दुई कोरोना संक्रमित भागेपछि


साउन २२, २०७७, बिहीबार | दिउँसो ०३:१८ बजे | 50


काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुन गएका दुई जना कोरोना संक्रमित भागेका छन् ।  
घटना विवरणअनुसार बुधबार दिउँसै पुगेका दुई भारतीय संक्रमित भन्नेबित्तिकै शैय्या नपाएको भन्दै  साँझपख भागेका हुन् । ‘शैय्या व्यवस्थापनको तयारी हुँदै थियो, साँझपख भागेछन्,’ अस्पतालका एक चिकित्सकले भने ।  
उनीहरू भागेको जानकारी पाएपछि अस्पालका चिकित्सक दिनभरि खोजीमा लागे । यसबारे अस्पतालले राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई पनि जानकारी गराइसकेको छ ।
 ‘भागेपछि उनीहरूबाट अरू धेरै जनालाई कोरोना सर्ने भएकाले यो जोखिमको विषय हो,’ एक चिकित्सकले भने ।  
हराएका दुवै जनालाई महाशाखा सर्भिलेन्स शाखाले डिएसए (फोनको नक्स अनुसार व्यक्ति पत्ता लगाउने) विधिअनुसार खोजी भइरहेको एक अधिकारीले नागरिकलाई जानकारी दिएका छन् ।

Comments