भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखनसम्बन्धी अभिमुखीकरण
मंसिर २६, २०७९, सोमबार | विहान ११:४८ बजे | 35
भक्तपुर । भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखन र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण दिइएको छ । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐनकानूनको व्यवस्थाबारे जानकारी दिन उक्त अभिमुखीकरणको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा भएको अभिमुखीकरणमा स्रोतव्यक्तिहरु अधिवक्ता कपिल अर्याल र सञ्चारकर्मी जनराज सापकोटाले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा अधिवक्ता अर्यालले मानव बेचविखनमा पर्ने र बालबालिका पीडित हुने विविध कारणबारे चर्चा गरेका थिए । उनका अनुसार बालबालिकालाई पीडित हुनबाट मात्र नजोगाई उनीहरुमाथि अपराध हुन नदिन, पीडामा परेपछि क्षतिपूर्तिको व्यवस्था, समाजमा पुनःस्थापनालगायतमा सञ्चारकर्मीहरुले ध्यान दिनुपर्छ ।
‘सञ्चारकर्मीहरुले पीडित बालबालिकाको जीवन र विकास, संरक्षण, सहभागिता र सर्वोत्तम हितका कुरामा उत्तिकै ध्यान दिनुपर्छ’, अधिवक्ता अर्यालले भने, ‘कुनै पनि बालबालिका पीडित हो होइन अदालतले फैसला गर्छ । तर, ब्रेकिङको नाउँमा पीडितको गोप्यता र पारिवारिक सुरक्षालाई बेवास्ता गर्न मिल्दैन ।’
उनका अनुसार बाल संरक्षणमा अहिले स्थानीय सरकारलाई बढी जिम्मेवार बनाइएको छ । तर, यससम्बन्धमा स्थानीय तहको क्षमता विकास र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नदिएको अधिवक्ता अर्याल बताउँछन् ।
‘अहिले स्थानीय तहहरुमा बालमैत्री वडा र पालिका घोषणा गर्ने होडबाजी नै चलेको छ’, उनले भने, ‘तर, उक्त वडा र पालिकामा ऐनकानूनअनुसार बाल संरक्षण समिति गठन भएको हुँदैन । बाल संरक्षण अधिकारी नियुक्त गर्ने र तोक्ने कामसमेत भएको पाइँदैन ।’
सञ्चारकर्मी सापकोटाले वैदेशिक रोजगारी, कलाकारितालगायतका नाउँमा मानव बेचविखन तथा ओसारपसारका घटना बढिरहेको जानकारी दिए । यस्तो कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको उनको भनाइ छ ।
मानव बेचविखन तथा ओसारपसार हुने संख्यामा बालबालिकाको संख्या अत्यधिक हुने गरेकाले सबै पक्ष संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।
अभिमुखीकरणको उद्घाटन गर्दै भक्तपुर जिल्ला समन्वय समितिकी उपप्रमुख सुजाता बाडेले जिल्लामा मानव बेचविखनका घटना कममात्रै हुने गरेको बताइन् । उनले भक्तपुरका चार नपामध्ये चाँगुनारायण नगरपालिकाले बाल श्रममुक्त घोषणा गरिसकेको जानकारी दिँदै अन्य नपाले पनि विभिन्न गतिविधिहरु गरिरहेको सुनाइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव सञ्जीव घिमिरेले पत्रकारहरुले हरेक विषयमा सचेत र संवेदनशील भएर रिपोर्टिङ गर्नुपर्ने धारणा राखे ।