डा इन्दुल केसी
प्रारम्भ
जन्मनु योग हो भने अवसान हुनु वियोग हो । अन्तर्राष्ट्रिय योग दिवसको शुभ अवसरमा योगकै बारेमा चर्चा परिचर्चा हुनु स्वभाविक छ । योग तथा प्राकृतिक उपचार सम्पूर्ण मानवहरूलाई स्वस्थ एवं सुखी जीवन पाउने माध्यम हो । योग शास्त्रको ग्रन्थ शिवसंहितामा सम्पूर्ण प्राणी मात्रको हितको लागि भगवान शीवजीले माता पार्वतीको जिज्ञासालाई मेटाउन ब्रम्हज्ञान र हठयोग साथै राजयोगका क्रियाहरूको बारे ज्ञान दिनुभएको हो । यस संहिताको अध्ययन तथा मनन् गरी संसार सागरको दुःखबाट छुुटकारा पाउने रहस्य यस ग्रन्थमा पाईन्छ । यसै संहितामा योग साधना एवं अभ्यासगर्दा आईपर्ने अनेक विघ्नवाधाहरूलाई कसरी हटाउने र मोक्ष प्राप्त गर्न भोग नै एउटा प्रमुख बन्धन हो भन्ने कुराको सन्देश पनि यस संहिताले दिएको पाइन्छ । उचित आसनमा बसेर अन्तरशुद्धिको लागि धौली क्रिया गर्नु, नाडी सञ्चालनको ज्ञान प्राप्त गर्नु, वायु प्रत्याहारको निरोध गर्नु, कुण्डलिनी जागरण गर्नु, आहारको आचार, बिचारका नियम पालन गर्नुपर्ने कुराको मार्गनिर्देशन यसै संहिताले दिएको छ । मन्त्रयोग, हठयोग, लययोग र राजयोगहरू एउटा सुयोग्य गुरूद्वारा यसको सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्नु योगाभ्यासीहरूका लागि अति आवश्यक मानिन्छ ।
योगको सन्दर्भमा स्वामी श्री विशुद्धदेवज्यूले रच्नु भएको चरित्र विज्ञान ग्रन्थमा योगको शास्त्रीय दर्शन र आधुनिक विज्ञानलाई समन्वय गरी ‘मष्टिस्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी’ भन्ने मूल नाराका साथ सम्पूर्ण मानवलाई चरित्रवान बनाउन चरित्र निर्माण संघ नै स्थापन गरी नेपालमा आज भन्दा झण्डै ४० वर्ष अगाडीदेखि योगाभ्यासको प्रचारप्रसार गर्नुभएको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।
अष्टाङ्ग योग
तत्वज्ञान प्राप्त नभएसम्म मानिसहरूमा रहेको चित्तको विकारहरू समाप्त हुँदैन । यसैले योग दर्शनमा चित्तलाई स्थिर राख्न जोड दिएको छ । ‘योगस्थित चित्तवृत्ति निरोध’को व्याख्या महर्षि पतंजलि ऋषिले गर्नुभएको छ । वास्तवमा चित्तवृत्ति निरोध भनेकै योग हो । योग मार्गका ८ वटा खुड्किलाहरूलाई एउटा शुत्रबद्ध रूपमा निम्न अनुसार प्रस्तुत गरेको पाइन्छ ।
यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यिनै आठवटा योगका अंगहरूलाई अष्टाङ्ग योग भनिन्छ । योग दर्शनलाई विभिन्न नामहरूले विषद् रूपमा चर्चा गरेको कुरा हाम्रा संस्कृत वाङ्मय वेद, उपवेद, उपनिषद्हरू, पुराणहरू,े गीता आदिमा योगकै बारेमा चर्चा गरिएको पाइन्छ । यसै क्रममा खप्तड स्वामीले धर्म विज्ञान नामक पुस्तकमा, ओशो रजनीशका अनेकौं प्रवचनहरूमा, बुद्धले दिनुभएको उपदेश ग्रन्थ त्रिपिटकमा, ईसामसिहले दिनुभएको शिक्षा – इसाई धर्मग्रन्थ बाईबलमा, प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विद्यालयबाट प्रकाशित विभिन्न पुस्तकहरूमा, स्वामी रामदेवज्यूले योग बारेमा लेखेका अनेकौं पुस्तकहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा योग विज्ञानको प्रकाश गर्नुभएको पाइन्छ ।
जुलीए फ्रेडी बर्गरले आफ्नो पुस्तक ‘अफिस योगा’मा लेख्नुहुन्छ, “ट्याकलिङ टेनसन विथ सिम्पल टेक्नीक, यु क्यान डू एट योर डेस्क” अर्थात अति व्यस्त जीवनयापन गरिरहेका व्यक्तिहरू आफ्नो कार्यालयको कुर्सीमा बसी केही छिन आफ्नो शरीरको अङ्ग प्रत्यङ्गहरूलाई तन्काएर पनि शारीरिक तनाव कम गर्न सकिन्छ ।
वैज्ञानिक योग
जीवन सकारत्मक पक्षमा बदलन चाहनेहरूका लागि वैज्ञानिक योग नामक पुस्तकका लेखक डा. चेतनाथ अधिकारीले भोजन, सूक्ष्म व्यायाम, सूर्य नमस्कार, विभिन्न आसनहरू, षत्कर्म प्राणायमबारे चर्चा गरी वैज्ञानिक योगको नाम दिनुभएको छ ।
योग गीता
श्रीकृष्ण र अर्जुनको बीच कुरूक्षेत्रको रणभूमिमा भएको सम्वादमा ७०० वटा श्लोकहरू छन् । यी श्लोकहरूलाई १८ अध्यायहरूमा विभिन्न नामले विभक्त गरिएका छन् । जस्तै (१) अर्जुनविषाद्योग, (२) साङ्ख्ययोग, (३) कर्मयोग, (४) ज्ञानकर्मसन्यासयोग, (५) कर्मसन्यासयोग, (६) आत्मसंयमयोग (७) ज्ञान–विज्ञान योग (८) अक्षरब्रम्हयोग (९) राजविद्याराजगुह्ययोग (१०) विभूतियोग (११) विश्वरूपदर्शनयोग (१२) भक्तियोग (१३) क्षेत्र–क्षेत्रज्ञविभागयोग (१४) गुणत्रयविभागयोग (१५) पुरूषोत्तमयोग (१६) दैवासुरसम्पद्विभागयोग (१७) श्रद्धात्रयविभागयोग र (१८) मोक्षसन्यासयोग । यसरी गीतामा विभिन्न नाम दिएर योगको चर्चा गरिएका १८ वटै अध्यायहरूको महत्व वर्णातित छन् । विशेषगरी कर्म योग, ज्ञानयोग, भक्तियोग, मोक्ष सन्यास योग, योगाभ्यासीहरूले अध्ययन गर्नु उपयुक्त देखिन्छ ।
कुचो योग
माथि उल्लेखित विभिन्न नामका योगहरूको साथै दैनिक जीवनमा हामी सबैले नगरी नहुने योगको नामलाई मैले कुचोयोग नाम दिएको छु । कुचो योग भन्नु यहाँ कुचो प्रतिकात्मक रूपमा प्रयोग गरिएको छ । कुचो एउटा साधन हो जसले धुलो कसिङ्गर बढारिन्छ । नेपालीहरूको घरघरमा संस्कारगत गर्नुपर्ने दैनिक कार्य भनेको बढारकुँढार गर्नु हो । आफ्नो घर, चोक, आँगन, टोल सफा गर्नु हाम्रो परम्परागत प्रचलन हो । यसले घरमा वरिपरि रहेको धूलोमूलो फोहर बढारिन्छ, फालिन्छ । सन्दर्भ योगको हो, हात र कुचोको जोड हो । यी दुई चिजको मिलनबाट अर्थात् यसको प्रयोगले सरसफाई निरोगको लागि गर्नैपर्ने महत्वपूर्ण कार्य हो । के महिला, के पुरूष सबैले सरसफाईमा जुट्नु पर्छ । चाहे दाँत माझ्न प्रयोग गर्ने टुथब्रस होस् वा जुत्ता टल्काउने ब्रस होस्, कुचो, च्वाफी अथवा आधुनिक भ्याकुम क्लिनर नै किन नहोस्, यी वस्तुहरूको समूचित प्रयोग गरौं र निरोगको मार्गमा अगाडी बढौं । यही नै कुचो योगको मर्म हो ।
अन्तमा
मैले स्वामी विशुद्धदेवज्यूबाट योगको शिक्षा र दिक्षा पाएको थिएँ । विगत ४० वर्षदेखि निरन्तर रूपमा आफू स्वयमले योग गर्ने, जानेको योग शिक्षालाई अहिले मेरो ८१ वर्षको बुढ्यौलीमा पनि सक्रिय रूपमा जीवनयापन गरिरहेको छु । आफूले जानेको योग शिक्षालाई समाजमा फैलाउन विभिन्न प्राकृतिक र योगका संस्थाहरूमा म आवद्ध भई हजारौं जनालाई योगको शिक्षा दिने काम भयो । लब्ध प्रतिस्थित व्यक्तिलगायत धेरैजनालाई मैले पु¥याएको योग र प्राकृतिक उपचार सेवाले आ–आफ्नो रोग निवारन भएका धेरै सज्जनहरूबाट मैले धन्यवाद पाएको छु । मेरोतर्फबाट पनि योग दिवसको शुभ अवसरमा सम्पूर्णमा योगमय शुभकामना छ । धन्यवाद ।

...

All Comments.......


Please Login/Register To Comments