सकियो साइकल कनेक्ट भक्तपुरको अर्धवार्षिक समिक्षा तथा पिकनिक


चैत ६, २०७८, आइतबार | विहान ०७:४८ बजे | 5


सकियो साइकल कनेक्ट भक्तपुरको अर्धवार्षिक समिक्षा तथा पिकनिक

भक्तपुर । करिब ६ महिना अगाडि “ पैदल र पैडलमैत्री शहर” भन्ने मुल भावनासगैँ अगाडि बढेको साइकल कनेक्ट भक्तपुर समूहले आफ्नो नियमित कार्यक्रम साइकन विक्लीको २५ औँ शृंखलाको अवसरमा अर्धवार्षिक समिक्षा साथै पिकनिनक कार्यक्रम आयोजना गरेको छ । चैत ५ गते शनिबारको दिन वाचु टोल, इनाचो, भक्तपुरबाट मालीगाउँसम्म बिहान साइकलिङ गर्दै मालीगाँउ हिल्स फार्म हाउमा उक्त कार्यक्रम भएको हो ।
भक्तपुरमा साइकल संस्कृति प्रवर्धन गर्न समूह गठन भएदेखि यस समूहले “अभिनव तथा सक्रिय संस्कृति, अनुशासन तथा विकास र सहयोगी मानसिकता“ लाई आफ्नो मुल मान्यताको रूपमा अंगिकार गर्दै निरन्तर रूपमा हरेक हप्ता कम्तीमा एउटा साइकल सम्बन्धि कार्यक्रम गर्दै आइरहेको छ । अहिलेसम्म भएका गतिविधिहरू समेतिएको अर्धवार्षिक समिक्षा प्रतिवेदन पेश गर्दै समूहका अध्यक्ष सुमित बालाले “न्यूनतम लगानी, अधीकतम प्रभाव”को रणनीति बनाइ १३ महिला र एक सय ७९ पुरुष गरी जम्मा एक सय ९२ जना साइकल प्रेमीलाई समूहमा जोड्न सफल भएको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा बालदेखि प्रौढसम्म सबै मानिसहरूलाई जोड्न सक्ने साइकललाई रचनात्मक ढंगले नयाँनयाँ कार्यक्रम गर्दै साइकल संस्कृतिलाई व्यापक बनाउन धेरै योजना साइकल कनेक्ट भक्तपुरसगँ रहेको बताउनुभयो । यसरी नै जोश र उमंगसहित सबै सदस्यहरू लागिपरे प्राकृतिक र सांस्कृतिक रूपमा धनी भक्तपुरलाई एक विश्वप्रख्यात सानदार पैदल र साइकल मैत्री शहर बनाउन सकिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
समूहका उपाध्यक्ष बिकेश थुसाले हालसम्मको कार्यक्रमहरूले भक्तपुरमा रहेका साइकल प्रेमीहरूलाई जोड्न सफल भएकोमा अबको दिनमा कम्तिमा भक्तपुर नगरभित्र पैदल र पैडलमैत्री वातावरण बनाउन सम्बन्धित निकायहरूसगँ छलफल गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
आफ्नो विचार व्यक्त गर्दै समूहका सचिव रिचिन दुवालले समाजिक सञ्जाल र फोटो÷भिडियोको माध्यमबाट यस समूहले देशभर आफ्नो कार्यक्रम र गतिविधि फैलाउन सफल भएकोले आउने दिनमा पनि समूहले मिडियाको सही सदुपयोग गरी युवा तथा विद्यार्थी वर्गलाई साइलकिङको माध्यमबाट स्वास्थ, अनुसाशन र वातावरणमैत्री मार्गमा अगाडि बढ्न प्रेरित गर्ने किसिमको कार्यक्रमहरू तय गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै समूहका सदस्य रितेश मचामसीले पहिले एक्लै साइकल चलाउँदा र अहिले समूह गठन गरेर विभिन्न कार्यक्रम गर्न पाउँदा आफुलाई पनि धेरै हौसला मिलेको कुरा राख्नुभयो । यस समूहको कार्यक्रमहरूमा नियमित सहभागीता जनाउने पोखरा घर भइ हाल बालकोट निवासी सुशील पौडेलले समूहको गतिविधीहरू हेर्दा यस समूह साच्चै नै आफ्नो मुल भावना र उदेश्यप्रति एक अठोटको साथ अघि बढेको देख्न सकिने र अगामी गतिविधिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
भर्खर मात्र साइकलमा मेची – महाकाली एकल साइकल यात्रा सफलताका साथ सकाउनु भएका यस समूहकी सल्लाहकार निरू चवालले महिलाहरू यस क्षेत्रमा निक्कै कम भएको तर साइकल कनेक्ट भक्तपुरको कार्यक्रमहरूमा महिला पुरुषमात्र नभइ सिकारूदेखि नियमित साइकलिष्ट सबैले भाग लिएर एक अर्काको अगाडी बढ्न टेवा पुराएकोमा खुसी व्यक्त गर्नुभयो । साथै महिलाहरूको प्राकृतिक प्रकृयालाई विचारमा राखी महिला मैत्री कार्यक्रमहरू गर्दा अझ धेरै महिलाहरू माझ समुहको गतिविधि वृद्धी गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
समूहका सल्लाहकार सुनिल ख्याजुले छोटो समयमा नै साइकल कनेक्ट भक्तपुर देशभरको साइकल सम्बन्धित अरू संस्थाहरूमाझ चिनिएको र यसरी चिनाउनमा यस समूहको प्रतिनिधित्व गरी देशभर आयोजना हुने विभिन्न साइकलिङ गतिविधि र कार्यक्रममा सहभागी हुने समुहका सदस्यहरूलाई बधाइ तथा धन्यवाद दिनुभयो । कोरोना र लकडाउनको पश्चात मानिसहरू स्वास्थप्रति अझ सजग भइ साइलिङमा आकर्षित भएको र साइकल कनेक्टको गतिविधिले अझ यसमा बढोत्तरी गर्न सफल भएकोमा भविष्यमा अझ विविध र नविन तरिकाको कार्यक्रम ल्याउन आवश्यक रहेको सल्लाहकार शिवराम तुईतुईले बताउनुभयो ।
कोरोना माहामारी साम्य हुने क्रममा रहेकोले नेपालमा विदेशी तथा स्वदेशी पर्यटनमा वृद्धी हुनसक्ने देखिएकोले दिगोपनलाई ध्यानमा राखेर साइकललाई पर्यटन र विभिन्न आर्थिक गतिविधिसगँ जोड्न सकिने विचार समूहका सल्लाहकार कृष्णभक्त दुवालले राख्नुभयो । त्यसैगरी समूहका सल्लाहकार गणेशप्रसाद दुवालले आफुले नियमित साइलिङ गर्न शुरू गरेपछि गाडीमा भन्दा साइकलमा नै घुम्न रूची बढेको साथै साइकल कनेक्टको कार्यक्रमहरूले गर्दा भक्तपुरमा धेरै लुकेका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरू घुम्ने मौका मिलेको बताउनुभयो । शुरुमा थोरै गाह्रो महशुस भए पनि नियमित साइकलिङले गर्दा स्वास्थ र आर्थिक हिसाबमा पनि फाइदा पुगेको आफ्नो प्रत्यक्ष अनुभव उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा साइकल कनेक्ट भक्तपुरको प्रतिनिधित्व गरी भक्तपुरको चिनारी लिएर देशभर विभिन्न साइकलिङ कार्यक्रम तथा प्रतियोगितामा सहभागी हुने समुहका सदस्य सुनिल सुवाल, दिपक खड्का, विकास केसी, अलिश गोसाइ, रितेश मचामसी, रियाज कर्मचार्य, निरू चवाल, पुजन शाक्य, विकास भैल, विश्वमोहन साख, साइकल केनेक्टका टप ३ राइडर्स जीवन वातांकक्षी, बिकेश थुसा, सुमित बाला तथा साइकल कनेक्टका दैनिक तथा साप्ताहिक गतिविधि आफ्नो अमूल्य ज्ञान र समय दिएर समूहलाई जीवन्त राख्न मद्दत गर्ने रियाज कर्माचार्य, निशान त्वायना, रिचिन दुवाल र निर्जला कोजूलाई समहकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । यसका साथै पिक्निक कार्यक्रममा साइकल कनेक्ट भक्तपुरले विकास गरेको नयाँ खेल सांगितिक साइलिङलगायत स्लो साइकलिङ प्रतियोगिता र साइकल बोक्ने दौड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका बिजेताहरूलाई नेपाल इको प्यानेल, जुजु बाइक्स तथा प्याङ्क बाइकको तर्फबाट पुरस्कार प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।




Comments