कोरोना संक्रमितहरुको नाम सहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक


भदौ ५, २०७७, शुक्रबार | विहान ०९:३९ बजे | 35


मध्यपुर थिमि नगरभित्रका कोरोना संक्रमितहरुको नाम सहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनको तयार गरेको विश्वव्यापी मापदण्ड अनुसार संक्रमितको विवरण गोप्य हुनुपर्ने भनिए ता पनि मध्यपुर थिमि नगरभित्रका संक्रमितको नाम र ठेगानासहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
त्यो विवरण कसरी सार्वजनिक भयो भन्ने आधिकारिक निकायहरुले कुनै जानकारी दिएका छैनन् । यद्यपी उनीहरुले छानविन गरी दोषीलाई कारवाही गर्ने जनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नामसहितको विवरण सार्वजनिक भएकोबारे जानकारी नभएको बताए । उनले यसबारेमा छानविन गर्ने जानकारी दिएका छन् ।
‘संक्रमितको नाम सर्वजनिक गर्न नहुने हो । कसरी मध्यपुर थिमिको विवरण सार्वजनिक भयो छानविन गर्नेछौं,’ उनले भने । संक्रमितको नामसहितको विवरण सार्वजनिक हुनु गम्भीर लापरवाही भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् । उनले जनप्रतिनिधिहरुको सामुहिक म्यासेन्जर ग्रुपबाट सार्वजनिक भएको हुनसक्ने अनुमान गर्दै यसबारेमा छानविन हुने बताएका छन् ।
उनले भने, ‘जनप्रतिनिधिहरुको सामूहिक म्यासेन्जर ग्रुपबाट लिक भएको हुन सक्छ । यसबारेमा छानविन गरेर दोषीलाई कारवाही हुनेछ ।’ सार्वजनिक भएको विवरण अनुसार मध्यपुर थिमि नगरभित्र संक्रमितको संख्या ७४ पुगेको छ । तीमध्ये ३२ जना महिला छन् ।

Comments