यो वर्षको शालीनदी मेला पुस २२ देखि ः यस्तो छ तयारी
पुष १५, २०७९, शुक्रबार | दिउँसो ०१:२७ बजे | 75
साँंखु । काठमाडौंको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना लाग्ने मेलामा यो वर्ष तीसदेखि ३५ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ । यतिसंख्यामा शङ्खरापुर नगरपालिकास्थित शालिनदीमा बाह्य तथा आन्तरिक हिन्दुधर्मावलम्वीले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । शालिनदी मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुने छ ।
पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ । यो मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने जनाएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको जनाएको छ ।
श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गरी मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनुका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने जनायो । समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको जनाए । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण श्रेष्ठ अध्यक्ष बनेको कार्यक्रममा संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिए ।
साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको विश्वास छ ।
मेला क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको छ । मेलाको एक हप्तादेखि नै वर्तालुले पूजा पाठ सुरु गर्छन् । यो व्रतलाई कठिन व्रत मानिन्छ । व्रतालुले एक छाकमात्र खान्छन् । जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ । यो बेला व्रतालुले सात्विक भोजन गर्छन् ।
व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ ।
मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । मेलाका लागि आवश्यक अन्य सहयोग पनि नगरपालिकाले गर्ने वचन दिएको उनको भनाइ छ ।
मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।
स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ । साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ ।