नेपालबाट उत्पादित बिजुली सस्तोमा भारतलाई बेचेर नेपाल कहिल्यै धनी बन्न नसक्ने


मंसिर १०, २०७८, शुक्रबार | विहान १०:४७ बजे | 60


नेपालबाट उत्पादित बिजुली सस्तोमा भारतलाई बेचेर नेपाल कहिल्यै धनी बन्न नसक्ने

भक्तपुर नगरपालिकाको आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा भक्तपुरदेखि थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आई.ई.ई) को सिलसिलामा सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायहरुसँग समन्वय गर्न आवश्यक भएको बताउनुभयो ।
नेपालबाट उत्पादित बिजुली सस्तोमा भारतलाई बेचेर नेपाल कहिल्यै धनी बन्न नसक्ने बताउनुहुँदै उहाँले नेपाली जनतालाई सहुलियत दरमा बिजुली दिनुपर्ने र खेर गएको बिजुलीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कला र संस्कृतिको नगर भक्तपुरमा अव्यवस्थित तारका कारण वातावरणीय दृश्य प्रदूषण भइरहेको हुँदा यस किसिमको आयोजनाले नगरलाई सुन्दर बनाउन भूमिका खेल्ने बताउनुहुँदै उहाँले भक्तपुर नपाले नगरभित्र तार भूमिगत गर्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।
भक्तपुरका मौलिक सम्पदाहरु अवलोकन गर्न देशी विदेशी पर्यटकहरु आउने हुँदा पनि यहाँको वातावरणीय सुन्दरता कायम गर्नु चुनौतीपूर्ण भइरहेको बताउनुहुँदै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाको संरक्षण र जगेर्नामा नगरपालिकाले विशेष ध्यान पु¥याइरहेको बताउनुभयो ।
    कार्यक्रममा वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे प्रस्तुती देखाउनुभयो । उहाँले वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो ।
    कार्यक्रममा आयोजनाका इन्जिनियर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो भने वातावरण तथा सामाजिक अध्ययन विभागका उपप्रबन्धक गणेशकुमार उप्रेतीले पनि बोल्नुभएको थियो । उक्त सार्वजनिक कार्यक्रममा आयोजनाबारे विभिन्न सरोकारवालाहरुले आ–आफ्ना राय—सुझावहरु पेश गरेका थिए ।

Comments