राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानबारे अन्तरक्रिया
साउन १६, २०७७, शुक्रबार | दिउँसो १२:२१ बजे | 95
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय परिचय पत्र वितरण नागरिकतासँग जोडिएको संवेदनशील विषय भएको हुँदा नक्कली नागरिकता र दोहोरो परिचय पत्र लिनेहरुबाट सचेत हुन जरुरी रहेको बताउनुभयो ।
परिचयपत्र वितरणमा प्राविधिक कारणले पनि समस्या हुन सक्नेतर्फ पञ्जीकरण विभाग र सम्बन्धित कार्यालयहरु सजग हुनुपर्ने भन्दै प्रमुख प्रजापतिले परिचयपत्र वितरणमा खटिने कर्मचारीहरु भाषा र व्यवहार जान्नेहरु भए काम गर्न सजिलो हुने भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पञ्जकिरण विभागको समष्टिगत कार्य प्रक्रिया र अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुभयो । उहाँले डिजिटल प्रणालीमार्फत संकलन गरिने राष्ट्रिय परिचयपत्रको विवरण अभियान नयाँ पद्धति भएको हुँदा केही समस्या हुन सक्ने बताउनुहुँदै नेपाली नागरिकको सही पहिचान गर्न यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सदस्य शिवराम जोशीले राष्ट्रिय परिचय पत्रबारे प्रस्तुतीकरण दिनुहुँदै व्यक्तिको पहिचान गराउने आधार नागरिकको प्रमाणपत्र भएको हुँदा राज्यले अब डिजिटल प्रणालीको अवधारणालाई अगाडि सारेको हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नपाका शाखा प्रमुख र वडाका सचिवहरुको उपस्थिति थियो ।