ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक सम्पन्न
साउन २३, २०७७, शुक्रबार | दिउँसो ०२:५१ बजे | 90
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार समितिको बैठक बस्यो ।
बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक ङातापोल्हँ मन्दिरको जीर्णोद्धार कार्य भक्तपुर नगरपालिकाको आर्थिक लागतमा २०७६ कार्तिक महिनाबाट सुरु भई २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न भयो ।
साथै ङातापोल्हँ मन्दिर जीर्णोद्धार निर्देशक समितिका सदस्यहरुले उपभोक्ता समितिमार्फत लागत अनुमान भन्दा कम खर्चमा जीर्णोद्धार कार्य सम्पन्न हुनु, पर्याप्त श्रमदान र आर्थिक तथा भौतिक सहयोग प्राप्त हुनु, तोकिएको समयमा कार्य सम्पन्न हुनु, स्थानीय सीप, स्रोत र साधन प्रयोग गरी मौलिकता जोगिने गरी संरक्षण हुनु उदाहरणीय कार्य भएको बताउनुभयो ।
उक्त प्रतिवेदनमा मन्दिर संरक्षण कार्यको सिलसिलामा संरक्षण कार्य अवधिभर ज्यामी, मिस्त्री, सिकर्मी, ताम्रकर्मी र पोल्हँकर्मी समेत गरी जम्मा २,३६१ जनाले ज्यालामा काम गरेको र उक्त संख्याको करिब दोब्बर जनताले श्रमदान गरी जनताको धरोहर संरक्षण कार्यमा योगदान गरेको उल्लेख छ ।
ङातापोल्हँ मन्दिर संरक्षण कार्यको लागि पहिलो पेश्की स्वरुप रु. ३० लाख र चन्दा रकम रु.१५,४७,५६९।– गरी जम्मा रु.४५,४७,५६९।– उपभोक्ता समितिलाई प्राप्त भएकोमा व्यापक जनश्रमदान र विभिन्न महानुभावहरूले उपलब्ध आर्थिक तथा भौतिक सहयोगबाट जम्मा नगद रु.३८,७७,६२८।४१ को खर्चमा इष्टिमेट अनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको र उक्त खर्च रकम मध्ये ज्याला तर्फ २६,१७,५००।–, सामग्रीतर्फ ११,०२,४७८।४१ र भाडातर्फ १,५७,६५०।– खर्च भई बाँकी रकम रु.६,६९,९४०÷५९ भक्तपुर नगरपालिकाको पूँजीगत खर्चमा जम्मा गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।