रानीपोखरीका जागेश्वर महादेव
साउन १७, २०७७, शनिबार | विहान ०६:३३ बजे | 50
पुरुषोत्तमलोचन श्रेष्ठ
भक्तपुर शहरको पश्चिमस्थित, च्वङापा (सल्लाघारी)मा रानीपोखरी छ । सो पोखरी ने.सं.७५० (वि.सं.१६८७) मा तत्कालीन भक्तपुर राज्यका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् । तत्कालीन समयमा बनेको नयाँ पोखरी भएकोले नेवारलोकजीवनमा सो पोखरी ‘न्हुपुखू’ (नयाँपोखरी) भनी दे प्रख्यात रहि आयो । जगज्योतिर्मल्लले राख्न लगाएको ने.सं. ७५० को सोही पोखरीको सिंहफले (सिंहसत्तल÷परवर्तीकालमा ‘रवाङरवाङपाटी’ नामले प्रसिद्ध) को शिलालेखमा सो पोखरीलाई ‘पुष्करिणी’ (कमल हुने पोखरी) भनिएको छ । भक्तपुरका जनताहरू मिलेर सो पोखरी पा“च महिनाको छोटो समयावधिमै (पौषकृष्ण एकादशीको दिनदेखि आरम्भ गरी वैशाखकृष्ण द्वादशी, वृहस्पतिवारको दिनमा पूर्ण) सम्पूर्ण निर्माणकार्य सम्पन गरिदिएका थिए । सो पोखरीको मध्यभागमा रहेको काष्ठस्तम्भमा वासुकीनागको सुनको मूर्ति थियो । पोखरीमा जानको निमित्त दक्षिणमा राजकीय एवं सांस्कृतिक महादेवको उही सिंहफले (सिहंसत्तल) बनेको थियो । सोही सिंहसत्तलको उत्तरमा वा पोखरीको दक्षिणघाटमा अनेक कलाकृति लगायत चतुर्मुख शिवलिङ्गस्थापित (जागेश्वर महादेव) सानो ढुङ्गेमन्दिर पनि थियो । ने.सं.७८३ (वि.सं.१७२०) मा कान्तिपुरका राजा प्रतापमल्लले ललितपुरका राजा श्रीनिवासमल्लसित मिलेर भक्तपुरमा आक्रमण गर्दा शहरबाहिरका भाज्यापुखू लगायत यो पोखरी पनि बिगारी यहा“का कलाकृति उठाएर लगेका थिए । त्यसको ४८ वर्षपछि ने.सं.७९८ (वि.सं.१७३४) मा उनका पनाति, राजा जितामित्र मल्लले यो पोखरी जीर्णोद्धार गर्न लगाएका थिए । त्यस उत्सवमा उनको निमन्त्रणलाई मानेर कान्तिपुरका राजा नृपेन्द्र मल्ल (प्रताप मल्लका पुत्र) र ललितपुरका राजा श्रीनिवास मल्ल पनि उपस्थित हुन आएका थिए । मल्लकालको पतनपछि यस पोखरीको राजकीय महादेव भने रहेन तर सांस्कृतिक महादेव भने कुनै न कुनै रूपमा आजसम्म पनि रहिआएको छ । मल्लकालपछि पोखरीले मरम्मत सभार हुने अवसर पाएन, उपेक्षित नै रह्यो । वि.सं.२०४० सालमा यो पोखरीपरिसर नेपाली सेनाको स्वामित्वमा गएपछि र पोखरीमा तारबार लागेपछि भक्तपुरको सांस्कृतिकजीवनसित यसको स्थापनाकालदेखिको अटुट सम्बन्ध पनि टुट्नपुग्यो । मल्लकालपछि भग्न हुँदै गएको सिंहसत्तल पनि वि.सं. २०५६–५७ सालको ठूलो वर्षाले गल्र्याम्मै ढलेर पाताल हुनपुग्यो । वि.सं.२०७६ सालमा भक्तपुर नगरपालिका र नेपाली सेनाबीचको ऐतिहासिक सहमतिपश्चात् भने पोखरीले पुनः पुनर्जीवन पाउने अवसर पाएको छ । भक्तपुर नगरपालिकाले नगरका अन्य सम्पदा लगायत यस पोखरीको जीर्णोद्धार÷पुननिर्माणको काम वि.सं.२०७६ सालदेखि आरम्भ गरिसकेको छ । सोही सिलसिलामा, प्रारम्भिक चरणमै यस पोखरीको घा“स झारपात उखेलेर सरसफाई अभियान आरम्भ गर्दा यहाँ गर्भस्थ हुनलागेका अनेक कलाकृति छरपष्टै देखिनथालेका छन् । त्यसमध्येको एक लोपोन्मुख कृति यो चतुर्मुख शिवलिङ्ग ‘जागेश्वर महादेव’ पनि हुन् । प्रस्तुत चित्र त्यही बेलामा खिचिएको हो । यस चित्रले पनि सो शिवलिङ्ग र यहा“का अन्य कलाकृति कति लथालिङ्ग एवं लोपोन्मुख अवस्थामा पुगेको रहेछ भन्ने कुराको चित्रण गरेको छ ।
[[img2]]
पुरातत्वका दृष्टिले लिङ्गपुजन परम्परा पाँचहजार वर्षदेखि अनवतरत रूपमा चली आएको छ । शिव नै एक यस्ता देवता हुन् जसको शरीरका दुई भाग अलग–अलग पुजिएको पाइन्छ । त्यसमध्ये प्रतिमापुजनका तुलनामा लिङ्गपुजन नै रूढ छ । प्रतिमापुजन र लिङ्गपुजनको समावेशी रूप मूर्तियुक्त लिङ्गमा दर्शनीय हुन्छ । मूर्तियुक्त लिङ्गका पनि दुई रूप देखापर्छन् विग्रहलिङ्ग र मुखलिङ्ग (डा.नीलकण्ठ पुरुषोत्तम जोशी (१९७७) प्राचीन भारतीय मूर्ति विज्ञान, विहार राष्ट्रभाषा परिषद्, पटना ः पृष्ठ ५१) । मुखलिङ्ग पनि एकमुख, दुईमुख र चतुर्मुख अनेक कालखण्डमा चलेको पाइन्छ । शिवलिङ्गको शिर्षमा चारैतिर शिवका चार मुख कुदेर बनाइएको चतुर्मुख शिवलिङ्गको एउटा सुन्दर नमुना यन्त्रासनमा स्थित यो जलहरियुक्त चतुर्मुख शिवलिङ्ग पनि हो । शिवलिङ्गको मुखस्थिति (नाम, दिशा, आम्नाय र प्रतीक) यस प्रकार रहेको विदित हुन्छ ः १.सद्योजात÷महादेव –पूर्व, पूर्वाम्नाय, पृथ्वीतत्व २.तत्पुरुष÷नन्दीवक्त्र – पश्चिम, पश्चिमाम्नाय, वायुतत्व ३.अघोर÷भैरव – दक्षिण, दक्षिणाम्नाय, अग्नितत्व ४.वामदेव÷उमावक्त्र – उत्तर, उत्तराम्नाय, जलतत्व । भौतिक रूपका यी चार मुखलिङ्गका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन् जसमध्ये शिवलिङ्गको शिर्षभागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ जुन आकाशतत्वको प्रतीक मानिन्छ । त्यसैगरी शिवलिङ्गको तलको भागलाई (अधराम्नाय) पातालतत्वको प्रतीक मानिन्छ ।
यस अध्ययनअघि यस चतुर्मुख शिवलिङ्गको नामसित भक्तपुरको सांस्कृतिकजीवन परिचित रहेको देखिएन । ऐतिहासिक सामग्री भाषावंशावलीमा उल्लेखित विवरणबाट यस महादेवको नाम ‘जागेश्वर’ रहेछ भन्ने नूतन कुराको साथै अन्य महत्वपूर्ण कुरा समेत एकसाथ ज्ञात हुन आएको छ जुन यस प्रकार छ (भाषा वंशावली, भाग २, पृष्ठ ६०)
कान्तिपुर ललितपत्तनका राजा दुई मिली भक्तपुरमाथि चढाइ गरी ...त्यहाँपछि संवत् ७८३ वैशाख मैन्हामाथि पोजोलमाथि जगज्योतिर्मल्लले बनायाको पोखरीको छेउ स्थापना गरी राख्याको जागेश्वर महादेव सुनका छाना भयाका देवता उठाई आङ्खना शहर कान्तिपुरमा लग्या । फेरि यसै पोखरीबीच राख्याको सुनका नाग पनि उठाई लगी कान्तिपुरका भण्डारखालका पोखरीमा सुनका बसाहामाथि जागेश्वर राखी नागफनि समेत राखिदिया ।’
उक्त विवरणलाई आधार मानेर यी जागेश्वर महादेवलाई हेर्दा हनुमानढोका राजदरबारको भण्डारखालको नागपोखरी र नजिकैको सानो महादेवमन्दिरमा स्थापित ती जागेश्वर महादेवको स्मरण हुन आएको छ जसलाई तत्कालीन कान्तिपुरका राजा प्रतापमल्लले ललितपुरसित मिलेर ने.सं. ७८३ मा भक्तपुर आक्रमण गर्दा यो पोखरी समेत बिगारी यहाँका सुन्दर कलाकृति लगायत यी जागेश्वर महादेव पनि उठाएर लगी त्यहाँ सजाउन लगेका थिए । प्रताप मल्लले पोखरी भताभुङ्ग पारेर यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका राजदरबार सजाउन लगेको कुराको उल्लेख तात्कालिक अन्य ऐतिहासिक सामग्रीको अध्ययनबाट पनि विदित हुन्छ । विचारणीय कुरा के छ भने स्थानविशेषका महत्वपूर्र्ण कलाकृति उठाएर लगी हनुमानढोका राजदरबार सजाउने सौख राख्ने प्रतापमल्लको निधन भएको १४ वर्षपछि नेपालमण्डल (काठमाण्डौ उपत्यका) का तीनवटै राज्यबीच राजनैतिक सम्बन्ध सुमधुर भएको अवस्था थियो । त्यही समयमा यस पोखरीको जीर्णोद्धार भएको थियो । त्यस क्रममा प्रतापमल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको दृष्टिगोचर हुन्छ । समयको उर्दी र नियतिको खेल हो । नेपाली सेनाको सहमति एवं भक्तपुर नगरपालिकाको सत्कर्म–प्रयासमा कैयन कालदेखि सुतेका यी जागेश्वर महादेव फेरि जाग्ने ऐतिहासिक दिन आएको छ । यो हामी सबैका लागि खुशिको कुरा हो । जागेश्वर महादेवले सबैको कल्याण गरून् ।