विपद् व्यवस्थापन समिति बैठक ः राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्ने निर्णय
साउन २८, २०७७, बुधबार | दिउँसो ०१:२९ बजे | 30
विपद् व्यवस्थापन समिति बैठक ः राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्ने निर्णय
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगर विपद् व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा समितिको बैठक बुधबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोरोना भाइरस समुदायमा संक्रमण हुनबाट रोक्न नगरपालिका, होटल र गृह क्वारेन्टाइनको व्यवस्था गर्दै आएको र सोको व्यवस्थापनको लागि विदेशबाट आएकाहरूलाई नगरपालिकाले ९ जना कर्मचारीहरूको व्यवस्था गरिरहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले विभिन्न देशबाट हवाई मार्ग हुँदै भक्तपुर प्रवेश गरेका नगरबासीहरूको तथ्यांक अद्यावधिक गरी हालसम्म १०१ जना नगरबासीहरूलाई व्यवस्थापन गरेको बैठकमा जानकारी गराउनुभयो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका संक्रमितहरू काठमाडौं उपत्यकामा पनि दिनहुँ सयौंको संख्यामा देखिन थालेको वर्तमान अवस्थामा भीडभाड हुने कुनै पनि गतिविधि नगर्न संघीय सरकारले समेत निर्देशन दिएको सन्दर्भमा भक्तपुर नगरपालिकाका वडाहरूमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा फोटो खिच्ने अभियान हाललाई स्थगित गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय ग¥यो । साथै काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्न र अनधिकृत प्रवेशलाई पूर्णतया रोक्न नेपाल सरकारलाई अनुरोध गर्ने पनि बैठकले निर्णय ग¥यो ।
बैठकले कोभिड १९ संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू हाललाई सञ्चालन नगर्न सम्बन्धित संघीय सरकारलाई अनुरोध गर्ने, नगरपालिका प्रवेश गर्ने प्रमुख नाकाहरूमा थप कडाइ गर्न नगरपालिका, प्रशासन कार्यालय, महानगरीय प्रहरी, स्वयम्सेवक तथा सरोकारवाला संस्थाहरूको तर्फबाट एकीकृत गस्ती परिचालन गर्ने, भक्तपुर नगरपालिका क्षेत्रभित्रका सडक, गल्ली, चोक, मन्दिर र खुला ठाउ“लगायतका क्षेत्रमा वीजनासक औषधि छर्कने तथा बजार क्षेत्र, राजमार्ग र सहायक मार्ग वरपरका क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा, साइकल हटाउने र फुटपाथ पसल व्यवस्थित गर्ने निर्णय ग¥यो ।
बैठकमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ भक्तपुरलगायतका प्रतिनिधिहरूले कोभिड १९ रोकथाम नियन्त्रणको लागि अपनाउनुपर्ने उपायहरूबारे आ—आफ्नो विचार व्यक्त गर्नुभयो ।