नगर प्रमुख प्रजापतिसित तुल्सीपुर उपमहा नगरपालिकाका प्रमुख घनश्याम पाण्डेको भेट


साउन १३, २०७७, मङ्गलबार | दिउँसो ०१:०६ बजे | 35


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित दाङ जिल्ला तुल्सीपुर उपमहा नगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मंगलबार भेट गर्नुभयो ।
[[img2]]
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र देकोचास्थित ख्वप कलेज, ख्वप उच्च माविलगायत भक्तपुरको शिक्षा क्षेत्रको अवलोकनका लागि नगर प्रमुख पाण्डे भक्तपुर आउनुभएको थियो ।  
सांस्कृतिक र पर्यटकीय नगर भक्तपुरमा भादगाउँले कालो टोपी लगाइदिनुभएर स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय तह सम्मिलित तीनवटै सरकारले सस्तोमा गुणस्तरीय शैक्षिक संस्थाहरू सञ्चालन गरेको खण्डमा निजी विद्यालय र कलेजहरूप्रतिको आकर्षण स्वतः घट्दै जाने बताउनुभयो ।
[[img3]]
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गुणस्तरीय शिक्षामार्फत इन्जिनियरिङ, नर्सिङ, व्यवस्थापनलगायतका क्षेत्रका आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले भक्तपुरको च्याम्हासिंहमा २५ शैय्याको ख्वप अस्पतालको निर्माण भइरहेको र नेपालमै पहिलो श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी नगरपालिकाले गरिरहेको बताउनुभयो ।
[[img4]]
कलेजहरू सञ्चालन गर्न विभिन्न स्थानीय तहहरूले भक्तपुर नगरपालिकासँग समन्वय र सहकार्य गर्दै आइरहेको बताउनुहुँदै उहाँले आत्मनिर्भरता नै मुख्य विषय भएको र भक्तपुरले विदेशी सहयोगविना संस्कृति संरक्षण गरिरहेको, जनश्रमदान र आर्थिक सहयोग जुटाई मठ—मन्दिरहरूको जीर्णोद्धार तथा पुनःनिर्माण कार्य भइरहेको प्रष्ट पार्नुभयो ।
[[img5]]
भेटका क्रममा तुल्सीपुर उपमहानपाका प्रमुख घनश्याम पाण्डेले दाङ जिल्लामा पर्ने तुल्सीपुर उपमहानपा काठमाडौं उपत्यकाभन्दा सात गुणा ठूलो भएको र यसको जनसंख्या २ लाख भएको तथा सांस्कृतिक रुपमा थारुहरूको बाहुल्यता भएको बताउनुभयो । बहुजाति र बहुभाषीहरूको बसोबास रहेको उपमहानगरपालिकालाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने र कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्दै लाने उद्देश्य रहेको बताउनुभयो ।
[[img6]]
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू रोल मोडलकै रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँले तुल्सीपुर उपमहानपा र भक्तपुर नपासँग शैक्षिकलगायत विभिन्न क्षेत्रमार्फत सम्बन्ध विस्तार गर्न आफूहरू उत्सुक रहेको बताउनुभयो । उहा“ले भक्तपुर नपाकै मोडलमा कलेजहरू सञ्चालनको लागि तयारी गरिरहेको र ‘एक वडा एक खेलमैदान’को अवधारणामा तुल्सीपुर उपमहानपा अगाडि बढिरहेको बताउनुभयो ।
[[img7]]
्भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. धु्रवकुमार गौतम, अमृत साइन्स क्याम्पसका डा. दिपेन्द्र भण्डारी र तुल्सीपुर उपमहानपाका शिशिर खनाल, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतको उपस्थिति थियो भने ख्वप इन्जिनियरिङ कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालले कलेजले सञ्चालन गरिरहेको विभागीयलगायत अन्य कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी दिनुभयो ।
[[img8]]
उहाँहरूले ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका ल्याब र पुस्तकालयको अवलोकन गर्नुभएको थियो । साथै नगर प्रमुख प्रजापतिले प्रमुख पाण्डेलाई भक्तपुरको प्रसिद्ध ‘मयुरको झ्याल’ मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो भने नगरपालिकाका प्रकाशनहरू पनि उपलब्ध गराउनुभएको थियो ।
[[img9]]

फाेटाेमा हेर्नुहाेस्...

Comments