भक्तपुर कप फुटबल ः आयोजक युवा टिमको अग्रता कायमै
फाल्गुन १०, २०७८, मङ्गलबार | दिउँसो १२:४० बजे | 5
भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको भक्तपुर कप फुटबलमा आयोजक भक्तपुर युवा टिमको अग्रता कायमै रहेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टिम विजयी भएको छ । आयोजक भक्तपुर युवा टिमले बनेपा व्वाइज क्लबलाई १—० ले हराएको थियो । विजेताकोतर्फबाट क्रिजल खडकाले गोल हानेका थिए ।
स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु भएका हुन् । मंगलबारको दुईवटा खेलहरुमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका हुन् ।
दोश्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १—० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेलको फाइनल फागुन १४ गते हुनेछ ।