आज छ्याला पुन्ही ः किन फुटाइन्छ माटाका भाँंडाहरु ?
भक्तपुर । बाटाका चोकचोकहरुमा माटाका पुराना भाडाहरु फुटाएर सोमबार भक्तपुरमा छ्याला पुन्ही (पूर्णिमा) मनाइएको छ । यसलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही वा मिला पुन्ही (पूर्णिमा) भनिन्छ ।
भक्तपुर नगरभरिका टोलटोलका चोकचोकहरुमा माटाका भाडाहरु फुटाएर पर्व मनाइएको हो । पर्वका कारण नगरभरिका सयौं चोकहरुमा माटाका भाडाहरु फुटाइराखेको देखिएका थिए । चोकचोकमा स्थानीयबासीले बिहानै माटाका भाडाहरु फाल्न लगेका थिए ।
यो पर्व प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन यसरी नै घरघरबाट स्थानीयले नजिकको चोकमा घरघरमा भएका पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाडा फुटाल्न लाने चलन छ ।
स्थानीय रामप्यारी सुवाल अरु सवै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा विहानै चोकचोकमा घरमा रहेका माटाका भाडाकुँंडा फाल्ने लानेबाहेक केही नहुने सुनाउँंछिन् । पर्वको दिन भोजभतेर केही पनि नगर्ने उनी जनाउँंछिन् ।
परम्परा अनुसार एकाविहानै विशेष गरेर महिलाहरुले घरमा काम नलाग्ने घ्याप्पो, घैटो, फिल्टर, कप, बाटा, तपेसलगायतका पुराना माटाका भाडाकुँंडा फुटाउन लगिन्छ ।
स्थानीयका अनुसार भक्तपुरमा मनाइने पर्व दुई थरीका हुन्छन् । एउटा भोज खाने र अर्काे नखाने । उनीहरुका अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको कुनै पनि परिकार पाक्दैन र खाँंदैन पनि । मात्रै भाडा फुटाउन लगेर पर्व मनाइन्छ ।
कला संस्कृति भजन महागुथिका अध्यक्ष संस्कृतिविद् जननीप्रसाद मुलका अनुसार विशेष गरी नेवार समुदाय माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ । छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्राउने परम्परा रहेको संस्कृतिविद मुल सुनाउँंछन् । उनका अनुसार पुरानो चर्के फुटेको भाडा घरमा राखिराख्दा असुभ हुने जनविश्वासका साथ वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाडा चोकमा फाल्न लाने छ । पर्वलाई जीवन्तता दिन सके एकातिर परम्परागत भाडाकुँंडा बनाउने पेशा जगेर्ना हुने र अर्काेतिर संस्कृति जीवन्त हुने उनको विश्वास छ । नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चल्न थालेको पाइएको उनी जनाउँछन् ।
यस अवसरमा विहान देवदेवीको पूजा गर्ने, विभिन्न खोलामा मेला लाग्ने, तीर्थ भर्ने र खोलामा गई नुहाउने परम्परा छ । पूर्णिको दिनबाट नै काठमाडौंको साँंखुमा माधवनारायाणको स्वस्थानी ब्रत सुरु हुने परम्परा छ । साथै भक्तपुरको हनुमानघाटमा पनि माधबनारायणको ब्रत सुरु हुने गर्दछ । साथसाथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ ।