कीर्तिपुर नगरपालिकाबाट भू–सेवा केन्द्र सञ्चालन हुने
साउन २२, २०७७, बिहीबार | दिउँसो ०१:३५ बजे | 40
कीर्तिपुर नगरपालिकामा अब भू–सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधाबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो ।
[[img2]]
मालपोत नियमावली, २०३६ नियम २३ क बमोजिम भू–सेवा केन्द्र सञ्चालन गर्न कीर्तिपुर नगरपालिकालाई यो अनुमति पत्र दिइएको हो । मालपोल कार्यालय कलंकीमा भू(सम्बन्धी घररजग्गा पास, नामसारी, फुकुवा आदि कामहरू गर्न हाल सबै ईन्टरनेटबाट हुने भएकोले त्यस्ता कामहरू सजिलो गर्नका लागि स्थानीय सरकार (नगरपालिका)मा यस सेवा सञ्चालन गर्न लागेको हो । यसका लागि सेवाग्राहीले आफूलाई चाहिने सेवाको लागि नगरपालिकामा निवेदन दिनु पर्नेछ र सोको आधारमा निश्चित शुल्क लिई नगरपालिकाले सबै विवरण भरेर त्यसको प्रिन्ट (टोकन) उपलब्ध गराइनेछ । सोही प्रिन्ट (टोकन) लिएर सोझै मालपोत कार्यालय कलंकीमा गइ आफ्नो काम सम्पन्न गर्न सकिनेछ । यस भन्दा पहिले यस्ता कामहरू गर्न विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ सेवाग्राहीहरू पुग्ने गर्दथ्यो भने अबदेखि लेखापढीकहाँ जान नपर्ने भएकोले सेवाग्राहीहरूको समय र पैसा समेत बचत हुने कुरा बताइएको छ ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्का, नि.प्र.प्र.अ. टंकलाल गैरे, ले.अ.(कलंकी मालपोत) तारा प्र. पोखरेल, क.अ. (कलंकी मालपोत) केशव खतिवडा, ले.अ.(की.न.पा.) मित्र प्रसाद घिमिरे, शा.अ. (की.न.पा.) जनक थापा, ई. (नक्सा शाखा, की.न.पा.) सुरज ओझा, सु.प्र.अ.(की.न.पा.) परशुराम चौलागाई तथा ना.सु.(की.न.पा.) दिलमाया कुँवर आदिको उपस्थिति रहेको थियो ।