भक्तपुर काण्ड पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको


भदौ ११, २०७७, बिहीबार | दिउँसो ०१:२४ बजे | 20


काठमाडौं, भाद्र ११ । नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा राज्यस्तरबाट रचित भक्तपुर काण्ड विषयक प्रवचन कार्यक्रम अनलाइन जुममार्फत बिहिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउनुहँुदै सर्जमिन एकतर्फी गरिएको र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र ऐनकानून विपरित भएको बताउनुभयो ।
उहाँले पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरुलाई युद्धबन्दीको जस्तो दुरव्यवहार गरेको बताउनुहँुदै तत्कालिन प्रम, मन्त्रीलगायतका उच्च पदस्थहरुले नै “रोहितलाई फाँसी दे” भन्दै जुलुशमा नारा लगाउनु भत्र्सनायोग्य भएको बताउनुभयो ।
उहाँले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेको कारण त्यसलाई रोक्ने उद्देश्य लिएर षड्यन्त्र गरेको बताउदै कम्युनिष्ट पार्टीविरुद्ध बेलायत, फ्रान्स, रुस, जर्मनी, अमेरिकालगायतका देशहरुमा पनि भएको प्रष्ट्याउनु भयो ।
अध्यक्ष बिजुक्छेँले नेपालको सिमाना खुल्ला भएकाले विदेशी जासुसहरु  र पञ्चहरु नेपालका प्रमुख दलहरुमा भएको कारण शासक दलहरुले देश र जनताको सुरक्षा र सेवा गर्न नसक्ने औंल्याउनुभयो ।
उहाँले विदेशीको सहयोगमा नभई जनताको सहयोगमा क्रान्ति गर्नुपर्ने बताउनुहँुदै माओवादी पार्टीले नेपालमा गरेको उपद्रवले नराम्रो परिणाम ल्याउने औंल्याउनुभयो ।
अहिलेसम्म भारतले हाम्रो खुट्टा बाँधेको र यदि एमसिसि पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्नेछ, दुबैले तान्दा नेपालको हविगत नाजुक हनेछ, अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
नेपालमा बिग्रेको मल आयात गर्ने मन्त्रीहरुलाई फाँसी दिनुपर्ने बताउनुहँदै उहाँले ठेक्का पट्टा र गुन्डागर्दीबाट युवा–विद्यार्थीलाई टाढा राख्नुपर्ने र स्वयम्सेवक भई काम गर्न जोड दिनुभयो ।
उहाँले युवा–विद्यार्थीहरु पद–पैसाको निम्ति नभई देश र जनताको सेवा गर्नको लागि राजनीतिमा लाग्नुपर्ने बताउदै २२ हजार भन्दाबढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेकोमा विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसंघ केन्द्रीय सदस्य सरजु फसिकवाले भक्तपुर काण्डको घटनाक्रम र नेमकिपाको सङ्घर्षबारे प्रस्तुती दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ र सदस्य मिलन गणेजूले पनि बोल्नुभएको थियो ।

Comments