१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस
मंसिर १९, २०७८, आइतबार | विहान ०९:११ बजे | 80
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस आइतबार सम्पन्न भयो । दिवसकै अवसरमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका ३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
समाजको निःस्वार्थ रुपमा सेवा गर्नु नै स्वास्थ्य स्वयम्सेविकाहरुको कर्तव्य भएको बताउनुहुँदै उहाँले समयको परिपालना, अनुशासन, इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय सिंहदरबार वैद्यखानाको स्तर झन् झन् खस्किँदै गइरहेको र पर्याप्त औषधीको अभाव, आधुनिक उपकरण नहुँदा त्यसप्रतिको विश्वसनीयता घट्दै गइरहेको उहाँले बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले घरदैलो नर्सिङ सेवामा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका उल्लेखनीय रहँदै आएको बताउनुहुँदै उहाँले स्वय्सेविकाहरुले समुदायमा विभिन्न विषयमा सचेतना कार्यक्रमहरु गर्दै जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिकाबारे चर्चा गर्नुहुँदै भक्तपुर नपाले स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविकाबाट घरदैलो नर्सिङ सेवा पुनः सञ्चालनमा ल्याएको पनि अवगत गराउनुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य स्वयम्सेविकाहरुले उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरे समाजमा त्यसको परिणाम पनि सकारात्मक हुने बताउनुभयो । भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा, सुशासनलगायतका क्षेत्रमा स्थापित गरेको सेवा सुविधासम्बन्धी व्यवस्था ख्वप मोडलको रुपमा जनजन जिब्रोमा झुन्डिन थालेको उहाँले चर्चा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकको रुपमा स्थापित गरेको र उक्त संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गरेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्यस्वयम्सेविका तारादेवी धन्छा र ख्वप अस्पतालका स्टाफ नर्स रचना सुवालले पनि बोल्नुभएको थियो । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसमा सम्मान हुने स्वास्थ्य स्वयम्सेविकाहरु वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, वडा नं. ८ का तारादेवी धन्छा र ५ का सजना कवां रहेका छन् ।