पुराना वरिष्ठ कम्युनिष्ट नेता राजतन्त्रको पक्षमा !
बैशाख ६, २०८२, शनिबार | दिउँसो ०२:५५ बजे | 105
काठमाडौं । राजावादीहरुको आन्दोलन चलिरहेको बेला एकजना पुराना वरिष्ठ कम्युनिष्ट नेता राजतन्त्रको पक्षमा खुलेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली शनिबार राजधानीमा भएको राजावादीको एउटा कार्यक्रममा पुगेर राजतन्त्रको पक्षमा खुलेका हुन् ।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएको नागरिक विद्रोहले गरेको कार्यक्रममा उनले राजाका पक्षमा वकालतसमेत गरे । साथै उनले राजावादीको आन्दोलन सफल हुने दावीसमेत गरे । ‘नेपालमा हालसम्म २००७, २०१७, २०४७ र २०६३ गरी चार वटा सफल आन्दोलनहरु भए, उनले भने, ‘अव २०८२ सालमा पनि राजावादीको सफल आन्दोलन हुँंदैछ ।’ आफू पनि ती सफल आन्दोलनहरुमा सहभागी रहेको बताउँंदै उनले आन्दोलन सफल पार्न आवश्यक रणनीतिहरुकाबारेमासमेत आन्दोनकारीहरुलाई जानकारी गराए । उनले थपे, ‘कांग्रेस, कम्युनिष्टहरुभित्र पनि राजालाई मन पराउने धेरै जनता छन्, उनीहरुको पनि साथ पाउन तपाईहरुले कांग्रेस कम्युनिष्टहरु सवैलाई गाली नगर्नुहोस् वरु उहाँंहरुको साथ खोज्नुहोस् ।’
उनले राजावादीले घोषणा गरेको पृथ्वीपथ अहिलेको नभई २५० वर्ष पुरानो रहेको दावी पनि गरे । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले तत्कालिन २२ से २४ राज्यहरुलाई एकीकरण गरेपछि नै यो पथको सुरुवात भएको उनको दावी थियो । त्यसपछि यसबारे खगेन्द्र सिटौला, भरत वस्नेतलगायले पुस्तक लेखेको र त्यसमा आफूले पनि सहयोग गरेको उनले सम्झे । उनले पृथ्वीपथ विना कुनै नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद वा कम्युनिष्टहरुको समाजवाद साम्यवादी अगाडि वढ्न नसक्ने ठोकुवा गरे । सवैभन्दा महत्वपूर्ण राष्टवाद भएको र यही नै पृथ्वीपथ भएको उनको भनाई थियो । देशलाई माया गर्नु, विदेशी सामु नझुक्नु नै पृथ्वीपथ भएको भन्दै यो नेपालीको आफनै मोलिक वाद भएको पनि उनले टिप्पनी गरे ।
चन्द्रप्रकाश मैनाली नेपालका कम्युनिष्ट राजनीतिज्ञ हुन् । उनी २०२८ सालको झापा काण्डदेखि चर्चामा रहेका हुन् । उनी लामो समयदेखि नेकपा मालेका महासचिव छन् । मैनाली २०७२ कार्तिकमा उपप्रधानमन्त्रीसमेत नियुक्त भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) फुटेर नेपाल कम्युनिष्ट पार्टी (माले) मा लागेका उनी पछिल्ला वर्षहरुमा पार्टी खुम्चिदा कम चर्चामा थिए । दुई दशक बढी मालेको नेतृत्वमा रहेका सिपी पछिल्लो पटक चितवन महाधिवेशनबाट फेरि महासचिव चुनिएका थिए । ७० वर्ष उमेर काटेका मैनालीमा शारीरिक रुपमा बुढ्यौली भए पनि राजनीतिक रूपले थाकेका छैनन् । जिन्दगी नै कम्युनिस्ट राजनीतिमा समर्पण गरेका यी नेता मैनाली २०४६ र त्योभन्दा अगाडिको पुस्ताका लागि जति परिचित नेता हुन्, आजका पुस्ताका लागि उति नै अपरिचित भने छन् ।
कार्यक्रममा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, कार्यबाहक संयोजक प्राज्ञ डा जगमान गुरुग, पत्रकारद्धय प्रेम कैदी, जीवराम भण्डारी, चैत १५ गते वानेश्वरमा भएको आन्दोलनमा मृत्यु भएका पत्रकार सुरेश रजकको मृत्युको विषयमा नागरिकहरुकोतर्फबाट गठित छानविन समितिका संयोजक देवेन्द्र श्रेष्ठ (नेपाली), राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष डा तारानाथ लुइँटेललगायले राजसंस्था आवश्यकताका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल पनि आउने कार्यक्रम तालिका थियो । तर विशेष कारणबस उनी आउन भ्याएनन् ।
कार्यक्रम होटेल प्यागोडा जमल काठमाडौंमा निर्धारण गरिएको थियो । तर प्रशाशनले त्यहाँं कार्यक्रम गर्न रोक लगाएपछि डिल्लीबजार भोजन गृहमा गरिएको थियो । तर गृहका सञ्चालक भरत वस्नेतले त्यहाँ पनि कार्यक्रम नगर्न प्रशाशणले आदेश दिएको मञ्चमार्फत् सवैलाई जानकारी गराएका थिए ।