काभ्रेको तेमाल गाउँंमा गुम्वा निर्माण
काठमाडौँ — पद्मसम्भव र रिन्जेन दोर्जेको योगदान, इतिहास तथा पहिचानलाई ब्युँताउन काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ टेकानपुरमा गुम्बा निर्माण गरिएको छ । बौद्ध धर्म सम्प्रदायमा पद्मसम्भवलाई गुरु रिम्पोछेका रूपमा पुजिन्छ ।
आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बत पुगेर बौद्ध धर्म विस्तार गरेको श्रेय उनैलाई जान्छ । तेमालका अन्तिम तामाङ राजाका रूपमा रिन्जेनलाई तामाङ समुदायले पुज्दै आएका छन् ।
बौद्ध धर्मगुरु रिम्पोछेले तपस्या गरेको पावन भूमि र तेमाल राज्यको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने उद्देश्यले गुम्बा निर्माण कार्य थालनी गरिएको गुम्बा निर्माण समितिका अध्यक्ष जगतमान लामा दोङले बताए । हालसम्ममा करिब ८० लाख रुपैयाँको लागतमा गुम्बाको मुख्य भवन संरचना निर्माण गरिएको छ । दोङका अनुसार स्थानीय च्याम्पु पाख्रिन र गुन्जमान दोङले दान गरेको २ रोपनी १५ आना जग्गामा २०७७ पुस २० देखि निर्माण सुरु गरिएको थियो ।
पाँच वर्षमा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको गुम्बाका लागि करिब २ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको दोङले सुनाए । ‘हालसम्म भवन निर्माणमा ८० लाख रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘स्थानीय र शुभचिन्तकबाट प्राप्त सहयोगबाट गुम्बा निर्माण भइरहेको छ । स्थानीय सरकारबाट केही रकम दिने भनिए पनि हालसम्म प्राप्त भएको छैन ।’ गुम्बा निर्माणकै लागि हालसम्म साढे ३ सयभन्दा बढी दाताबाट एक करोड रुपैयाँभन्दा बढी आर्थिक संकलन भएको दोङले जनाए । पद्मसम्भवकै नामबाट गुम्बाको नाम ‘उग्येन पेज्युङ डुब्देलिङ’ राखिएको छ ।
गुम्बाको भुइँ तलाको मुख्य हलको नाम भने ‘रिन्जेन दोर्जे’ रहनेछ । त्यसमा तामाङ राज्य, राज्य सञ्चालन, लडाइँ, रिन्जेन दोर्जेको अन्त्यको इतिहास झल्कने पक्षहरू रहनेछन् । दोङले भने, ‘तामाङ राजा रिन्जेन दोर्जे तेमालको मात्र नभएर सिंगो तामाङ समुदायको इतिहास, पहिचान र गर्व हुन् । उनको योगदानलाई गुम्बामा झल्काउने हाम्रो सपना हो ।’ उनका अनुसार तेमाल क्षेत्रमा उत्पादन हुने बुद्धचित्तलाई समेत पद्मसम्भवको इतिहास र जीवनीसँग जोडेर गुम्बामा राखिनेछ । पद्मसम्भवले ध्यान गरेको समय झल्काउने इतिहास, तिमालमा गरेको सम्पूर्ण गतिविधि, उनीसँग तेमालमा रहेका प्रचलित किंवदन्तीलाई गुम्बामा विभिन्न आकृति, कला तथा मूर्तिहरूमा प्रस्तुत गरिनेछ ।
‘गुम्बालाई धर्मसँगै समाज र पर्यटनलाई पनि जोडेर लैजाने हाम्रो योजना हो । यहाँ समुदायलाई चाहिने आधारभूत कुराहरू, परम्परागत औषधि विधि प्रणाली ज्ञान आदानप्रदान, शिक्षण क्लिनिक अवधारणालगायतका पक्षहरू पनि रहनेछन्,’ उनले भने । गुम्बामा विशेषतः बौद्ध धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धनको कार्य हुनेछन् । छ्योर्तेन, रिम्पोछे बस्ने घर, ध्यान केन्द्र, बौद्ध पुस्तकालय, लामा अध्ययन केन्द्र, आनी बस्ने घरलगायत संरचना निर्माणको योजनासमेत छ ।
गुम्बामा ६ फिट अग्लो शाक्यमुनि बुद्ध र ५ फिट अग्लो आर्यअवलोकितेश्वर गुरु रिम्पोछेको मूर्ति स्थापना गरिने उनले जनाए । यसका लागि मात्र निर्माण समितिले ३५ लाख रुपैयाँ लागत अनुमान गरेको छ । राजधानीबाट ७५ किलोमिटर दूरीमा रहेको तेमालमा निर्माणाधीन गुम्बाबाट विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथासहित गौरीशंकर, लाङटाङ, गणेश, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।