धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै
साउन ८, २०७७, बिहीबार | विहान ०७:४८ बजे | 60
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरपालिकाले हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।
हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । ‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने छ,’ डंगोलले भन्नुभयो, ‘राजधानीको कोलाहलबीचमा पनि हामीले सकेसम्म शान्ति दिन सकियो भनेर यो पार्ककलाई नमूना बनाउने तयारी गरेका छौँ ।’ नरबुद्ध पार्कको आर्किटेक डिजाइन निर्मिता डंगोलले तयार पार्नुभएको हो ।
उहाँले महानगर पार्कको भने प्रारम्भिक डिजाइन तयार भएको जानकारी दिनुभयो । महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ । छलफलमा सहभागी प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने प्रष्ट पार्नुभयो । ‘हामीले नरबुद्ध पार्कका बारेमा धेरै चरणका छलफल सम्पन्न गरिसकेका छौँ । महानगरपार्कका बारेमा पनि स्थानीयसँग प्रारम्भिक चरणको छलफल भएको छ । तपाईँहरुका सुझावलाई समेत समेटेर निर्माण प्रक्रियामा अघि बढाउँदा पार्कमा सबैको अपनत्व हुने हामीले अपेक्षा गरेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै अनि हरियाली प्रबर्धन लाई ध्यानमा राखेर ३० बढी पार्क निर्माण गर्ने लक्ष्य लिएका छौँ । हरेक वडामा पार्क निर्माण गर्ने हाम्रो तयारी छ । वडा–५ मा पनि यसरी पार्क निर्माणको काम अघि बढेकोमा खुशी लागेको छ ।’
छलफलमा धारणा राख्दै महानगरको सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाले नजिकको बस्ती र महानगरको स्वीकृत मापदण्डबमोजिम काम गर्न सके योजना कार्यान्वयन गर्न सजिलो हुने बताउनुभयो । रोटरी क्लव अफ बागमतीका अध्यक्ष बिजयसागर प्रधानले वडा बिकासको रचनात्मक काममा आफ्नो साथै रहने धारणा राख्नुभयो । छलफलमा पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्व प्रशासक लवप्रसाद त्रिपाटीलगायतका वरिष्ठ व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।