लुमन्तिले यसवर्षको आवास क्याटागोरी अन्तर्गतको Transformative cities people's choice award 2021-2022 हासिल गर्न सफल
मंसिर २६, २०७९, सोमबार | विहान ०९:३७ बजे | 50
लुमन्ति आवासको लागि सहयोग समुहले यस वर्षको आवास क्याटागोरी अन्तर्गतको Transformative cities people's choice award 2021-2022 हासिल गर्न सफल भएको छ। सन् २०२२ डिसेम्बर ९ तारिख, शुक्रबारका दिन एमस्टरड्याममा सम्पन्न अवार्ड घोषणा समारोहमा उक्त घोषणा गरिएको हो।
Transformative cities people's choice award 2021-2022 का लागि लुमन्तिले काठमाडौं महानगरपालिकासंगको सहकार्यमा सन् २००५ मा कार्यान्वयन गरेको किर्तिपुर समृद्ध आवास परियोजनाका विषयमा विस्तृत जानकारी पेश गरेको थियो।
Transformative cities ले हरेक वर्ष उर्जा, खाद्यान्न, खानेपानी तथा आवास क्याटागोरीमा तिन तिन वटा परियोजनालाई फाइनलिष्टका रुपमा छनौट गरि अन्तर्राष्ट्रिय बहुआयामिक ब्यक्तित्वहरुको समूहको सहभागितामा विजयता घोषणा गर्दै आएको छ।
अवार्ड कार्यक्रम अन्तर्गत नै विश्वका अनुभवी पत्रकारहरुले फाइनलमा छानिएका परियोजनाका बारेमा विशेष आलेख तयार गरि विश्व समुदाय माझ प्रकाशन गर्ने पनि गरिन्छ र हरेक क्याटागोरी अन्तर्गत एक परियोजनालाई विजयता घोषणा अनलाइन भोट मार्फत गरिन्छ।
किर्तिपुर समृद्ध आवास परियोजनाको संक्षिप्त जानकारी
सन् २००५ मा विष्णुमती लिंक रोड निर्माणको क्रममा काठमाडौंको वागमती नदि किनार धुमाखेल, टंकेश्वरी र कालिमाटी सुकुम्बासी बस्तिबाट विस्थापित भएका परिवारहरुलाई लुमन्ति आवासको लागि सहयोग समुहले काठमाडौं महानगरपालिका र अन्य सरोकारवाला निकायहरुको सहकार्यमा वास्तविक सुकुम्बासी परिवार पहिचान गरि कूल ४४ परिवारलाई किर्तिपुर स्थित पालिखेलमा आवास निर्माण गरि सफल स्थानान्तरण गरिएको थियो। किर्तिपुर समृद्ध आवास परियोजना अन्तर्गत सम्पन्न उक्त सफल स्थानान्तरण कार्यक्रम काठमाडौं महानगरपालिकाको अध्यक्षतामा स्थापना गरिएको शहरी सामूदायिक सहयोग कोष मार्फत गरिएको थियो जुन कोषमा लुमन्तिले सचिवालयको भूमिका निर्वाह गरेको थियो।