ब्रह्माण्डको सीमाभन्दा बाहिर पनि त्यही तङ्खव व्याप्त छ ।
छैठौँ मन्त्र
यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति ।
सर्वभूतेषु चात्मानं ततो न विजुगुप्सते ।।६।।
जुन व्यक्तिले सम्पूर्ण प्राणीहरु आफूभित्र छन् र ती सबै प्राणीहरुभित्र आफू नै छु भन्ने अनुभव गर्दछ, त्यो व्यक्ति सर्वस्वरुप बन्दछ । आफूभन्दा भिन्न कोही नभएकोले उसले कसैलाई घृणा गर्दैन ।
सातौँ मन्त्र
यस्मिन्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।।७।।
सबैतिर एउटै आत्मतङ्खवलाई देख्ने व्यक्तिका लागि सम्पूर्ण प्राणीहरु आफूभन्दा अभिन्न नै हुन्छन् । यस प्रकार आफ्नो वास्तविक स्वरुपलाई साक्षात्कार गरिसकेपछि ज्ञानी व्यक्तिका शोक र मोह कुनै पनि रहँदैनन् ।
आठौँ मन्त्र
स पर्ययाच्छुक्रमकायमव्रणमस्नाविरं शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्वीभ्यः समाभ्यः ।।८।।
स्वयम् प्रकाश आत्मतङ्खवमा शरीरको सम्बन्ध छैन । त्यसमा नाडी, नसा र घाउ चोटपटकहरु छैन । त्यो सर्वज्ञ छ र मन, इन्द्रिय आदिको सबैको मालिक हो । यो मन्त्रले आत्माको निरूपाधिक, निर्विशेष स्वरुपलाई बताइएको छ । सूक्ष्मभन्दा सूक्ष्म र व्यापकभन्दा पनि व्यापक भएको आत्मज्ञानको रहस्य उद्घाटन गरिएको छ । कर्मयोगलाई उपासनासहित गर्नुपर्छ ।
नवौं मन्त्र
अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्यायां रताः ।।९।।
सबै सकाम कर्महरु अज्ञानमय छन् । अज्ञानमय कर्मको अनुष्ठान गर्ने व्यक्तिहरु बारम्बर अज्ञानमय संसारमा फसेका हुन्छन् ।
दशौं मन्त्र
अन्यदेवाहुर्विद्ययान्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१०।।
देवोपासनाद्वारा देवभावको प्राप्ति र सकाम कर्मद्वारा पदार्थ भोगहरुको प्राप्ति गरी अलग–अलग फल प्राप्त हुने व्यवस्था शास्त्रहरुले गरेका छन् ।
एघारौँ मन्त्र
विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह ।
अविद्ययां मृत्युं तीत्र्वा विद्ययामृतमश्नुते ।।११।।
जुन व्यक्तिले कर्म र उपासना यी दुवैलाई साथसाथै अनुष्ठान गर्दछ, त्यो व्यक्तिले धर्मद्वारा दरिद्रता, असक्षमताजस्ता मृत्युलाई टार्दछ भने देवोपासनाद्वारा देवभावरुपी अमृतलाई प्राप्त गर्दछ ।
बाह्रौँ मन्त्र
अन्धं तमः प्रविशन्ति येऽसम्भूतिमुपासते ।
ततो भूय इव ते तमो य उ सम्भूत्यां रताः ।।१२।।
अव्यक्त प्रकृतिको उपासना गर्ने व्यक्तिहरु प्रकृतिमा लीन हुन्छन् । तिनीहरु अज्ञानमय संसारभन्दा माथि उठ्न सक्दैनन् । कार्य ब्रह्म हिरण्यगर्भको उपासना गर्ने उपासकहरुले अनेक सिद्धि र ऐश्वर्यहरु प्राप्त गर्ने कारणले झन् बढी अहङ्कारले ग्रस्त भई अन्धकारमा पिल्सिन्छन् ।
तेह्रौँ मन्त्र
अन्यदेवाहुः सम्भवादन्यदाहुरसम्भवात् ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१३।।
कार्यब्रह्म हिरण्यगर्भको उपासनाबाट अनन्त ऐश्वर्य र सिद्धिरुपी फल प्राप्त हुन्छ । अव्यक्त प्रकृतिको उपासनाबाट प्रकृतिलयको अवस्था प्राप्त हुन्छ । दुई थरी उपासनाको रहस्य विद्वान्हरुले बताउने गरिन्छ ।
चौधौँ मन्त्र
सम्भूतिं च विनाशं च यस्तद्वेदोभयं सह ।
विनाशेन मृत्युं तीत्र्वा सम्भूत्यामृतमश्नुते ।।१४।।
सम्भूति भनेको कार्यब्रह्म र असम्भूति भनेर त्यसको कारण भएको प्रकृति र व्याकृत हिरण्यगर्भको उपासना सँगसँगै गर्नुपर्ने विधान गरिएको छ ।
पन्ध्रौँ मन्त्र
हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखम् ।
तङ्खवं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ।।१५।।
उपासकले आफ्नो उपास्य देवतासँग प्रार्थना गरिएको छ । यस मन्त्रलाई विष्णु, रूद्र देवी आदि सगुण ब्रह्मको उपासकले गरेको प्रार्थनाको रुपमा लिएको छ । कार्यब्रह्म हिरण्यगर्भको उपासना र सगुण ब्रह्मया परमात्माको उपासना गरी दुवै थरी भावमा प्रस्तुत मन्त्रको अर्थ गर्न सकिन्छ ।
सोह्रौँ मन्त्र
पूषन्नेकर्षे यम सूर्य प्राजापत्य व्यूह रश्मीन्समूह ।
तेजो यत्ते रुपं कल्याणतमं तत्ते पश्यामि योऽसावसौ पुरुषः सोऽहमस्मि ।।१६।।
प्रजापतिका पुत्र सूर्यलाई आह्वान गरी सूर्य मण्डल अभिमानी चेतन र यो शरीरभित्र अवस्थित चेतन म एउटै हो ।
सत्रौँ मन्त्र
वायुरनिलममृतमथेदं भस्मान्तं शरीरम् ।
ॐ व्रmतो स्मर कृतं स्मर व्रmतो स्मर कृतं स्मर ।। १७।।
शरीर त्याग गरेपछि मेरो आत्मा लोक–लोकान्तरमा नगई यहाँ समष्टि वायुमा मिलोस् र शरीर पनि भष्म भई यही सकियोस् । ओम्कारको उचारण गरी मैले जीवनभरि उपासना गरेका, हे परमात्मा ! अब तिमीले अनुग्रह गरी ज्ञान प्रदान गर्ने आफ्नो कर्तव्यलाई सम्झ । हे आत्मा ! मेरो साधना र आफ्नो कर्तव्य दुवैलाई नबिर्स ।
अठारौँ मन्त्र
अग्ने नय सुपथा राये अस्मान्विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नमः उक्तिं विधेम ।।१८।।
हे अग्निदेव ! हामीले जीवनभरि गरेका उपासनाका विशिष्ट फलहरु भोग्नको लागि हामीलाई हिरण्यगर्भको लोकसम्म पु¥याऊ ।


सन्दर्भ सामग्री
१) भक्ति वेद्धान्त स्वामी प्रभु पाद –  ‘ईशावास्योपनिषद्’
२) ‘१०८ उपनिषद्’, डायमंड पाकेट बुक्स, नयाँ दिल्ली, भारत 
३) डा. स्वामी रामानन्द गिरी– ईशादि दश उपनिषद््
४) प्रा. शिवगोपाल रिसाल – ‘ईशावास्योपनिषद्’
५) ‘ईशावास्योपनिषद्’ – गीताप्रेस, गोरखपुर
६) कल्याण मासिक पत्रिका, उपनिषद्् अङ्क – गीताप्रेस, गोरखपुर
७) प्रा.डा. विद्यानाथ कोइराला – पुख्र्यौली विज्ञान
       

Comments