कुँवर भन्छन्, दुखीको दुख देख्न सक्दिन


साउन १९, २०७७, सोमबार | दिउँसो ०३:५७ बजे | 65


काठमाडौं । चक्रपथ सरसफाइ अभियन्ता उद्यमी ताराबहादुर कुँवरको पछिल्लो परिचय कोरोना पीडितहरुका लागि राहत वितरण अभियन्ता पनि हो । उनको यो पहिचानमा अर्को फुली पनि थपिएको छ । त्यो हो चेपाङ बस्ती निर्माणका लागि सहयोगको सुरुआत गर्ने पहिलो व्यक्तित्व ।
नेपाली हेभी इक्विप्मेन्ट व्यवसायीहरुको महासंघका अध्यक्ष कुँवरले चितवन माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माण गर्न भनी सहयोगको सूत्रपात गरेका हुन् ।
स्मरणरहोस्, भरखरै मात्र सरकारले यही चेपाङ बस्तीमा आगो लगाएको थियो । निकुञ्जका कर्मचारीको गल्तीले गर्दा आगो लाग्न पुगेको भन्दै मन्त्रीले स्पष्टीकरण दिनु परेको थियोे ।
समाजसेवी कुँवरले चेपाङ बस्ती निर्माण गर्न भन्दै ४१ हजार रुपियाँ नगद दिएर यस अभियानको शुभारम्भ गरेका हुन् । उनले कोरोना महामारीको यस्तो भयावह स्थितिमा पनि सहयोग अभियान रोकेनन् । यस अघि १६ औं हप्तासम्म कुँवरले काठमाडौंस्थित बाफलबाट कोरोनाको लकडाउनले समस्यामा परेका मजदुर तथा पत्रकारहरुमा समेत खाद्यान्न वितरण गरेका थिए ।

उनले कोरोना महामारीको सहयोगकै निरन्तरता स्वरुप चेपाङ बस्तीमा सहयोग गरेको बताए । यो उनको १७ औं हप्ते सहयोग हो ।
[[img2]]
उक्त रकम माडी वडा नम्बर–९ का वडा अध्यक्ष शिवहरि सुबेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिति गठन गरेर हस्तान्तरण गरिएको छ ।
निर्माण मिडियासँग बोल्दै समाजसेवी कुँवरले आफू अब्बल भनेका नेताहरुको आँखा नपरेको बस्ती बनाउन त्यहाँ पुगेको बताए । उनले भने, ‘हजुर कामको सिलसिलामा यहाँ आएको थिएँ । लिटिल एन्जेल्सका प्रमुख सर उमेश श्रेष्ठको घरमा बसियो । उहाँको घर पनि के भन्नु र दरबारमा बसियो भन्दा फरक पर्दैन । त्यसपछि चेपाङ बस्तीको दुखद अवस्था देखेर स्थानीयहरुको समिति नै बनाएर सहयोग गरेको हो ।’
उनले सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आफ्नो चुनावी क्षेत्रमा गएर चेपाङ बस्ती निर्माणका लागि सहयोग गरेका हुन् । उनकै सरकारले सो चेपाङ बस्तीमा डोजर चलाएर आगो लगाएको थियो । शक्तिशाली मानिने नेता प्रचण्डको ध्यान यी चेपाङहरुका लागि गएको छैन ।
त्यस्तै, राप्रपाको नेता तथा पूर्व मन्त्री समेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे पनि यही क्षेत्रबाट चुनाव लड्ने गर्छन् । उनी पनि ठूलो व्यवसायी हुन् । तर, चेपाङ बस्ती र आसपासको विकासका लागि उनले ध्यान दिने नगरेको स्थानीयको भनाइ छ ।
उमेश श्रेष्ठ, शिक्षा क्षेत्रका सफल व्यवसायी तथा सांसद पनि हुन् । उनको पनि ध्यान यतातिर छैन । उनको ध्यान अन्तै छ ।
तैपनि, संघर्ष गर्दै सडकबाट माथि उठेका कुँवरले यी ठूला भनिने नेताहरुलाई लोप्पा खुवाउँदै चितवनका ती चेपाङहरुको बस्ती निर्माणका लागि दैलो खोलिदिएका छन् ।
उनले भने, ‘सहयोगी मन हो हजुर । आफू पनि रिक्सा र ठेलागाडा चलाएर हुर्किएको मान्छे । दुखीको दुख देख्न सक्तिन । मैले यी १० घर चेपाङको बस्ती बनाउन ढोका खोलिदिएको मात्र हुँ । स्थानीय सरकार, सहयोगी मनहरु मिल्ने हो भने चेपाङहरुको मुहारमा हाँसो ल्याउन कति बेर लाग्दैन कि भन्ने लाग्छ ।’



फाेटाेमा हेर्नुहाेस्...

Comments