काठमाडौँ महानगरपालिकाको अपिल– ‘गाइजात्रा लगायत पर्ववको विधि पूरा गरौँ, भिडभाड नगरौँ’
साउन १६, २०७७, शुक्रबार | विहान ०१:५४ बजे | 45
काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । ‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’
शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने संभावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनुको अर्को विकल्प छैन ।’
उहाँले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । ‘हामीले पहिलादेखि नै जथाभावी उपत्यका प्रवेश गराएर शान्त तलाउमा ढुंगा हान्ने काम गर्नुहुन्न भन्दै आएका छौँ । हामी अहिले पनि त्यो अडानमा अडिक छौँ’ उहाँले भन्नुभयो, ‘उपत्यका बढी जनघनत्व भएको ठाउँ हो । यहाँ कोरोना संक्रमणको जोखिम बढ्यो भने नियन्त्रण बाहिर जाने खतरा बढ्छ र हामी सबैलाई जोखिम बढी हुन्छ ।’
वैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टायनमा बस्न लगाउन आग्रह गर्नुभयो । उहाँले त्योसँगै परिक्षणको दायरामा ल्याउन सहयोग पनि माग्नुभयो । त्यो भयो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । ‘पछिल्लो समय लकडाउन खुलेसँगै रोग नियन्त्रणमा आयो भन्ने हिसावले लापरवाही गर्दा थप समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरीकारले प्रयोग नगर्ने गर्दा संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत वढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।’ उहाँले सामाजिक दूरी कायम गर्नेलगायतका कुरामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पनि आफ्नो परिचयपत्रका बारेमा प्रस्तुति गर्नुभएको थियो ।
गाइजात्रा लगायत पर्ववको विधि पूरा गरौँ, भिडभाड नगरौँ
बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७, मतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधी, २०७७ पनि पारित गरेको छ । त्यसैगरी काठमाडौँ महानगरपालिका वडा–९ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्नेलगायतलाई पनि स्वीकृत गरेको छ ।