नेकमा हावाबाट विजुली निकाल्न अनुसन्धान गरिने
पुष १४, २०७९, बिहीबार | दिउँसो १२:५५ बजे | 20
भक्तपुर । हावाबाट विजुली निकाल्न सकिने तथ्य पता लागे पनि नेपालमा अझैसम्म पनि हावाबाट विजुली निकालेर उपयोगमा ल्याउन सकिएको छैन । यही अवस्थालाई मध्यनजर गरी यसबारे थप अध्ययन अनुसन्धान अगाडि बढाउन भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हावाबाट विजुली निकालिने भएको छ । जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले उपलव्ध गराएको उपकरणहरुको प्रयोग गरी यहाँं डेमोको रुपमा हावाबाट विजुली निकाल्न लागिएको हो । यसका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु विहीबार एक कार्यक्रमवीच कलेजलाई हस्तान्तरण गरिएको छ ।
कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नेपालमा हावाबाट विजुली निकाल्न सभ्भाव्यता अध्ययनलाई थप बजबुद बनाउन यहाँं डेमोको लागि हावाबाट विजुली निकाल्न लागिएको जनाए । यसका लागि कलेज भबनको छतमा यो प्रविधि जडान गर्न खोजिएको छ । कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुलाई प्रेरणा दिई उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजको भबनमा र कलेजसँंग सम्वन्वय गरी यो कार्य गरिएको जनाएको छ । साथै विद्यार्थीलाई पनि यस प्रविधिकोबारेमा जानकारी गराई थप अनुसन्धानमा सहयोग गराउने उद्देश्य कलेजको छ ।
यसका लागि संस्था र कलेजवीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ र जापानको जेइएसए संस्थाका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले हस्ताक्षर गरेका छन् ।
उपलव्ध सामानहरु जोडेर केही दिनभित्रै विजुली निकालिने कलेजले जनाएको छ । यस अनुसन्धानबारे विद्यार्थीलाई पनि कक्षामा अभ्यास गराइने कलेजले जनाएको छ ।
जनाइए अनुसार कलेज भबनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसको बेगबाट विजुली स्टोर हुनेछ । त्यही स्टोर भएको विजुलीबाट आवश्यकता अनुसार विजुलीको प्रयोग गरिने छ । जनाइए अनुसार यसबाट पाँंच सय वाटको विजुली उत्पादन हुने छ ।
जापानका लागि नेपाली फ्रेण्डशिप एम्वेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो । हावाबाट पनि विजुली उत्पादन सम्भब छ र यसै प्रविधिबाट नेपालमा पनि विजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा गर्न खोजिएको जनाइएको छ । नेपालका विभिन्न ठाउँंहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट विजुली उत्पादन गर्ने योजना अगाडि वढाउन यसो गरिएको जनाइएको छ ।
बताइए अनुसार हावाबाट विजुली निकाल्नका लागि सबैभन्दा पहिला फरक–फरक स्थानहरुमा कम्तीमा २ वर्ष हावाको बहाबको अध्ययन गरी तथ्यांक निकाल्नुपर्छ । सो तथ्यांक विश्लेषणबाट दैनिक, मासिक र वाषिर्क औसतमा कुन–कुन ठाउाहरुमा प्लान्ट राख्न सकिन्छ भन्ने पहिचान हुन्छ । त्यसपछि सम्भाव्यता भएका ठाउहरुमा आयोजनाको डिजाइन तयार गर्न र आयोजनाको प्रतिफलसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न कम्तीमा वर्ष दिन लाग्छ ।
डीपीआर तयार भइसकेपछि उत्पादक कम्पनीलाई उत्पादनका लागि सरकारले इजाजत दिन्छ । त्यसपछि मात्रै कम्पनीले प्लान्टहरु राखेर विजुली उत्पादन गर्ने प्रक्रिया सुरु गर्छ । प्लान्ट जडान गरेर बिजुली उत्पादन गर्न ६ महिना लाग्छ ।
हावाबाट विजुली निकाल्नका लागि सम्भाव्यता अध्ययन गर्नेे विश्वको सबैभन्दा प्रचलित मोडेल मेसो स्केल मोडेल हो । यस अन्तरगत भूउपग्रहमार्फत १० वर्षको तथ्यांक लिएर विश्लेषण गर्ने प्रचलन छ । उक्त तथ्यांकलाई प्राविधिकरुपमा पुष्टि गर्न २ वर्ष परिक्षण गर्नुपर्छ । नेपालमा अहिलेसम्म यस्तो अध्ययन नै भएको छैन ।
नेपाल जलस्रोतको धनी देश भएकाले उर्जाका लागि जलविद्युतमा बढी भर पर्नु स्वभाविक भए पनि वैकल्पिक उर्जालाई पुरै उपेक्षा गर्नु भविष्यका लागि खतरापूर्ण हुने विज्ञको कथन छ । त्यसैले उर्जा सुरक्षाका लागि स्रोतहरुको विविधिकरण गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।