भोलि खौमामा मेथडको हस्ताक्षर अभियान


पुष १५, २०७९, शुक्रबार | दिउँसो ०३:१९ बजे | 30


भोलि खौमामा मेथडको हस्ताक्षर अभियान

भक्तपुर । परम्परागत घर निर्माणमा वन्देज लगाइएको भन्दै भक्तपुरमा यसविरुद्ध अभियान सुरु हुने भएको छ । आफनै गाउँंठाउँंका श्रोतसाधनहरुको प्रयोग गरी परम्परागत घर निर्माण गर्न पाउनुपर्ने मागसहित यहाँं अभियान थाल्न लाािगएको हो । 
मेथड कन्सल्टेन्सी लान्चाफल्चा कमलविनायक भक्तपुरले यसका लागि शनिबार भक्तपुरमा हस्ताक्षर अभियान थाल्ने जनाएको छ । भक्तपुरको खौमामा विहान हस्ताक्षर अभियान चलाउन लागेको जनाएको हो । 
मेथड कन्सल्टेन्सी लान्चाफल्चा कमलविनायक भक्तपुरका प्रमुख इन्जिनियर तुल्सीलाल बासुकलाले भूकम्पपछि नेपाल सरकारले मौलिक नेपाली शैलीको घर निर्माणमा बन्देज लगाएको बताए । मौलिक चिनारी झल्कने घर निर्माणमा सर्वसाधारणको रुचि त घटेकै छ, त्यसमा पनि सरकारले नियोजित रुपमा बन्देज लगाएको छ, उनको आरोप छ । सरकार आफैंले यस्ता घर नबनाउने त भइहाल्यो सर्वसाधारणले वनाउन चाहे बनाउन नपाएको दुःखेसो उनको थियो ।
२०७२ सालको भूकम्पपछि सरकारले परम्परागत घर बनाउन पाउने व्यवस्थासहितको डिजाइन छ तर परम्परागत घर बनाउँंदा दुई तल्ला भन्दा वढी बनाउन पाइँंदैन । यही कारण वढीमा दुई तल्ला बनाउन चाहे मात्रै परम्परागत घर बनाउन पाइने व्यवस्था नेपाल सरकारको छ । 
इन्जिनियर बासुकलाले भने, दुई भन्दा वढी तल्ला बनाउन त पाइन्छ भन्ने छ तर दुई तल्ला भन्दा वढीको नक्सा लिएर गयो भने एनलाइसिस (घरको बलियोपनासहितको इन्जिनियरिग मापदण्ड) लिएर आउन भन्छ, उनले भने, जबकि यसको कुनै व्यवस्था नै गरेको छैन । 
डण्डी, सिमेन्टसहितको ढलानको घर बनाउन चाहे एनलाइसिस गर्न सकिने व्यवस्था भएको तर परम्परागत घर बनाउनका लागि त्यसको एनलाइसिस गर्न नसिकने भएकाले परम्परागत घर बनाउन एक हिसावले बन्देज नै लगाइएको जनाइएको छ ।
आर्किटेक्ट सृजना प्रजापतिका अनुसार पढाईको क्रममा इन्जिनियरिंगका विद्यार्थीलाई परम्परागत घरको एनलाइसिस गर्न नै पढाई हँदैन । यस्तो अवस्थामा परम्परागत घरको एनलाइसिस नै गर्न नसकिने अवस्था रहेको उनको भनाई छ । 
नेपाली मौलिकस्वरुपको घर बनाउने कालिगढ र निर्माण सामग्री पाउन पनि कठिन छ । बस्तीहरु विदेशी शैलीमा ठडिएका छन् । समयले कोल्टे फेरेसँगै समाजमा बस्ने मानिसको रहन–सहन पनि परिवर्तन हुनु अस्वाभाविक होइन । तर, सर्वसाधारणले पनि आफ्नो देशको परम्परा र कला–संस्कृति नै बिर्संदै जानु र सरकार झन त्यसमा आक्रमक हुनु राम्रो नभएको कलाप्रेमीहरुको भनाई छ । 
घर निर्माणको नेपालको आफ्नो छुट्टै मौलिक एवं विशिष्ट परम्परा छ । तर, पछिल्लो दशक परम्परागत शैलीको घर निर्माण गर्ने चलन ह्वात्तै घटेको छ । भएका पुराना व्यक्तिगत र सरकारी भवनहरु पनि जीर्ण हुँदै, मासिँदै गएका छन् ।
नेपाली कला झल्कने घरहरुको संरक्षणतर्फ न सरकार न व्यक्तिगत कसैको पनि चासो देखिँदैन । आममानिस परम्परागतभन्दा विदेशी शैलीको घर निर्माणतर्फ आकर्षित हुँदैछन् ।
सर्वसाधारणले नेपाली शैलीलाई बिर्संदै गएपनि सरकारीस्तरबाट यसको संरक्षण हुनुपर्ने हो । तर, अहिले निर्माण हुने कुनै पनि सरकारी कार्यालयमा नेपाली मौलिकपनलाई ध्यान दिएको पाइँदैन । पर्यटकीय र सांस्कृतिक क्षेत्रमा एकाध परम्परागत शैलीका घर बन्ने गर्छन् । तीनले नेपालीपन जोगाउनसक्ने देखिँदैन । आधुनिक डिजाइनका घर बनाउँदा खर्च कम लाग्ने हुँदा सर्वसाधारणको आकर्षण त्यतैतिर देखिन्छ । सरकार भने परम्परागत शैलीलाई जोगाउनेतर्फ आफ्नो ध्यान गएको दाबी गरिरहन्छ । सरकारले मौलिकता झल्कने घरको निर्माणकार्यलाई प्रोत्साहन र प्राथमिकता दिने हो भने यस्ता घर निर्माण गर्नसकिने भनाई छ । सहरका मुख्य चोक, पर्यटकीयस्थल र प्राचीन बस्तीहरुमा परम्परागत नेपाली शैलीका घर निर्माण गर्न सरकारले प्रोत्साहन गर्ने हो भने विदेशीमाझ हाम्रो चिनारी पस्कन सकिने थियो । केही नगरपालिकाले परम्परागत शैलीका घर निर्माणमा अनुदान उपलब्ध गराउनसमेत थालेका छन् । तर, त्यति प्रयासलेमात्र पुग्ने देखिँदैन ।


Comments