‘वाटर रेस्क्यु ड्रिल अभ्यासका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
साउन ११, २०७७, आइतबार | विहान ०६:०६ बजे | 95
भक्तपुर । नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा साउन ६ गतेदेखि ११ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा सञ्चालन भएको दैवी प्रकोप उद्धार तथा व्यवस्थापनअन्तर्गत ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासको समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
[[img2]]
महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासका प्रशिक्षकहरु र विशेष अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मास रेस्क्यु प्रतियोगिताका विजयी टीम र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
[[img3]]
कार्यक्रममा सम्बोधन गर्ने क्रममा नगर प्रमुख प्रजापतिले तालिम प्राप्त प्रशिक्षार्थीहरुले आफूले हासिल गरेको ज्ञान, सीप र तालिमलाई आवश्यक ठाउँमा सही ढंगले प्रयोग गर्न मार्गनिर्देश गर्नुभयो । विपद् कुनै पनि समयमा आउनसक्ने तर्फ सचेत गर्दै उहाँले विपद्को समयमा उद्धार कार्य आफैमा चुनौतीपूर्ण रहेको औंल्याउनुभयो ।
[[img4]]
भक्तपुर नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी आगलागी र बाढीलगायतका विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरी आवश्यक जनशक्ति उत्पादन गरेको बताउनहुुँदै प्रमुख प्रजापतिले कोभिड १९ को संक्रमण नियन्त्रण र जनताको जीवन रक्षामा केन्द्रित विविध गतिविधि नगरपालिकाले अगाडि सारिरहेको बताउनुभयो ।
[[img5]]
भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डेले कुनै पनि बेला आउने विपद्ले मानवीय र भौतिक क्षति न्युनीकरण गर्न उद्धारसँग सम्बन्धित सक्षम जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरुको महत्व भएको औंल्याउनुभयो । उहाँले नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त पहलमा भएको सो तालिमको औंचित्यताबारे प्रष्ट पार्नुहुँदै यस्ता कार्यहरुमा भक्तपुर नगरपालिकाको पनि साथ सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
[[img6]]
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले दैवी प्रकोपसम्बन्धी तालिम बाढी र पहिरोबाट पीडित जनताको जीवन रक्षाको निम्ति फलदायी हुनेमा आशा व्यक्त गर्नुभयो ।
[[img7]]
कार्यक्रममा तालिमका प्रशिक्षकद्वय अरुण सैंजु र राजेश गाइँजुले ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यास जीवनउपयोगी ज्ञानमूलक सीप रहेको उल्लेख गर्दै तालिमको महत्वमाथि प्रष्ट पार्नुभयो ।कार्यक्रममा नगर प्रमुख प्रजापलिते कमलाभक्त फाउन्डेसनले सहयोग गरेको १० थान लाइफ ज्याकेट आरएनएका अरुण सैंजुलाई हस्तान्तरण गर्नुभयो ।
[[img8]]