भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा निगरानीको लागि कर्मचारीहरू खटाइँदै
साउन ३२, २०७७, आइतबार | दिउँसो ०२:०४ बजे | 30
भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका संक्रमितहरू समुदायस्तरमै फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश मुख्य नाकाहरूमा नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानीको लागि भदौ १ गतेदेखि नगरपालिकाका कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा पर्यटक सेवा केन्द्रका कर्मचारीहरूबीच आइतबार बसेको बैठकले नगर प्रवेश गर्ने नाकाहरूमा विशेष सावधानीका साथ नगर प्रवेश गर्नेहरूको विवरण संकलन र आवश्यक निगरानी गर्ने निर्णय ग¥यो ।
कोभिड १९ को महामारी नियन्त्रणमा समाजवादी देश र पुँजीवादी देशबीच भिन्न–भिन्न अनुभव रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले समाजवादी देशहरूमा सरकारको जनताप्रतिको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रण गर्नमा सफलता प्राप्त गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कोभिड १९ कारण देशमा सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा असर पुगेको र विषम् समयमा जनप्रतिनिधि र कर्मचारीहरूले समुदायमा कोरोना संक्रमण फैलिन नदिन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडाध्यक्ष रबिन्द्र ज्याख्वले कोरोना संक्रमितहरूको व्यवस्थापनको लागि आवश्यक आइसोलेसन कक्षको जिम्मा सरकारले लिनुपर्ने भन्दै नजिकिँदै गरेको पञ्चदान पर्व र कुशे औंसी सुरक्षित ढंगले मनाउनको निम्ति जनतालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा सल्लाघारी—नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी रहेको छ ।