रानीपोखरी पुर्ननिर्माणको अनुगमनमा मन्त्री र मेयर
भदौ १२, २०७७, शुक्रबार | दिउँसो ०३:३२ बजे | 35
काठमाडौ । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएकोे छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिदै भन्नुभयो, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’
मेयरसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो । ‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । यो पोखरीको पुर्ननिर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’ उहाँले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुर्ननिर्माण सम्पन्न हुनु गौरवको कुरा भएको बताउनुभयो ।
रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुर्ननिर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताउनुभयो । ‘ काठमाडौँ महानगरपालिकालगायत सबैले पूर्ण सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि सबैको सहयोगको अपेक्षा गर्दै हामीले कामको थालनी गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘पौराणिक महत्वको पुरात्वात्कि ठाउँमा पुर्ननिर्माण गर्ने काममा हामीलाई अनुकुल वातावरण प्राप्त भएकै कारण यो अवस्थासम्म आएका हौँ ।’
उहाँले काठमाडौँको मौलिकतालाई पुर्नर्जिवन दिने काम भैरहेको पनि जानकारी दिनुभयो । ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुर्नर्निमाण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौँ । ०५६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो । मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो ।’