हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास


पुष २०, २०७९, बुधबार | विहान १०:२२ बजे | 35


हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर शिलान्यास

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि बुधबार शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सा“स्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताउनुहुँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
हनुमानघाट परिसर यहाँका जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल भएको बताउनुहुँदै उहाँले यस ठाउँको सुधारको लागि नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको बताउनुभयो ।
भक्तपुर धार्मिक पर्यटनको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको ठाउँ हो भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले धार्मिक स्थल व्यवस्थापनमा पनि विशेष पहल गर्दै आएको र सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिलाई नै जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर धेरै मठमन्दिरहरु भएको ठाउँ हो र जीर्ण अवस्थामा रहेका सम्पदाहरुको पुनःनिर्माण क्रम जारी रहेको बताउनुहुँदै मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक र भौतिक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सदस्य  जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पार्नुहुँदै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुनःनिर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा ७ का वडा सदस्य हेरा ख्याजू र उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम दुवालले पनि मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments