हामी एकसय वर्षसम्मको भक्तपुरको कल्पना गरी अघि वढेका छौं ः सुनिल प्रजापति


जेठ ३०, २०७९, सोमबार | विहान ०३:३० बजे | 10


हामी एकसय वर्षसम्मको भक्तपुरको कल्पना गरी अघि वढेका छौं ः सुनिल प्रजापति

विपक्षी सवै प्रतिस्पर्धी पार्टीहरुको जमानत नै जफत हुने गरी नगरपालिकाको पूरै टिम नै विजयी हुन सफल हुनुभयो । किन यति वढी मतदाताले तपाईको पार्टीलाई चुने होलान् ?
अहिले धेरैले राजनीतिलाई पैसा कमाउने थलो बनाउन थालेका छन् । हामी राजनीतिलाई जनताको सेवा भन्छौं । पैसा कमाउने भए राजनीतिमा नआऔं, व्यापार व्यवसायतिर लागौं, जागिर खाऔ वा अन्य केही काम गरौ भन्छौं ।
हामी राजनीतिलाई इमान्दारितापूर्वक जनताको सेवा गर्ने माध्यम भन्छौं । यही नै हाम्रो पार्टीको नीति हो । हामी पार्टीको नीति अनुसार निर्देशित हुन्छौ । पार्टीका सिपाही हामी पार्टीको नीति निर्देशन अनुसार चल्छौं ।
जनसुकै पार्टीबाट जितेर आए पनि जित पछि साझा व्यक्तित्व बन्छ । हामी सवै जनताको मेयर हुन्छौं । यस हिसावले हामी विना भेदभाब सवैलाई समान व्यवहार गर्छाै । कसैलाई पनि भेदभाव गर्दैनौं ।
हामी जनताको लागि जनतालाई नै परिचालित गरेर काम गर्छाै । आत्मनिर्भर हुन सिकाउँंछौं । परनिर्भर हुन हुँंदैन भनेर काम गर्छाै ।  
जहाँंसम्म भक्तपुर नगरपालिकाको कुरा छ, नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले भक्तपुर नगरपालिकालाई शिक्षा, स्वास्थ्य, सरसफाई, सम्पदा संरक्षणमा देशकै नमूना नगर बनाएका छन् । घोषणापत्रमा उल्लेख गरी जनतालाई दिएका वाचा एकएक गरेर पूरा गरेका छौं । यस अर्थमा हामीलाई जनताले विश्वास गरे र अत्याधिक बहुमतका साथ पुनः नेमकिपाबाट हामी विजयी हुन सफल भयौं ।
यहाँं यस अगाडिको कार्यकालको पनि मेयर हुनुहुन्थ्यो । अगाडिको कार्यकालमा केके काम गर्नुभयो ? केके गर्न बाँंकी भए र अव केके गर्ने योजनामा हुनुहुन्छ ?
अघिल्लो कार्यकालमा हामीले विशेष गरेर शिक्षा, स्वास्थ्य, सम्पदा पुननिर्माण, सरसफाईलगायतलाई विशेष प्राथमिकता दिएर काम ग¥यौं । यस अनुसार हामीले सञ्चालन गरेका कलेजहरुमा विभिन्न विषयहरु थप गरयौं ।
शिक्षा क्षेत्रकै कुरा गर्दा हामीले शैक्षिक श्रृण दिन सुरु गरयौं । चाहेर पनि पढन गाह्रो भएका विपन्न परिवारका लागि हामीले पाँच लाखसम्मको शैक्षिक श्रृण दिन सुरु गरयौं । यस अनुसार हामीले तीन सय १४ जनालाई शैक्षिक श्रृण उपलव्ध गराइसकेका छौं ।
देशका लागि आवश्यक जनशक्ति देशभित्र उत्पादन गर्न हामीले विभिन्न विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रबृतिको व्यवस्था गरयौं । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा मात्र वार्षिक तीन करोडसम्म छात्रबृति दिएका छौं । देशभित्रका जुनसुकै कलेज विश्वविद्यालयहरुमा अध्ययनरत भक्तपुर नगरभित्रका विद्यार्थीलाई उच्च शिक्षाका लागि हामी शैक्षिक ऋण प्रदान गर्दछौं । राजनीतिशाश्त्र, भूगोल, संस्कृति, नेपालभाषा अनि इतिहासका लागि उच्च शिक्षा पढन चाहने नगरभित्रका विद्यार्थीलाई हामी छात्रबृति दिन्छौं । यसका लागि हामीले चलाएका कलेजमै पढनुपर्छ भन्ने होइन, देशभित्रका जुनसुकै कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई हामी यो छात्रबृति दिन्छौं ।
स्वस्थ्यतर्फ कुरा गर्ने हो भने हामीले ख्वप अस्पताल सञ्चालनमा ल्यायौं । यहाँं दैनिक सात सय भन्दा वढीले कम शुल्कमा स्वास्थ्य सुविधा पाइरहेका छन् । एवीवीएस उतीर्ण चिकित्सकहरुबाट ५० रुपैयाँंमा सेवा दिइरहेका छौं भने विशेषज्ञ डाक्टरहरुबाट ८० रुपैयाँंको टिकट शुल्कबाट सेवा दिइरहेका छौं । साथै हामीले घरदैलो नर्सिग सेवा दिइरहेका छौं । यस अनुसार वडावडामा नर्सहरु खटाइरहेका छौं । ती नर्सहरु आआफनो वडावडामा गरी नगरभरिका घरहरुमा नर्सहरु पुगेका हुन्छन् ।  
यसबाहेक पनि हामीले श्वासप्रश्वास पुनः स्थापना केन्द्र, नगरस्तरीय आर्युवेदिक सेवा केन्द्र सञ्चालन गरेका छौं । च्याम्हासिंहमै आँखा केन्द्र सञ्चालनमा छ । यसले नगरबासीको स्वास्थ्य उपचारमा सहजता आएको छ ।
सम्पदातर्फ हामीले भूकम्पले क्षति पुगेको एक सय २४ वटा सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेका छौं । दर्जनौ सम्पदाहरु पुननिर्माणाको क्रममा छन् ।
अबको कार्यकालमा हामीले पूरा नभएका यी सम्पदाहरुको पुननिर्माण गर्नेछौ । यसको साथसाथै भक्तपुरको ९९ चोक उत्खनन् गर्ने योजना छ । जग्गननाथ क्षेत्र उत्खनन गर्न बाँंकी छ । दरवार क्षेत्रमै रहेको राष्ट्रिय कला संग्रहालय रहेको भबन पुननिर्माण गर्नु छ ।
सडक सुधार, डिजिटल सेवा दिन अनलाइन नक्सा पास, कर दस्तुर तिर्ने वन्दोवस्तलाई अगाडि वढाउनु छ । समग्रमा सवै सेवा सुविधालाई पहिला भन्दा प्रभावकारी रुपमा गर्ने छौं ।
ख्वप अस्पताल पनि सञ्चालन गर्नुभएको रहेछ । यसबारे केही खुलाई दिनुहोस् न ।
पहिला हामीले भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा जनस्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका थियौं । त्यसलाई अहिले विस्तार गरी हामीले ख्वप अस्पताल सञ्चालन थालेका छौं त्यही ठाउँंमा । अहिले हामीले त्यसका लागि नजिकै बनाउन थालेको एउटा विशाल भबन पनि पूरा हुने चरणमा छ । २५ शैश्याको अस्पताललाई भर्खरै एक सय बेडको अस्पताल सञ्चालन अनुमति पाएका छौं ।
अहिले हाम्रो अस्पतालमा दैनिक सात सय वढीले कम शुल्कमा स्वास्थ्य सेवा पाइरहेका छन् । बिशेषज्ञ डाक्टरबाट चेकअपका लागि प्रतिव्यक्ति ८० र सामान्य एमवीवीएस डाक्टरबाट सेवा लिनका लागि ५० रुपैयाँंको कम टिकट दर राखेका छौं ।
अस्पतालमा ३५ वढी डाक्टरहरु छन् । डाक्टर कर्मचारीहरु गरी १ सय ३५ जनाले सेवा दिइरहेका छन् । कोरानाको अवस्थामा विरामीले पूर्ण रुपमा निशुल्क स्वास्थ्य उपचार गरेका थियौं । जनताको आर्थिक सहयोगमा अक्सिनज प्लान्ट स्थापना गर्न सफल भएका थियौ । जनताबाट उठेको पैसाबाट बनेको अक्सिजनलाई निःशुल्क रुपमा दियौं । अहिले पनि त्यो सेवा कायम नै छ ।
अहिले नजिकै ब्रम्हायणीमा रहेको बहुउद्देश्यी भबनलाई प्रसुति सेवाको व्यवस्था गर्ने गरी तयारी गरिरहेका छौ । ,
निरन्तर ख्वप विश्वविद्यालयको माग गरिरहनुभएको छ । यसबारे केही जानकारी दिनुहोस् न ।
२०५४ सालको निर्वाचनपछि भक्तपुर नगरपालिकाले २०५६ सालमा प्लस टु सञ्चालन थाल्यौं । अहिले यसले विस्तार रुप लिई सात वटा शैक्षिक संस्थाको रुपमा छ । यी कलेजहरुमा ७२ जिल्लाका सात हजार भन्दा वढी विद्यार्थी अध्ययनरत छन् । यी सवै शैक्षिक संस्थाहरुमा निजी भन्दा सस्तो दरमा अध्ययन अध्यापन गराइरहेका छौं ।
यस अर्थमा हामीसँंग विश्वविद्यालय सञ्चालनका लागि भौतिकलगायतका आवश्यक सम्पूर्ण तयारी पूरा छ । यसैको लागि संसदमा विधेयक पेश गरेका पनि धेरै वर्ष भइसक्यो । अहिले पनि सवै साँंसदहरुको हातहातमा त्यो विधयक पुगिसकेको छ । शिक्षामन्त्रीले संसदमा राखेर पास गर्नुपर्नेमा त्यो हुन सकेको छैन । यही कारण त्यो प्रक्रिया रोकिएको अवस्थामा छ ।  
यही कारण हामी पछिल्लो समय प्रदेश सरकारबाट स्वीकृति लिने प्रक्रियामा छौं । प्रादेशिक विश्वविद्यालयको अधिकार प्रदेशमा गएकोले हामी प्रदेश सरकारबाट स्वीकृति पाउने आशामा छौं । यसका लागि प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवै अवलोकन भ्रमण गरी वचन पनि दिएका छन् । अरुलाई सम्वन्धन दिन नमिल्ने गरी मानिक विश्वविद्यालय रुपमा मान्यता दिने आश्वासन पाण्डेले दिएका छन् ।  
तपाई बेलाबेलामा एमवीवीएस निकै सस्तो अर्थात् १५ लाखमा पढाउन सक्छौं भनिरहनुहुन्छ । कसरी, के आधारमा सस्तोमा पढाउन सक्नुहुन्छ । प्रष्ट पारिदिनुहोस् न ।
पहिलो कुरा हामी नाफाको लागि कलेज सञ्चालन गर्दनौं । हामीले सञ्चालन खर्च मात्रै खोजेका हौं । प्राफेसर, कर्मचारीहरुलाई तलब खुवाउन अनि उपकरण खर्चका लागि मात्रै पैसा चाहिएको हो । यस अर्थमा हाम्रो खर्च खासै हुँदैन । खर्च चाहिने भनेको भौतिक संरचना निर्माणका लागि हो । भौतिक संरचना एक पटक मात्रै बनाए पुग्ने हुन्छ ।  
तर गोविन्द केसीसँंगको सम्झौताको कारण देखाइ हामीलाई वेवास्ता गरिएको छ । अझै १० वर्षसम्म काठमाडौं उपत्यकामा सम्भब छैन भनिरहेका छन् । यसले शिक्षालाई व्यापार गरी नाफा गर्नेहरुलाई फाइदा पुग्ने छ । अर्काे कुरा हामीले कम शुल्कमै पढाउन सक्छौ भन्ने ज्वलन्त उदाहरण त हामीले सञ्चालन गरिराखेका सात वटा शैक्षिक संस्थाहरुबाट छर्लंग छ । हामीले निजी भन्दा निकै कममा इन्जिनियरिंग पढाइरहेको कुरा कसैबाट छिपेको छैन ।
शिक्षा त दिइरहनुभएको छ विभिन्न सात वटा संस्थाहरुमार्फत् । तर पढाई गरेका ती विद्यार्थीका लागि रोजगारी दिने विषयमा खासै योजना देखिंदैन । किन ?
यसका लागि हामीले विभिन्न सीपमुलक तालिम दिइरहेका छौं । चिनियाँं, जापानी, नेपाल भाषा लिपिका तालिमहरु नियमित रुपमा सञ्चालन गरिरहेका छौं ।
युवाहरुलाई लक्षित गरी डकर्मी, सिकर्मी, कुक तालिम दिइरहेका छौं । महिलाहरुका लागि हेयर कटिंग, सिलाई बुनाई तालिम चलाइरहेका छौं । किसानहरुका लागि माटो परीक्षण तालिम, नयाँंनयाँं विउ विजनबारेको तालिम सञ्चालन गरिरहेका छौं । यस अर्थमा हामी हरेक युवालाई सीपयुक्त बनाउने प्रयासमा छौं ।
तपाईहरु जहिले पनि भक्तपुरमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा परिवर्तन भयो भन्नुहुन्छ । तर जनताको दैनिक जीवनसँंग सम्वन्धित पानीको समस्या चाहिं ज्यूका त्यू नै देखिन्छ । के भन्नुहुन्छ ?
भक्तपुरमा खानेपानी समस्या नै हो । त्यसकारण हामी यसको दीर्घकालिन समाधान खोजिरहेका छौं । मेलम्चीको पानी नै यहाँंको खानेपानीको दीर्घकालीन समस्या समाधानको उपाय हो । त्यसकारण हामीले निर्वाचित भएर शपथ खाएको दिनबाट नै यसको लागि लाग्यौं । हामी लागेपछि यो सफल पनि भएको छ । मेलम्चीको पानी वितरण सुरु भएको छ । यो क्रम अव विस्तारै सुरु हुनेछ । सवैतिर पानी वितरण भएपछि समस्या समाधान हुनेछ ।
अहिलेको अवस्थामा हाम्रो खानेपानीको मुख्य आन्तरिक श्रोत नगरकोट नै हो । तर दुखको कुरा नगरकोटको पानीको श्रोत भन्दा माथि भँंगेरीडाँंडामा खेल मैदान बनाएर एमालेका साथीहरुले दुःख दिने काम गरेका छन् । हामीले यसको निरन्तर विरोध गर्दै आइरहेका छौं । पानीको श्रोत जोगाउने विषयमा केन्द्रिय सरकार पनि संवेदनशिल बन्नुपर्ने हो ।
तत्कालिन खानेपानीको समस्या समाधानका लागि हामीले ठाउँंठाउँंमा बोरिंग गरेका छौं । सल्लाघारी, गोल्मढी, बाराहीस्थान , तुमुचो दुगुरे, बाचामारीलगायतका ठाउँंहरुमा बोरिंग गरिरहेका छौ । तीमध्ये कति ठाउँंमा काम सम्पन्न भएर पानी पनि वितरण भइसकेको छ भने कतिमा काम हुँंदै छ ।
भक्तपुर किसानहरुको नगर हो । तर किसानका समस्या र समाधानकाबारेमा खासै योजना देख्दिन । किन ?
किसानहरुको पक्षमा हामीले निरन्तर काम गरिरहेका छौं । जस्तो कि विभिन्न तालिमहरु दिने । किसानका लागि कृषि प्राविधिक तालिम, माटो परीक्षण तालिम, किटनाशक औषधि प्रयोगलगायतका तालिमहरु गरिरहेका छौं । साथै कम जमिनमा कसरी अधिकतम फलाउने भन्ने विषयमा जानकारी दिइरहेका हुन्छौं । साथसाथै कौसी खेती तालिम पनि दिइरहेका छौं । समग्रमा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने काम गरिरहेका छौं ।
पछिल्लो समय नगरमा सञ्चालित देको मिवा इटापाके जग्गा एकीकरणमा विवाद देखिन्छ नि ?
नगरपालिका क्षेत्रलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने नगरपालिकाको कर्तव्य हो । यसका लागि हामीले अन्य विभिन्न कमलविनायक, लिवालि, तुमचो दुगुरे जस्तै देको मिवा इटापाके जग्गा एकीकरण आयोजना चलाइरहेका छौं ।  
त्यसमा केही जग्गाधनी साथीहरुको गुनासो रहेको छ । त्यसलाई हामीले क्रमशः सम्वोधन गर्दै आइरहेका छौं । कति किसानको समस्या समाधान पनि भइसकेको अवस्था छ । केही साथीहरुको बाँंकी पनि छ । त्यसलाई हामीले आपसी छलफल गरी टुंगाउँदै लाने नै छौ । आयोजनामा कसैलाई पनि अन्याय हुने काम हामी गर्दैनौं । अहिले जग्गा फिर्ता गर्ने क्रम पनि जारी छ ।
ठूल्ठला योजनामा विवाद आउनु, समस्या हुनुलाई अस्वाभाविक मान्न सकिन्न । छलफल वार्ता गरी टुंगाउने गर्नुपर्छ ।
आयोजना सञ्चालन गर्दा बाटोलाई नै चार सय रोपनी क्षेत्रफल अर्थात् २४ प्रतिशत भन्दा वढी गएको छ । साथै खुल्ला क्षेत्रको लागि नै ७५ रोपनी अर्थात् पाँंच प्रतिशत गएको छ । यसरी दुवै गरी सालाखाला ३० प्रतिशत जग्गा गएको छ । यसकारण योगदानको आधारमा, सुविधा प्राप्त गरेको आधारमा सुविधा प्राप्त गर्नेले योगदान पनि गर्नुपर्छ । सुविधा लिने तर जग्गा कति पनि छाडनु तयार नहुनु तर्कसंगत छैन ।
भक्तपुर नगरमा पनि विस्तारै सवारीसाधन जामको समस्याले सताउन थालेको छ नि ?
निश्चय पनि यो सत्य हो । सवारीसाधन पार्किग गर्ने ठाउँं नभए पनि जथाभावी सवारीसाधन किन्ने व्यवस्था छ । त्यस हिसावले सवारीसाधनको संख्या अत्याधिक बृद्धि छ । यसले बाटोमा जथाभावी जहाँं पनि पाकिंग गर्दा समस्या आउने गरेको छ । त्यसकारण घरमा पार्किगको व्यवस्था छ छैन हेरेर सवारीसाधन किन्न सरकारले अनुमति दिनुपर्नेे व्यवस्था गर्नुपर्ने थियो ।
यही समस्या समाधानका लागि दूधपाटी, ब्रम्हायणी, कमलविनायलगायतका ठाउँहरुमा पार्किग पनि बनेको अवस्था छ ।
तपाईहरु सय वर्षपछि भक्तपुरको पनि कुरा गर्नुहुन्छ । खास यो के हो ?
दुई दशक अगाडि हाम्रा पार्टीका श्रदय अध्यक्ष नारायणमान विजुक्छेंज्यूले सय वर्षपछिको भक्तपुरको कल्पना गरेका थिए । उनको कल्पनाको आधारमा भक्तपुर एउटा संसारकै सुन्दर नगर बन्ने छ ।
यहाँंका सवै घरहरु मैलिक शैलिको, झिंगटीले छाएको, इटा माटोबाट बनेका कलात्मक हुनेछन् । बाहिरबाट हेर्दा भक्तपुर कलात्मक सहर हुने छ
नगरका सवैतिर बाहिरी पर्यटकहरुले भरिभराउ हुने छन् । रातको समयमा सवै सार्वजनिक पाटीपौवाहरुमा भजन गाइरहने छन् । परम्परागत नाचहरु देखाइरहने छन् ।
हरेक घरमा दुईतीन वटा भाषा बोल्न सक्ने युवाहरु ह्ुने छन् । उनीहरु सवैको घर होम स्टेका रुपमा रहने छन् ।
साँंचो अर्थमा भक्तपुर नगर विहान हेर्दा प्राचीन सहर जस्तो देखिने छ । दिउँंसो हेर्दा खुला विश्वविद्यालय जस्तो देखिने छ । अनि राति हेर्दा सवैतिर झिलिमिली बतीले भरिएको कलात्मक, मौलिक घरहरुले एउटी सुन्दरी जस्तै सुन्दर देखिने छ । यो नगरभित्र सवारीसाधनहरु चल्ने छैनन् । सवै मानिसहरु पैदल हिड्ने छन् ।
नगरलाई घेर्ने वरिपरिका सवै नदीहरुमा स्वच्छ पानी सलल वग्ने छन् ।
यसका लागि हामीले विस्तार आधार बनाउँंदै लगेका छौ जस्तो कि घनावस्तीको पुरानो नगर क्षेत्रभित्र घर बनाउँंदा मौकिल शैलिको प्रारुपमा बनाउनुपर्ने बनाएका छौ । यसका लागि मोहडामा लाग्ने सवै निजी घरहरुलाई काठ, इटा, झिंगतीमा ३५ प्रतिशत खर्च नगरपालिकाले दिने व्यवस्था गर्दै आएका छौं ।
यसैका लागि हामीले निरन्तर चिनियाँं, जापानी भाषाका तालिमहरु दिैदै आएका छौं । अन्य भाषाका तालिमहरु पनि दिने योजना छ ।
पर्यटकहरुलाई स्थानीय रहनसहन, जनजीवन, चाँंडपर्वबारे बताउनसक्ने बनाउन विद्यालय तहमा स्थानीय पाठ्यक्रम लागू गरेका छौं । स्थानीय सवै चिजहरुलाई जानकारी दिने काम गरिरहेका छौ ।
तपाईले नगर घेर्ने हनुमन्ते खोलामा सफा पानी सलल वग्नेछ भन्ने परिकल्पना गर्नुभएको छ । तर यो त अहिले ढलमय छ नि ?
यसैका लागि हामीले अहिले फोहर पानी प्रशोधन केन्द्रहरु बनाइरहेका छौ । भक्तपुरको इनाचो हनुमानघाट फोहोर पानी प्रशोधन गर्ने उपचार पोखरी बनाउन टेण्डरसमेत भई निर्माणको काम प्रारम्भ भएको छ । उता सल्लाघारीमा पनि उपचार पोखरी निर्माणाधिन छ । यो वनेपछि नदीको पानी उपचार पोखरीमा पठाउने र उपचार गरी सफा भएपछि नदीमा वगाउने योजना हाम्रो हो ।
अन्तमा केही छ भने .........
हाम्रो विचार राख्ने मौका दिनुभयो, त्यसको लागि धेरैधेरै धन्यवाद ।    
नागरिक दैनिकबाट

Comments