दर्ता समेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल


साउन २४, २०७७, शनिबार | विहान ०४:४५ बजे | 35


दर्ता समेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन विरामी तथा कर्मचारीले सरकारसंग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले सुरु गरेको अनुगमन अभियानमा समितिका संयोजक नवराज गेलालको नेतृत्वमा अस्पतालमा गएको अनुगमन टोलीसंग अस्पतालका कर्मचारीदेखि विरामीसम्मले अस्पताल सरकारले लिएर बचाईदिन आग्रह गरेको हो ।
विरामीलाई सस्तो र सुलभ उपचार दिने उदेश्यले २०५१ सालमा क्यान्सर रोग विशेषज्ञ स्व. डा. अञ्जनीकुमार शर्माको नेतृत्वमा सञ्चालिन भक्तपुर क्यान्सर केयर सेन्टरलाई नेपाल अबुद्र्ध रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पतालको नाममा सञ्चालन गर्दै आएको थियो । संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै विवाद भएपछि भक्तपुर नगरपालिकाले श्रेष्ठ नेतृत्वको समिति खारेज गरेको घोषणा गरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यबस्थापन समिति गठन भएको एकवर्ष पुगेको छ ।
त्यसपछि सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दा अझै छिनोफानो भएको छैन भने अन्यौलमा रहेका कर्मचारी भक्तपुर क्यान्सर अस्पताललाई सरकारले जिम्मा लिएर जोगाउनु पर्ने बताउछन् । अनुगमनको क्रममा जिसस प्रमुख गेलालले अस्पताल सञ्चालनमा समस्या रहेको, पारदर्शी र जवाफदेशी हुन नसकेको र साझा अस्पताल बन्न नसकेकोबारे जिज्ञासा राखेपछि अस्पतालका निर्देशक डा. ऋषिकेशकुमार श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताललाई अब सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“सरकारी जग्गामा एउटा एनजिओले अस्पताल चलाएको छ, अस्पतालमा व्यापक भ्रष्टाचार भएको कुरा उठाउँदा उल्टै हामी माथि प्रश्न ?, यो सरकारको अस्पताल हो, सरकारले जिम्मा लिओस, स्वामित्व लिओस, सरकारले अस्पताल बचाओस, अरु हाम्रो कुनै स्वार्थ छैन ।” २०५९ सालदेखि श्रेष्ठको आठ जनाको एउटै समितिले अस्पताल कब्जा गरेर व्यापक भ्रष्टाचार गर्दा पनि सरकारले वास्ता नगरेको बताउदै उहाँले अहिले अस्पताल बेवारिसे अबस्थामा सञ्चालन भइरहेको बताउनुभयो ।
“यहाँभित्र कति भ्रष्टाचार थियो, छानबिन होस, यथार्थ बाहिर आउँछ, देशभरीका २० प्रतिशत क्यान्सर विरामीको उपचार हुने यो अस्पताल भ्रष्टाचारले डुब्यो, जोगाउनु पर्यो भन्दै कर्मचारी दैलोदैलो चाहार्दै हिड्नु पर्ने ?”, निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “म डाइरेक्टर बन्नलाई भनेको होईन, अस्पताल जोगियोस, सरकारले स्वामित्व लिओस, म त भोली छाडेर जान तयार छु ।”
वर्षमा ३८ हजारसम्म विरामीको उपचार हुदै आएको, देशका अधिकांश जिल्ला र विदेशबाटसमेत उपचारका लागि विरामी आउने गरेको बताउदै उहाँले अहिले पनि दिनमा ५०० विरामी आउने गरेको र ५ वटा शल्यक्रिया नियमित भइरहेको बताउनुभयो । सरकारको सहयोग नहुदा अस्पताल अहिले आफै कमाएर बाँच्नु पर्ने भएकाले निजी अस्पतालभन्दा उपचार सस्तो भएपनि भरतपुर क्यान्सर अस्पतालभन्दा ३० देखि ४० प्रतिशत मंहगो शुल्क लिनुपर्ने बाध्यता रहेको छ भन्नुहुन्छ डा. श्रेष्ठ । सरकारी जग्गा, दाताले बनाइदिएको भवन अब अस्पताल पनि सरकारले नै सञ्चालन गरे विरामीले धेरै सहुलियतमा उपचार पाउने कर्मचारीको भनाई छ । रासस

Comments