महेश बस्नेतको चर्चा मोह
भदौ ७, २०७७, आइतबार | विहान ०७:०५ बजे | 15
भक्तपुर ः राजनीति गर्ने र त्यसको वरिपरि रहने मानिसहरू चर्चाका लागि कतिसम्म जोखिम मोल्छन् भन्ने उदाहरण भक्तपुरमा देखिएको छ। सांसद महेश बस्नेतसहित सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरूले कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाकै बीच सप्तऋषिको मुर्ति प्राणप्रतिष्ठा र उद्घाटन गरेका छन्। भक्तपुरलगायत काठमाण्डौं उपत्यका तीन जिल्लामा भदौ ३ गते राती १२ बजेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएको छ। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको पसल समेत निश्चित समय सिमा तोकेर खोल्न पाइने व्यवस्था गरिएको छ। सर्वसाधरणलाई विना काम हिँड्डुल गरेर निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले सडकमा केही घण्टा रोकेर गरेर छाड्ने गरेका छन। जिल्ला प्रशासन कार्यालयले मेला(महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न तथा सभारजुलुस गर्न रोक लगाइएको छ भने धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन, जमघट समेत प्रतिबन्ध लगाएको छ। तर, भक्तपुरमा निषेधाज्ञाबीच नै मुर्तिको प्राणप्रतिष्ठा र उद्घाटन भएको हो। शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ४ र ७ को संगमस्थल अनन्तलिंगेश्वर महादेव परिसरमा निर्माण भएको सप्तऋषिको प्राण प्रतिष्ठासहित उद्घाटन कार्यक्रममा सांसद महेश बस्नेतसहित वडा नं. ४ का वडाअध्यक्ष कमलनाथ आचार्य, वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटालगायतका जनप्रतिनिधि र स्थानीयको सहभागी थिए । (थाहा खबर)