सत्ताका लागि जनतालाई धोका दिनेहरु राजनीतिक अपराधी
पुष १३, २०७९, बुधबार | विहान ११:३३ बजे | 45
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले आफूहरु सरकारमा नगई प्रमुख प्रतिपक्षमा रहने स्पष्ट पारेका छन् । सेवा निबृत शिक्षक समाजले बुधबार भक्तपुरमा आफूहरुको सम्मानमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।
केन्द्रका साथै संघीय सरकारमा पनि नजाने सुवालले बताए । पार्टीबाट संघीय संसदमा सुवाल एक्लै छन् । पार्टीबाट बागमति प्रदेशमा भने तीन जना सांसदहरु छन् । सुरेन्द्रराज गोसाई प्रत्यक्ष र सृजना संैजू तथा गीता काफ्ले समानुपातिक गरी बागमति प्रदेशमा पार्टीबाट तीन जना सांसद छन् । त्यसो भए पनि बागमति प्रदेशमा पनि प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।
निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा वस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाई थियो । ठूला दलहरुले चुनाव अगाडि एउटा गठबन्धन बनाई प्रतिवद्धता जारी गर्ने र चुनावपछि जनताले त्यही प्रतिवद्धतालाई कदर गरी दिएको मतको अवज्ञा गरी अर्काे गठबन्धनको सरकार बनाउनु सरासर राजनीतिक बेइमानी भएको उनको आरोप छ । उनले ठूला दलहरुले जनता भनेको केही पनि होइनन्, हामी जे गर्छाै जनताले स्वीकार्छन् भन्ने दम्भका साथ काम गरिरहेको आरोपसमेत लगाए ।
कार्यक्रममा बागमति प्रदेशका सांसदहरु गोसाई, सैंजू र काफ्ले तीन नै जनाले प्रतिवद्धता एउटा गरेर चुनाव जित्ने अनि चुनाव जितेपछि अर्काे गठबन्धन गएर सतागठबन्धन बनाउन राजनीतिक अपराध भएको बताए । त्यस्ता अपराधीलाई जनताले कारबाही गर्नुपर्ने माग उनीहरुको थियो । उनीहरुले संसदमा जनताको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहने प्रतिवद्धता व्यक्त गरे ।